भद्रपुर रनको खर्च १० लाख २६ हजार, बचत १ लाख ९४ हजार
भद्रपुर । भद्रपुर रन (दौड) प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ। भद्रपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले बडा दसैँको अवसरमा घटस्थापनाका दिन आयोजना गरेको दौड प्रतियोगिताको आय व्यय आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
भद्रपुर रन आयोजक समितिले यस वर्षको प्रतियोगिताबाट १ लाख ९४ हजार ४ सय ८५ रुपैयाँ बचत भएको जनाकारी गराए । भद्रपुर रन सम्पन्न गर्न १० लाख २६ हजार ६ सय १५ रुपैयाँ खर्च भएकोमा १२ लाख २१ हजार एक सय सङ्कलन भएको थियो । यस वर्ष करिब दुई लाख रुपैयाँ बचत गर्न सकिएको वडाअध्यक्ष तथा मूल आयोजक समितिका संयोजक सुब्बाले जानकारी दिए । आम्दानी रकम मध्ये ३ लाख ९४ हजार ४ सय ८५ रुपैयाँ उठ्न बाँकी रहेको र सो रकम उठ्ने संयोजक सुब्बाको भनाई छ । प्रतियोगितालाई सम्पन्न गर्न सहयोग पुर्याउने झापाका
उद्योगी व्यवसायी, सामाजिक, शैक्षिक तथा विभिन्न संघ संस्थाहरूप्रति उनले आभार समेत प्रकट गरेका छन् । आगामी वर्षहरूमा यो प्रतियोगितालाई अझ व्यवस्थित बनाउँदै लैजाने बताउँदै उनले भने, 'यो वर्ष नगर भित्रका विजेता खेलाडीलाई मात्र पुरस्कृत वितरण गरेका थियौँ, आउँदो नगर बाहिरकालाई पुरस्कार दिने व्यवस्था मिलाउँछौँ ।'
बचत रकममा थप गरी भद्रपुर रन आयोजक समितिले सो प्रतियोगिता हरेक वर्ष घटस्थापनाका दिन सञ्चालन गर्ने उनले बताए । समितिका पदाधिकारी सदस्यलगायत सम्मिलित पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार संयोजक गोपाल गिरी र स्वास्थ्य संयोजक केदार महतले गरेका थिए ।