२०८१ भाद्र २४ गते , सोमबार

खगेन्द्र नवजीवन केन्द्रको बेथिति : अपाङ्ग कल्याण कोषबाट पदाधिकारीलाई गाडी

sajilo news
पत्रपत्रिका
२०८० फाल्गुन २ गते , बुधबार
खगेन्द्र नवजीवन केन्द्रको बेथिति : अपाङ्ग कल्याण कोषबाट पदाधिकारीलाई गाडी

झापा । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहेका छन् । दृष्टिविहीन हुँदा झेल्नुपरेको सङ्घर्ष छँदै थियो । त्यसमाथि मुटुको रोग पनि थपिएको छ । 

चिकित्सकले २०७७ सालमै मुटुको भल्भ फेर्नुपर्ने सल्लाह दिए पनि स्वास्थ्यमा सामान्य सुधार आएपछि उनी नियमित स्वास्थ्य परीक्षण र औषधी सेवन गरिरहेका छन् । २०३६ सालदेखि खगेन्द्र नवजीवन केन्द्रमै रहेका माझीलाई अहिले स्वास्थ्योपचारमा निकै सकस बेहोर्नुपरिरहेको छ । 

दुई वर्षसम्म केन्द्रले गाडीको व्यवस्था गथ्र्यो । अहिले त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आउजाउ गर्न माइक्रोबस प्रयोग गर्नु पर्छ । उनले भने, “पहिले कार्यालयकै गाडीमा लाने गरेको थियो । अहिले अध्यक्षले माइक्रोबसमा जानु, गाडी छैन भन्नुहुन्छ । दुई वटा गाडी फेरेर जान साह्रै समस्या हुन्छ ।”

माझी मात्रै होइन, नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिले उपचारका लागि निकै सकस र तनाव झेलिरहनुपरेको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिका लागि बनाइएको अपाङ्ग सहायता कोषका लागि आएको रकम पदाधिकारीलाई महँगो गाडी किन्न खर्च गरिएपछि केन्द्रमा आश्रित नागरिकका लागि एम्बुलेन्स छैन । बा १६ च ६३४ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी सङ्घका अध्यक्ष र महासचिवले प्रयोग गर्दै आएको छ।

आर्थिक वर्ष २०७३।७४ मा सङ्घका पदाधिकारीका लागि स्कोर्पियो गाडी खरिद गरिएको छ । सङ्घ परिसरमै रहेको नेपाल अर्थोपेडिक अस्पतालले वार्षिक रूपमा १२ लाख रुपियाँ दिने गरे पनि झन्डै चार वर्षको एकमुष्ट लिएर र अपुग २० लाख रुपियाँ सङ्घकै कर्मचारी उपदान कोषबाट लिएर उक्त गाडी खरिद गरिएको हो । 

सङ्घका तत्कालीन अध्यक्ष मोहन महर्जनले भने, “अर्थोपेडिक अस्पतालले कोषमा जम्मा गर्ने रकम गाडी किन्न चाहिएपछि दिएर स्कोर्पियो कार किनेका हौँ । ५८ लाख रुपियाँमा त्यो गाडी किनिएको हो ।”

उनी २०७१ सालदेखि पाँच वर्ष छ महिना सङ्घको अध्यक्ष थिए। उनले सङ्घको कर्मचारी उपदान कोषबाट १० लाख रुपियाँ निकालिएको बताए पनि त्यति बेलाको निर्णयमा २० लाख रुपियाँ निकासा भएको कागजातमा देखिएको छ । उक्त रकम हालसम्म पनि शोधभर्ना गरिएको छैन । 

धेरै भएकाले आफूले बिर्सेको बताउँदै केन्द्रका तत्कालीन अध्यक्ष महर्जनले भने, “केन्द्रका आश्रितका लागि एम्बुलेन्स आफ्नै अस्पतालको छ । हाडजोर्नीसँग सम्बन्धित रोगको उपचार त्यहीँ हुन्छ । हामीलाई बाहिर जान गाडी चाहियो । त्यसैले किनेका थियौँ ।” गैरनाफामूलक रूपमा प्रयोग गर्ने गरी कोष खडा गर्न र अपाङ्गता भएका र अशक्त व्यक्तिका लागि आएको अनुदानकै रकम दुरुपयोग गरी महँगो सवारीसाधन (स्कोर्पियो) खरिद गरिएको छ । 

उक्त गाडी सङ्घका अध्यक्ष साम्देन लामा र महासचिव शिवचन्द्र साहले प्रयोग गरिरहेको छ । अपाङ्गता भएका व्यक्तिले बिरामी भएर अस्पताल जाँदा व्यक्तिगत खर्चमै अपाङ्गतामैत्री व्यवस्था नभएका सार्वजनिक यातायातमा जानुपर्ने बाध्यता छ । आजको गोरखापत्र दैनिकमा खबर छ । 

सम्बन्धित समाचार