दुबई गएका भनिएका दिलबहादुर २३ वर्षदेखि सम्पर्कविहीन
काठमाडौँ । रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) गएका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका दिलबहादुर कामी अझै घर फर्केका छैनन् । उनी दुबई पुगेदेखि नै सम्पर्कविहीन भएको २३ वर्ष पुग्यो ।
उनी १२ वैशाख २०५८ मा रोजगारीका लागि भनेर दुबई गएका थिए । तर, अहिलेसम्म उनी बेखबर रहेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याउन माइलो भाइ बमबहादुर र सालो चन्द्रबहादुर विक गएको र उनीहरूले श्रीमान् दिलबहादुर यूएई उडेको त्यतिबेला आफूलाई बताएको श्रीमती धनकुमारी विकले बताइन् ।
धन कमाउने र परिवार पाल्ने सपना बोकेर विदेश गएका श्रीमान् नफर्किएको र २३ वर्ष बितिसक्दा पनि कुनै खबर नआएको भन्दै विभिन्न सरकारी निकायमा हारगुहार गर्दा पनि कुनै सुनवाइ नभएको श्रीमती धनकुमारीले बताइन् । खोटाङ घर भएका डिकवीर खड्का नाम गरेका ऐजेन्टले दुबई पठाएको र अहिलेसम्म पनि नफर्किएको भन्दै उनले थपिन्, ‘कि त सास कि त लास चाहियो ? गरिब दुःखीको बोलिदिने मान्छे नभएकाले न्याय पाउन सकिएको छैन ।’
आफूले १४ वर्षको उमेरमा विवाह गरेको सुनाउँदै उनले रोएर जिन्दगी बिताउनुपरेको बताइन् । श्रीमान् घर नआएपछि पठाउने एजेन्टलाई पटकपटक भन्दा पनि आफ्नो कुरा नसुनेपछि उनले एक भिडियो सन्देशसमेत जारी गरेकी छन् । जसमा देश विदेशमा रहने सबै नेपालीलाई श्रीमान्को खोजीकार्यमा सहयोग गरिदिन अपिल गरिएको छ ।
बाबाको प्रतीक्षामा आमा दिनरात रुँदै बसिरहेको र आफूहरूले सम्झाउने गरेको छोरी लक्ष्मी विश्वकर्माले बताइन् । उनले बाबाको खोजीका लागि वैदेशिक रोजगार विभागमा समेत गएको तर कतैबाट पनि सहयोग नपाएको गुनासो गरिन् ।
अध्यागमन विभागमा बुबा बाहिरिएको रेकर्ड माग्दा सन् २०१९ अघिको रेकर्ड नरहेको र त्यसपछिको मात्र विवरण रहेको बताएको लक्ष्मीले जानकारी दिइन् । उनले बुबाको खोजीका लागि सबैतिर हारगुहार गर्दा पनि अझै स्थिति पत्ता नलागेको बताइन् ।
विदेश गएको भनिएको यतिका वर्ष कुनै खोजखबर नभएपछि उनका परिवारले नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा अबुधाबीस्थित नेपाली दूतावासमार्फत खोजीपाऊँ भनी निवेदनसमेत दिएका छन् । तर, मन्त्रालयले यस बारेमा कुनै जवाफ नदिएको पीडितको गुनासो छ । राहदानी नम्बर १०८१४१३ भएका दिलबहादुरलाई अरेबियन इम्प्लोइमेन्ट सर्भिस भन्ने कम्पनीले दुबई पठाएको पीडितले निवेदनमा उल्लेख गरेका छन् ।
किन हराउँछन् नेपाली ?
वैदेशिक रोजगारीका क्रममा यूएई, साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, मलेसियालगायतका मुलुकमा पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारण विदेशमा नेपाली कामदार हराउने गरेका छन् ।
परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ ।
विदेशी भूमिमा हराइरहेका कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासको भनाइ छ ।आजको राजधानी दैनिकमा खबर छ ।