२०८१ भाद्र २४ गते , सोमबार

एकाएक किन भाइरल भए साउदी दूतावासमा कार्यरत सचिव ?

sajilo news
पत्रपत्रिका
२०८० पौष २५ गते , बुधबार
एकाएक किन भाइरल भए साउदी दूतावासमा कार्यरत सचिव ?

काठमाडौं । साउदी अरबको रियादस्थित नेपाली दूतावासको प्रांगणमा गत २९ डिसेम्बरमा केही नेपाली कामदार राहदानी नवीकरणका लागि तथा बनेर आएको राहदानी लिन पुगेका थिए । त्यही समयमा दूतावासका द्वितीय सचिव टीकाराम उपाध्यायले ती कामदारसमक्ष राखेका भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

वास्तवमा उनले राखेका कुराहरू कुनै नयाँ थिएनन्, थिए त केवल साउदी अरबमा नेपाली कामदारले आफ्नो वास्तविकताभन्दा टाढा गई देखाउँदै आएको जीवन पद्धति र आफू जे छु, त्यही मात्र देखाउन गरिएको आग्रह । साथै, आफू विदेशी भूमिमा काम गर्न आउनुको कारण आफैंले मनन गर्न गरिएको आग्रह ।

सामाजिक सञ्जालमा उनले बोलेको एउटा भिडियो भाइरल भएपछि राजधानीले सचिव उपाध्यायलाई सम्पर्क गर्दा त्यस्तो कार्य दूतावासमा प्रायः भइरहने बताए । साउदी अरबमा विभिन्न पेसामा ४ लाखभन्दा बढी नेपाली कार्यरत रहेका बताइन्छ । दूतावासले त्यहाँ कार्यरत नेपालीलाई लक्षित गरेर समयसमयमा विभिन्नखाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अझ दूतावासमा सेवा लिन आउनेको जुन दिन बढी भीड हुन्छ, त्यस दिन झन् श्रमिक जनचेतनालगायतका कार्यहरू दूतावासले सञ्चालन गर्दै आएको छ । दूतावासले रोजगारीका सिलसिलामा साउदी अरबमा आई विभिन्न पेसा व्यवसायमा संलग्न रहेका नेपाली नागरिकले गर्न हुने र नहुने काम एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा पनि ‘अपडेट’ गराउँदै आएको छ ।

त्यही सिलसिलामा २९ डिसेम्बरमा दूतावास कार्यालयमा आएका नेपालीसमक्ष दूतावासका द्वितीय सचिव उपाध्यायले भने, ‘तपाईंहरू बेल्चा, गैंती हानेको, चलाउँदै गरेको फोटो नेपालमा रहेका घर परिवारलाई पठाउनुहोस्, तब न श्रीमतीले मेरो बूढाले पनि दुःख गरेको रहेछ, बाबु–आमाले मेरो छोराले विदेशमा दुःख गरेको रहेछ भन्ने थाहा पाउँछन्, तर यहाँ आएका अधिकांश कामदार आफूले जति दुःख, यातना सहेको भए पनि छुट्टीका दिन घुम्न जाँदा अग्लो बिल्डिङको तल गएर सुकिलो लुगा लगाएर फोटो घरमा पठाउने गर्छन्, यसले त तपाईंले गरेको दुःख घरपरिवारले कसरी थाहा पाउँछन् ? अनि, घरपरिवारले तपाईंसँग आइफोन माग्दैनन् त ?’

उनी यतिमै रोकिँदैनन् । उपाध्याय थप्छन्, ‘तपाईंहरूले आफ्नो वास्तविकता बताइदिनुभयो भने घरपरिवारले पनि तपाईंको श्रमको महत्व बुझ्छन् र तपाईंहरूले पठाउनुभएको रकम उचित ठाउँमा लगानी गरिदिन्छन्, यो कुरा तपाईंहरूमै निर्भर छ ।’

उनी नेपालमा रहेका कामदारका आफन्तलाई लक्षित गर्दै भन्छन्, ‘तपाईंहरूले कमाएको पैसा घरपरिवारले पनि सदुपयोग गर्नुप¥यो, घरमा खेतीयोग्य जमिनमा धान रोप्नुप-यो, बाख्रा पाल्नुप-यो, आफूले खाने तरकारी आफैं उत्पादन गर्नसके मात्र तपाईंहरूले कमाएको पैसा बचत हुन्छ र पछि नेपाल फर्किएपछि त्यो पैसाले केही न केही गर्न सक्नुहुन्छ ।’

द्वितीय सचिव उपाध्याय भन्छन्, ‘तपाईं हामी ४० लाख नेपाली विदेशमा छौं, अर्का १ करोड मान्छे सहर आएर थुप्रिएका छन्, सहर आएका ती मान्छेलाई गाउँमा फर्काउन सक्नुप-यो र उब्जाउ हुने ठाउँहरूमा उत्पादन गर्नुप¥यो, अनि मात्र देश बन्छ ।’

उनले नेताको मात्र भर परेर नबस्न पनि आग्रह गरेका छन् । ‘नेताहरूले गरेनन् भनेर नबस्नुहोस्, नेता जहाँका पनि उस्तै हुन्, हाम्रा नेता अलिक बढी होलान्, तर हामीमध्येबाटै नेता हुने हो, नेता हुनलाई पहिला त आफू राम्रो हुनुप-यो नि, घरमा कसैले पनि श्रम नगर्ने, एक जना विदेश आएर श्रम गर्ने अनि देश कसरी विकास हुन्छ त ?’

उनले दूतावासका सीमित कर्माचारीले ४ लाख नेपालीलाई सेवा दिनुपरेको र कहिलेकाहीँ काम गर्दैगर्दा मान्छे रिसाउने र फोनमा झर्किएर बोल्यो भन्ने गुनासा आउने गरेको पनि बताए । दूतावासमा सेवा लिन आउने सेवाग्राहीलाई साउदी अरबमा के गर्न मिल्छ र के गर्न मिल्दैन, कस्ता–कस्ता कुराहरू यहाँको कानुनले रोकेको छ, ट्राफिक नियमको पालना, लिगल च्यानलबाट मात्र पैसा पठाउने, रक्सी ड्रगलगायतका कारणले नेपालीहरू जेलमा पर्ने गरेको जानकारी दिएको पनि द्वितीय सचिव उपाध्यायले बताए । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार