२०८१ बैशाख ३ गते , सोमबार

झापामा हर्सोउल्लासका साथ मनाइयो श्रीकृष्ण रथयात्रा

sajilo news
पार्थ मण्डल
२०८० भाद्र २१ गते , विहीबार
झापामा हर्सोउल्लासका साथ मनाइयो श्रीकृष्ण रथयात्रा

झापा  । झापाका ६ पालिकामा श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ मनाइएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट भगवान् श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक चलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, बिर्तामोड, दमक, गौरादह झापा र गौरीगञ्जमा श्रीकृष्ण रथयात्रा निकालिएको थियो । 
जिल्लाको सदरमुकाम भद्रपुरमा २०औँ भगवान् श्रीकृष्ण रथयात्रा भव्य रुपमा मनाइएको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले रथमा विशेष पूजा अर्चना पश्चात् भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट रथ निकालिएको थियो । 
सयौँ भक्तजनहरूको सहभागितामा निकालिएको रथयात्रा आपगाँछी, ज्ञानेचोक, झापाचोक, संगमचोक, सगरमाथा चोक, किरात कोलोनी, लेखनाथ चोक, चन्द्रगढी बजार, एसपीमोड हुँदै क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा गएर समापन गरिएको थियो । सो रथयात्रामा देवीदेवताको भेसभुसामा सजिएका बालबालिका, लाखे नृत्य, सन्थाल नृत्य, विभिन्न झाँकी समेत प्रदर्शन गरिएको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी दिए । विसं.स.२०५९ सालमा काठको पाङ्ग्राले बनाइएको रथ जीर्ण भएपछि भद्रपुर नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्टाएर टायरको पाङ्ग्रासहित फलामले रथ बनाइदिएको छ । 
त्यस्तै बिर्तामोडमा पहिलो पटक एक साथ दुई वटा रथयात्रा निकालिएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा दुई वटा रथयात्रासँगै निकालिएको थियो । बिहान १० बजे विशेष पूजाअर्चाना गरिने बालाजी मन्दिरबाट रथयात्रा प्रारम्भ भएको थियो  । 

बिर्तामोडको अग्रसेन भवनबाट निस्किएको रथयात्रा मुक्तिचोक, इलाम बसस्टेन्ड, हुँदै पुनः मुक्तिचोकबाट भद्रपुर रोड पुगी मुक्तिचोक फर्किएको थियो । त्यसपछि अदुवा खोला, पश्चिम बसस्टेन्ड, मुक्तिचोक हुँदै पुनः बालाजी मन्दिरमा पुगेर समापन भएको श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए । रथयात्रामा उल्लेखिय भक्तजनहरूको सहभागितासहित विभिन्न झाँकी समेत प्रदर्शन गरिएको उनले बताए । 
त्यसैगरी दमक नगरपालिकामा सातौँ श्रीकृष्ण रथयात्रा भव्यताका साथ निकालिएको थियो । दमकको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा पुगेर समापन गरिएको मूल आयोजक समितिका संयोजक रोहित आचार्यले जानकारी दिए । रथयात्रामा विभिन्न झाँकी समेत प्रदर्शन गरिएको उनको भनाई छ । 
गौरीगञ्ज गाउँपालिकामा तेस्रो पटक रथयात्रा निकालिएको छ । गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी श्रीकृष्ण रथयात्रा समारोह समितिले रथयात्रा निकालिएको हो । २०७५  सालमा पहिलो पटक गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो । समितिले दुई वर्ष अघि नै नयाँ रथ बनाएपछि यस पटक भव्य रुपमा रथ निकालिएको समितिका अध्यक्ष डा. तिलक खनालले जानकारी दिए । खजुरगाछीको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन भएको थियो । 
त्यस्तै गौरादहमा पनि रथयात्रा निकालिएको थियो । गौरादह १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट विभिन्न झाँकीसहित निकालिएको रथ बजार परिक्रममा गरी पुनः मन्दिरमा आएको समापन गरिएको थियो । झापा गाउँपालिका–६ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्गले पहिलो पटक गाडीमा भगवान् श्रीकृष्ण राखेर रथ निकालेको थियो । सो रथयात्रा झापा–७ दयालधाम, मदरगाछ हुँदै शरणामती बजार परिक्रमा गरेर पुनः मन्दिरमा पुगेर समापन गरिएको थियो । 

सम्बन्धित समाचार