भन्सारबाटै निकालेर बेचिएका थिए सुनै सुनका ७३० भेप
अलि पुरानो एउटा सुन काण्ड अहिले नयाँ बनेर चर्चामा छ। त्यो हो इलेक्ट्रिक सिगरेट अर्थात् भेपभित्र राखेर ल्याएको ९ किलोभन्दा बढी सुन। त्यसभन्दा पछि ब्रेक सुमा ल्याएको सुन समातियो, टक्सार विभाग लगेर गालियो। तर, भेपभित्र ल्याइएको भनिएको चर्चित काण्डको सुन कहाँ छ ? किन यसलाई पगालिएन ? प्रश्न जति जिज्ञासु छ, उत्तर उति रोचक। आउनुहोस् पढौं– कसरी भन्सारको गोदाममा राखिएको ठूलो परिमाणको सुन बेचेर खाइयो ? अनि, बजारमा पाउने भेप किनेर दुरुस्त लगेजमा भन्सारभित्र राखियो ?
२०७९ पुस १० गते बिहानै फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५८७ विमान काठमाडौंमा अवतरण ग¥यो। जहाजमा चिनियाँ यात्रु ली हानसोङ पनि आएका थिए। उनको लगेज शंकास्पद थियो। एक त ब्याग सानो भए पनि निकै गह्रौं थियो, त्यसमाथि एक्सरे जाँचमा धातुझैं वस्तु देखियो। हानसोङ आफू भन्सार तिरेरै भए पनि लगेज छुटाउन आतुर थिए।
विमानस्थल भन्सार कार्यालयका कर्मचारीको शंकाको दायरा झनै बढ्यो। हानसोङका अनुसार दुईवटा सुटकेसमा कुल ७३ बट्टा भेप थिए। एउटा बट्टामा १० वटा भेप थिए। कुल ७ सय ३० वटा। तर, यतिको परिमाणमा ल्याइएको भेप किन एलसी खोलेर ल्याइएन ? प्रश्न उब्जियो। एक्सरेले शंकास्पद देखाएको हुनाले हानसोङको लगेज रेड लाइनमा हालियो। अर्थात् सबै वस्तु एकएक खोलेर जाँच गर्नुपर्ने।
हानसोङ जसरी पनि जाँचपास भएर सामान छुटोस् भन्ने चाहन्थे। उनी निरन्तर भनिरहेका थिए, ‘यो स्पेसल भेप हो। चिनियाँ कामदारहरूलाई यो भेप नतानी निद्रा नै लाग्दैन। लौ न चाँडै छुटाई दिनुप¥यो। ’ विशेष गरी हाइड्रोपावरमा काम गने चाइनिजहरू यो भेप तानेरमात्र निदाउने गरेको उनको तर्क थियो। भन्सार कर्मचारीहरू यसको सट्टा अर्कैले काम चलाउन भनिरहेका थिए। भन्सारको उच्च स्रोतका भन्छ, ‘तर, हानसोङले जिद्दी गरे। ’
स्रोतका अनुसार त्यतिबेला यात्रु जाँचपास तथा सहजीकरण शाखामा प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ थिए। हानसोङको जिद्दीपछि कुरो थप शंकास्पद भयो। जाँचपास भएर सामान छुट्ने कुरै भएन। यसैबीच उच्च पदस्थ व्यक्तिहरूले सुन छुटाउन पहल गरिरहे।
सामान जफत भयो। ७ सय ३० थान भेपको मुचुल्का उठ्यो। स्टोरमा राखियो। भेप व्यवस्थापन गर्ने जिम्मा नायबसुब्बा सरोज श्रेष्ठको थियो। श्रेष्ठले सुरक्षा गार्ड निर्मलकुमार विकको सहयोग लिएका थिए। सामान थन्क्याउने क्रममा श्रेष्ठले विकलाई ‘स्पेसल’ भेपको कुरा सुनाएका थिए। विक एक निजी कम्पनीबाट खटाइएका थिए। माघ २९ गतेमात्र सो भेप मुद्दा शाखामा दाखिल भएको थियो।
भेप स्पेसल छ, तानेपछि निद्रा लाग्छ भन्ने सुनेपछि विकको मनमा खुल्दुली भयो। उनी पनि पारखी थिए, भेपको। विकले विशेष किसिमको झोला सुटुक्क काटे। एउटा भेप निकाले र घर लगे। घरमा भेप तानौंभन्दा त्यसबाट धुँवा आएन। आपत् प¥यो। त्यस्तो स्पेसल भेप के गर्ने ? चार्ज गरेर तान्ने प्रयास गरे। तैपनि केही आएन। चोरेर ल्याएको न हो, उनले भेप फुटाए। सुनजस्तै पहेंलो वस्तु देखियो। अब त्यो वस्तु सुन हो कि होइन, तय गर्नु थियो। उनले आफ्नो एकजना साथीलाई प्रेमिकाले दिएको भने। चिनेको सुन पसलमा जाँच्दा सुन प्रमाणित भयो। त्यसको सिक्री बनाए। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।