२०८० फाल्गुन १२ गते , शनिबार

एउटा फरक दृष्टिकोणले ल्याएको समाजमा सकारात्मक परिवर्तन

sajilo news
रमेश ढकाल
२०८० श्रावण २८ गते , आईतबार
एउटा फरक दृष्टिकोणले ल्याएको समाजमा सकारात्मक परिवर्तन

महात्मा गान्धीजीको आश्रममा एकजना मान्छे सधैँ आउने गर्दा रहेछन् । तर आश्रममा आउने अन्य मान्छेलाई भने ती व्यक्ति आश्रममा आएको मन पर्दो रहेनछ । किनकि उनी कहिलेकाहीँ भट्टीमा पसेर मदिरा पान गर्ने गर्दा रहेछन्, साथै उनका अन्य चालढालहरू पनि अलिक अस्वाभाविक लाग्ने खाले रहेछन् ।

तर गान्धीजी भने उक्त मान्छेलाई अझ धेरै प्राथमिकता दिँदा रहेछन् । अरूलाई भन्दा अझ उसलाई नै अलिक प्रिय ठाने जस्तो गर्दा रहेछन् । गान्धीजीबाट प्राप्त अतिरिक्त प्रेमका कारण, सुरु सुरुमा आश्रम भित्र प्रवेश गर्न पनि अलिक असहज मान्ने अथवा डराउने उक्त मान्छे, बिस्तारै आश्रममा आउने अन्य मान्छेहरूसँग रवाफ देखाएर बोल्ने भएछ । 

यो देखेर अलिक निराश भएका आश्रमका अन्य मान्छेहरूले एक दिन गान्धीजी सँग कुरा राखेछन् । बापु, यो मान्छेको नियत हामीलाई सही लाग्दैन । तपाईँले अतिरिक्त प्रेम देखाएका कारण यो मान्छे दिन प्रतिदिन अझ निर्भय बन्दै गएको छ । अब त यो मान्छे तपाईँले दिएको खादी लगाएर नै भट्टीमा पसेर मदिरा पान गर्न थालेको हामीले देखेका छौँ ।

यो मान्छेले गर्दा हाम्रो आश्रमको मात्र हैन, तपाईँको पनि छवि बिग्रने सम्भावना बढेर गएको छ । अब भने यो मान्छेका बारेमा तपाईँले केही गर्नै पर्छ, अन्यथा हामीले समाजमा जुन छवि स्थापित गरेका छौँ, यो बिग्रन सक्छ । 

ती मान्छेहरूको गुनासो सुनेर गान्धीजी भन्छन् – हेर्नुस् तपाईँहरूको कुरा त ठिकै हो तर मुख्य कुरा हामीले यो आश्रम किन खोलेको ? यदि यो आश्रम असल मान्छेहरूका लागि मात्र हो भने, खराब मान्छे कहाँ जान्छन् ? हामी यहाँ केका लागि छौँ ? अर्को कुरा, यो मान्छेलाई तपाईँहरूले खादी लगाएर भट्टीमा बसेको दुख्नु भयो । र भन्दै हुनुहुन्छ, अब यस्तो व्यक्तिका कारण अन्य मान्छेहरूले हाम्रा बारेमा अथवा हाम्रो यो आश्रमका बारेमा के सोच्लान् ? तपाईँहरूको यो चिन्ता, त्रास एक प्रकारले जायज पनि होला ।  

तर, मैले यो मान्छेलाई त्यसरी खादी लगाएर भट्टीमा बसेको देखेको भए, मेरो मनमा पहिलो भाव के आउने थियो, तपाईँहरू जान्न चाहनु हुन्छ ? सुन्नुस्, म सम्झने थिए, अहो, कस्तो अचम्म ! लाग्छ यस्ता मान्छेहरूका बीचमा पनि मेरो कुरा फैलिन थालेछ । जुन मान्छे भट्टीमा बसेर मदिरा पान गर्ने गर्छ, उसले पनि खादी लगाउन थालेछ । 

उसलाई भट्टीमा देख्दा तपाईँहरूले सम्झनु भयो – जसले खादी लगाएको छ ऊ भट्टीमा बसेर मदिरा पान गर्दै छ । मैले देख्दा म सम्झने थिए – जो भट्टीमा बसेर मदिरा पान गर्छ,  उसले पनि खादी लगाउन सुरु गरेछ । सायद, अब चाँडै नै उसले मदिरा पान गर्न पनि छाड्नेछ । किनकि उसले खादी लगाउने हिम्मत त ग¥यो । उसले आज खादी लगाउन सुरु ग¥यो भने भोली मदिरा पान गर्न पनि छोड्ने छ । उसमा परिवर्तन देखिन सुरु भयो । उसको मनमा प्रेम जन्मन सुरु भयो ।

पहिलो दृष्टिकोण – खादी लगाएर मदिरा पान गर्छ । यस्तो पनि हुन्छ ? यो त सरासर पाखण्ड भयो । यस्तो मान्छेलाई हामी कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ । अब यो मान्छेलाई आश्रमबाट निकाल्नु पर्छ । 

दोस्रो दृष्टिकोण – मदिरा पान गर्नेले पनि खादी लगाउन सुरु ग¥यो, यसलाई स्वागत गर्नु पर्छ । यसलाई अझ धेरै प्रेम गर्नु पर्छ । ताकि यो मान्छेमा अझ धेरै सुधार आउन सकोस् । यो मान्छेको मन भित्र पनि प्रेम जागृत हुन सकोस् ।

गान्धीजी अगाडि भन्छन्,  हाम्रो देश वा समाजका धेरै भन्दा धेरै मान्छेहरूका बिचमा हाम्रो बिचार पु¥याउनका लागि अर्थात् हाम्रो देशका हरेक मान्छेहरूको मन भित्र दया, माया, करुणा लगायतका भाव जगाउने हाम्रो अभियानलाई साकार तुल्याउनका लागि हामीले दोस्रो दृष्टिकोणलाई आत्मसात् गर्नु पर्छ । अन्यथा हाम्रो समाज वा देशमा सकारात्मक परिवर्तन ल्याउन सम्भव हुँदैन । 

जब कुनै मान्छेलाई हामी सकारात्मक भावबाट हेर्न सुरु गर्छौँ, उक्त व्यक्तिलाई सकारात्मक बन्ने दिशामा यति धेरै बल प्रदान गर्छौँ, जसको कुनै मुल्य वा हिसाब लगाउन नै सम्भव हुँदैन । यदि बिस जना असल मान्छेले एउटा खराब मान्छेलाई असल मान्ने÷बनाउने दिशामा ध्यान दिन हो भने, उक्त खराब व्यक्तिका लागि खराब रहिरहन अप्ठ्यारो मात्र हैन असम्भव बन्न पुग्छ । तर यसको विपरीत, तीनै बिस जना मान्छेले उसलाई सधैँ खराब चित्रण गरिरहने हो भने, उसलाई सधैँ खराब बनिरहने सुविधा प्राप्त हुन्छ । 

एउटा चोरलाई सज्जन मानेर ऊसँग एउटा सज्जन मान्छेसँग जस्तै विश्वासका साथ बर्ताव गरियो भने, उसको चोरी गर्ने सामर्थ्य घट्ने छ । किनभने यस्तो कुनै मान्छे छैन, जसले कसैको हृदयबाट निस्किएको सुन्दर भावको आदर नगर्दो होस् ।

गान्धीजीको यस्तो प्रतिक्रियाले आश्रममा उपस्थित सबै निःशब्द मात्र बन्दैनन् उनीहरू सबैलाई परिवर्तनको पहिलो सर्त  भनेकै सकारात्मक सोच रहेछ भन्ने कुराको गहिरो गरी बोध हुन्छ । साथ साथै, कुनै पनि सकारात्मक परिवर्तनका लागि, सबै भन्दा पहिला हाम्रो सोच, हाम्रो दृष्टिकोण सकारात्मक हुनुपर्ने रहेछ भन्ने कुरा पनि उनीहरू सबैलाई ज्ञात हुन्छ ।  

त्यस दिन देखि, उक्त व्यक्ति प्रतिको उनीहरूको दृष्टिकोण फेरिन्छ । उसलाई शङ्काको दृष्टिले नभएर, आश्रममा आउने सबैले ऊसँग भरोसायुक्त मित्रवत् व्यवहार गर्न सुरु गर्छन् । नभन्दै केही समय पछि उनीहरूले थाहा पाउँछन्, उक्त व्यक्तिले भट्टी पस्न र मदिरा पान गर्न छोडेको हुन्छ । त्यसैले होला, साधु, सन्त लगायतका ज्ञानी मान्छेहरू भन्ने गर्छन् ’जस्तो दृष्टि, उस्तै सृष्टि !’

समाज बदल्नका लागि सबैभन्दा पहिला हामी आफू बद्लनु पर्छ । पहिला हाम्रो आफ्नो दृष्टिकोण बदल्नु पर्छ । तब मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सम्भव हुन्छ ।

रमेश ढकाल  भद्रपुर–झापा (हाल दोहा–कतार)

 

सम्बन्धित समाचार