सहुलियत ल्याएको रासायनिक मल सहकारीले व्यापारीलाई विक्री गर्दै, कचनकवलका कृषक मारमा

कचनकवल । दक्षिणी झापाको कचनकवलमा कृषकहरूका पठाउने रासायनिक मलको दुरुपयोग हुने गरेको पाइएको छ। आफ्नो कार्यक्षेत्रमा बिक्री वितरणको डिलर सीप लिएका कृषि सहकारीहरूले नै सहुलियतको मल दुरुपयोग गर्दै आइरहेको भेटिएको छ । कुनै पनि सहकारीले आफ्नो कार्यक्षेत्र र सदस्यहरूलाई बाहेक अरूलाई मल बिक्री गर्न नपाउने नियम बनाइएको छ ।
तर, कचनकवल ६ स्थित बनियानी कृषि सहकारीले सहकारी संस्थाले नियम विपरीत सहुलियत मल कालोबजारी गर्ने गरेको फेला परेको छ । मल कालोबजारी गर्नेमा सहकारी पदाधिकारीहरूको समेत संलग्नता छ । कचनकवलमा माग अनुसार थोरै मात्र सहुलियतको मल आपूर्ति हुने र त्यसमा पनि सहकारी कै हालीमुहाली हुने गरेपछि कचनकवलका अधिकांश कृषक सहुलियतको मल पाउनबाट वञ्चित हुनु परेको छ । ।
सहकारीले कृषकलाई मल दिँदैन, तोकिए भन्दा बढी पैसा दिने व्यापारीलाई बेच्ने गरेको त्यहाँका अधिकांश कृषकहरूको आरोप छ । बनियानी कृषि सहकारीको कार्यालयले उत्तरतर्फ दिल बहादुर कार्कीको गोदाम घर भाडामा लिएको छ ।
प्रधानमन्त्री धान सुपरजोनको कार्यालय नजिकै रहेको सहकारीको सो गोदामबाट ४०० मिटर पश्चिम बनियानी बजारको बराल एग्रोलाई बिक्री वितरण गरेको प्रमाण भेटिएको छ । बुधवार बिहानै एग्रोले सहकारीको गोदामबाट मल खरिद गरी एउटा सिटी सफारी हालेर ल्याएको मल आफ्नो पसलमा अनलोड गर्दै गरेको तस्बिर टाइम्स अफ प्रदेशले फेला पारेको छ ।
यस्तो गैर कानुनी कारोबार गर्दै आएका सहकारीलाई स्थानीय तह अनुदानको रासायनिक मल वितरणमा सिफारिस गर्ने समितिले कोटाको प्रतिशत बढाई मल ल्याउने सिफारिस दिनुपर्ने भित्री कारण कमिसनको खेल हुनुपर्छ ।
कृषि समितिले १० वर्षअघि कृषि सहकारी मार्फत सहुलियत मलको बिक्री गर्ने निर्णय गरेको थियो । त्यसअघि कृषि सामाग्री कम्पनी मार्फत डिलर र कृषकहरूलाई बिक्री गर्ने गरिन्थ्यो। अहिले कृषि सामाग्री बिर्तामोडबाट ल्याएको मल कचनकवल गाउँपालिकाको सिफारिसमा कृषि सहकारीको डिलर सीप लिएका सहकारीलाई कृषि सामाग्री तथा सल्ट ट्रेडिङले कृषि सहकारीलाई बिक्री वितरण गर्ने गरेको छ।
आफ्नो सदस्यहरूलाई मात्र बिक्री गर्न लगिएका मल कृषि सहकारीहरूले भने मलका व्यापारी, बढी रकम दिने कृषकलाई बेच्दै आएका छन् । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लाका ३ सय बढी सहकारीले सहुलियत मलको कारोबारका लागि डिलर सीपको अनुमिति लिएको जनाइएको छ । त्यस मध्ये धेरैले सहुलियतको मलको दुरुपयोग गरी बेच्ने गरेको स्रोतको भनाई छ।
युरिया, डिएपी र पोटास मध्ये सबै भन्दा बढी युरिया र डिएपी मलको दुरुपयोग हुने गरेको स्रोतको भनाई छ। सहुलियतको युरियाको प्रति बोरा ९५० किलो० को ८ सय, डिएपीको २ हजार २५० रुपैयाँ र पोटासको प्रतिबोरा १ हजार ६५० रुपैयाँमा बिक्री गर्ने गरिएको कृषि सामाग्री कम्पनीको रेकर्डमा भेटिन्छ ।
तर, सहकारीले भाडा बापतको रकम पालिकाले ताके अनुसार लिन पाउने भए पनि बढी रकम लिई बाटो मै बेच्ने गरेको कृषकहरू गुनासो छ । कृषकहरूका लागि आउने सहुलियतको युरिया मल र डिएपी सबैभन्दा बढी कचनकवल र त्यस आसपास रहेका मल कारोबारी व्यापारीले सहकारीबाट किन्ने गरेको एक कृषकले बताए । मल व्यापारीले प्रति बोरा २ देखि ३ सय सम्म बढी रकम दिने गरेको उनको भनाई छ ।
कृषकका लागि सहुलियत अनुदानमा प्रदान गरिएको मल सहकारीले दुरुपयोग गरेको तत्काल रोक्ने कचनकवल गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले बताइन् । कडाइका साथ अनुगमन गरी डिलर सीप खारेजी समेत गरिने उनको भनाई छ ।
‘कृषकका लागि आएको सहुलियतको मल दुरुपयोग गर्ने माथि कारबाही हुन्छ ’ उनले भनिन । सहुलियतको मलको दुरुपयोग गरी बेच्ने सहकारीहरू माथि निगरानी बढाइने र बढी कोटा सिफारिस गर्ने कृषिका प्रतिनिधित्वको समेत वास्तविक ल्याइने उनले बताइन् ।
कृषि सामाग्री बिर्तामोडका अनुसार पालिकाहरूको सिफारिसमा तोकेको कोटा अनुसार आफ्नो शाखाबाट सहकारीले यहाँबाट मल किनेर लैजाने गरेको जानकारी दिए । कृषि सामाग्री बिर्तामोडमा चालु आर्थिक वर्षमा १ हजार १५३ दशमलव ३५० मेट्रिक टन युरिया, १ हजार ७८ दशमलव ८ सय मेट्रिक टन डिएपी र ५९ मेट्रिक टन डिएपी आएको छ। आएको मलको पालिकाले सिफारिस गरेको सहकारीलाई कोटा निर्धारण गरेर मल दिने गरिएको कृषि सामाग्री बिर्तामोडले जनाएको छ ।