नेपाली पत्रकारिता र गैरहरूको अत्यावश्यक शुद्धीकरण
—राजबाबु शंकर । सत्य–तथ्य जनसमक्ष पुर्याउने, निष्पक्ष बनेर समाचार एवम् विचार सम्प्रेषण गर्ने, मानवताविरोधी गतिविधिको सख्त विरोध गर्ने र निशर्त समाज एवम् राष्ट्रको हितमा काम गर्नु पत्रकारहरूको प्राथमिक दायित्व हो – विश्वप्रसिद्ध पत्रकारहरूको कथनको सार यस्तै छ ।
नेपाली पत्रकारिताको विकासक्रम, वर्तमान स्थिति, प्राप्त उपलब्धि, सम्भावना र भविष्य पत्रकारहरूकै सरोकारको अनिवार्य विषय हो । पत्रकारिता गर्न चाहने र गरिरहेका दुबैका लागि यस बारेको मीमांसा अनिवार्य हुन्छ । ‘सत्यको पक्षमा उभिन नसक्ने मान्छे पत्रकार हुनै सक्दैन । पत्रकारिता निर्धो होइन, निर्मम हुनुपर्छ’ भन्ने वाणी नेपालकै अग्रज पत्रकार भैरव रिसालको हो । तथापि निचोड के हो भने, पत्रकारिता सजिलो पेशा भने होइन ।
नेपाली पत्रकारिताको वर्तमान अवस्था र यसलाई पेशा बनाएर कर्मक्षेत्रमा उत्रिएका पत्रकारहरूको दायित्व निर्वाह भने उत्ति प्रीतिकर पाइन्न । सूचना सम्वाहकका पेशाजीवी धेरैले विकार समेत फैलाएका छन्, यस पेशालाई बदनाम गरेका छन् । नितान्त निजी स्वार्थ एवम् प्रलोभनका कारण लेखन÷प्रकाशन÷प्रसारण स्वतन्त्रताको दुरुपयोग गर्ने यस्तो प्रवृत्ति चिन्ताजनक छ, एक हदसम्म प्रदूषणकारी छ । त्यो नियन्त्रण गर्न सञ्चार क्षेत्रसँग अहम् सरोकार राख्ने सरकारी निकाय, संघ–संस्था र सरोकारवालाहरू संवेदनशील हुनु अत्यावश्यक देखिएको छ ।
अगुवाइका नाममा संगठनमा दलीय झन्डोत्तोलन गर्ने, आस्थाका आधारमा काखा–पाखा गर्ने, पत्रकारितालाई कमाइखाने अवैध स्रोतार्जनको माध्यम बनाउने, पत्रकारहरूको व्यावसायिक जीवनमा आडभरोसा नदिने, पेशागत असुरक्षाका सवालहरूमा बेवास्ता गर्ने, समान पेशाधारीलाई अपहेलना गर्ने, लैंगिक हिंसा गर्ने, पत्रकार महिलाका सवालमा संवेदनशील नहुने जस्ता कामको निर्मम बर्खिलापमा महासंघ उभिनु पर्दछ ।
पत्रकारितासँग सम्बन्धित सिद्धान्त, आचारसंहिता, मूल्य–मान्यता, प्रचलन र कौशल सम्बन्धी सञ्चारकर्मीहरूलाई प्रशिक्षण दिने काम मात्रै नेपाल पत्रकार महासंघको होइन । पूर्णतः यसै पेशामा कार्यरत÷निर्भर सञ्चारकर्मीहरूको आजीविका सुरक्षित गर्ने काम तथा पेशागत शुद्धीकरण गर्ने गहन जिम्मेवारी समेत आम सञ्चारकर्मीहरूको छाता संगठन मानिने पत्रकार महासंघमै छ । उसैको अगुवाइ अनिवार्य पनि छ । तर, अगुवाइका नाममा संगठनमा दलीय झन्डोत्तोलन गर्ने, आस्थाका आधारमा काखा–पाखा गर्ने, पत्रकारितालाई कमाइखाने अवैध स्रोतार्जनको माध्यम बनाउने, पत्रकारहरूको व्यावसायिक जीवनमा आडभरोसा नदिने, पेशागत असुरक्षाका सवालहरूमा बेवास्ता गर्ने, समान पेशाधारीलाई अपहेलना गर्ने, लैंगिक हिंसा गर्ने, पत्रकार महिलाका सवालमा संवेदनशील नहुने जस्ता कामको निर्मम बर्खिलापमा महासंघ उभिनु पर्दछ । विडम्बना।।। बेलामौकामा त्यस्ता शिकायत सतहमा आइरहेका छन् । वर्गीय विभेदलाई बढावा दिने काम सञ्चारकर्मीहरूबाटै पनि भएका छन् । जसले पत्रकारितालाई अविश्वस्त पनि बनाएको छ, नसुध्रिए÷नसुधारे आगत दुष्कर नहुने कारण छैन ।
विनम्र, अध्ययनशील एवम् क्रियाशील पत्रकार वास्तवमा रेफ्री हुन् । मैदानमा पत्रकारहरू नै खेलाडी बन्दा आग्रह–पूर्वाग्रहले स्वतः स्थान बनाउँछ । कुनै राजनीतिक दल वा स्वार्थ समूहमा आबद्ध भएर काम गर्नेहरूले पत्रकारिता त्यागेर राजनीतिमा वा अन्य पेशान्तरण गरे हुन्छस् तर रेफ्रीको जर्सी लगाएर निष्पक्ष निर्णय गर्ने दायित्व पाएको कसैले पनि खेलको नियम विपरीत जानु घातक हुन्छ । यो कुरा पत्रकारहरूमा समेत हुबहु लागू हुन्छ । निहित स्वार्थ, लालच, पूर्वाग्रह वा धनाशक्तिबाट अलग पत्रकारहरू नै तटस्थ, निरपेक्ष र समयसापेक्ष बन्न सक्छन् ।
राष्ट्रिय मेलमिलाप, सामाजिक सौहार्द्यता, जनसचेतना, सुशासन र समष्टिमा सार्वभौमसत्ता, सम्प्रभुता, सर्वधर्म–सर्वजाति–सर्वपेशाधारी नागरिक–नागरिकका लागि सद्भाव कायम गर्नका निम्ति सूत्रधार एवम् पहलकर्ता समेत बन्नु पर्ने दायित्वबाट च्युत हुँदा नै यस पेशामा कार्यरत सबैको अवमूल्यन हुन्छ । त्यसो हुँदा यतिबेला पत्रकार महासंघले देशव्यापी रूपमा जुन पेशागत शुद्धीकरणको अभियान चलाएको छ– त्यसले इमानी, पेशाप्रति प्रतिबद्ध, दल–गुट–गिरोह निरपेक्ष र तटस्थ भूमिकाका सञ्चारकर्मीहरूको संरक्षण हुनेगरी शुद्धीकरण गरोस् । पत्रकारहरूलाई पनि ‘नेता’ नै बनाउने र भोट लिनका लागि ‘जस्तोसुकै’ र ‘जुनसुकै’ पेशाकालाई पत्रकारको बिल्लामा फेरि पनि थमौती दिने काम नगरोस् । ‘शुद्धीकरण’ शब्द स्वयम् अशुद्धहरूको गिरफ्तमा नपरोस् –कामना यत्ति हो ।