२०८१ मंसीर २७ गते , विहीबार

हाम्रो प्रादेशिक अस्पताल भद्रपुर प्रशंसा योग्य कहिले बन्ने हो ?

sajilo news
रमेश ढकाल
२०७९ चैत्र १४ गते , मंगलबार
हाम्रो प्रादेशिक अस्पताल भद्रपुर प्रशंसा योग्य कहिले बन्ने हो ?

हाम्रो प्रादेशिक अस्पताल भद्रपुरलाई हामीले सफा र स्वच्छ राख्न सकेको भए । जन अपेक्षा अनुरूपको सेवा दिन सकेको भए । अस्पतालका गतिविधिका बारेमा सामाजिक सञ्जालमा राखिने फोटोहरूले अस्पतालको गरिमालाई कम गर्ने होइन अझ बढाउने थियो । गाउँ–गाउँमा अस्पताल, अस्पताल प्रशासन टिम, अस्पताल सुधार समितिको प्रशंसा हुने थियो । यो सबै देखेर सुनेर अस्पताल प्रशासन टिमको छाती गर्वले फुलेर फराकिलो हुने थियो । 

तर विडम्बना, अहिले अस्पताल प्रशासनले अस्पतालसँग सम्बन्धित कुनै पनि गतिविधिका बारेमा फोटो खिच्न निषेध गरिएको छ भनेर सूचना प्रकाशित गर्नु परेको छ । अस्पताल प्रशासनको यो हर्कतले कतै अस्पताल प्रशासनले आफ्नो असक्षमता, इच्छाशक्ति विहीन लाचारीपन तथा गैरजिम्मेवार चरित्रलाई ढाकछोप गर्न त खोजेको हैन भनेर हामी आम नागरिकलाई एउटा शङ्काको सुविधा दिएको छ । सर्वसुलभ आधारभूत स्वास्थ्य सुविधा आम नागरिकको आवश्यकता मात्र होइन, अधिकार पनि हो । यो कुरा हाम्रो संविधानमा पनि उल्लेख गरिएको छ ।

तर दुःखको कुरा, हाम्रो प्रादेशिक अस्पतालमा बिरामीहरू बाहिर पुर्जा बनाउँदा मात्र हैन, डाक्टरलाई भेट्नका लागि भित्र पसी सकेपछि पनि डाक्टरको क्याबिनको ढोका अगाडि घुइँचो लागेर आपसमा ठेलमठेल गर्दै उभिनु परेको छ । बिरामीहरूलाई अस्पतालको औषधि पसलबाट डाक्टरले लेखिदिएको औषधि किन्नका लागि पनि उत्तिकै सकस छ । 

अस्पतालका अधिकांश शौचालयहरू सग्ला छैनन् । सरसफाइको अवस्था उस्तै हृदय विदारक छ, जसले गर्दा बिरामी कुरुवा पनि बिरामी पर्ने गरेका छन् । सरकारी अस्पतालमा डाक्टरहरूका लागि निर्दिष्ट न्यूनतम दैनिक सेवा समय र अस्पतालमा डाक्टर साहबहरूको वास्तविक उपस्थितिका बिचमा तालमेल नहुँदा पनि बिरामीहरूले धेरै दुःख पाउने गरेका छन् । अस्पतालमा कार्यरत धेरैजसो डाक्टरहरू निजी क्लिनिकमुखी बन्ने गरेको जनगुनासो कायम नै छ । 

यी कुराहरूका अलावा, सामाजिक सञ्जालमा अस्पतालका विरुद्ध समय समयमा पोखिने गरेका नागरिकका तीता अनुभव लगायतका अन्य कयौँ संवेदनशील विषयहरूलाई यो पङ्क्तिकारले यहाँ जोड्न मनासिब ठानेन ।  स्वास्थ्य मन्त्रालय मार्फत २०७९–०६–२८ गते प्रादेशिक अस्पताल, भद्रपुरका नाममा जरी गरिएको पत्रमा अस्पताललाई २०० शय्यामा स्तरोन्नति गरिएको ब्यहोरा उल्लेख छ । यो कुरा भद्रपुरवासीका लागि मात्र हैन, सिङ्गो कोसी प्रदेशका तमाम नागरिकहरूका लागि खुसीको कुरा हो । तर, अस्पतालको सेवा प्रवहका दृष्टिबाट हामी नागरिक कहिले खुसी हुने ?

सम्पूर्ण रुपमा चुस्त सेवा दिन नसक्नुमा जनशक्ति, पूर्वाधार, वित्तीय व्यवस्थापन लगायतका विभिन्न कठिनाइहरू छैनन् होला भनेर हामी भन्दैनौँ । तर, उपलब्ध स्रोत साधन तथा जनशक्तिको प्रयोग गरेर कम से कम अस्पताललाई सफा र स्वच्छ त पक्कै पनि राख्न सकिन्छ होला । यसो गर्नका लागि अतिरिक्त बजेट भन्दा पनि अस्पतालको नेतृत्वमा एउटा बलियो इच्छाशक्ति हुनु पर्ने कुरा धेरै महत्त्वपूर्ण हुन आउँछ, जुन व्यवहारिक रुपमा देख्न सकिएको छैन ।    

पहिले मेची अञ्चल अस्पतालको नामले प्रख्यात यो अस्पताल नेपाल सरकार अन्तर्गत सञ्चालित मेची अञ्चलकै ठुलो अस्पताल मानिन्छ । मुलुक सङ्घीय संरचनामा गएपछि यसलाई प्रादेशिक अस्पतालमा रूपान्तरित गरियो । यो अस्पताललाई सुविधा सम्पन्न बनाउन केन्द्र तथा प्रदेश सरकारले बजेट उपलब्ध गराउँदै आएका छन् । तर बजेट उपलब्ध गराउँदैमा राज्यले आफ्नो दायित्व निर्वाह गरेको मान्न सकिन्न । 

बजेट उपलब्ध गराउँदै गर्दा, अस्पताललाई सुविधा सम्पन्न बनाउन थप गर्नुपर्ने वा अद्यावधिक गर्नुपर्ने विषयहरूमा स्पष्टता र तिनीहरूको कार्यान्वयनका लागि समय सीमा तोकेर टार्गेट पनि सेट गरिएको हुनुपर्छ, साथसाथै त्यसै अनुरूपको अनुगमन पनि ।  अन्यथा ’उल्फाको धन फुपूको श्राद्ध’ भने जस्तो मात्र हुने छ, जुन अहिलेसम्म हुँदै आएको छ । 

खैर, यस्तो नहोस् भनेर तथा स्वास्थ्य संस्थामा जनताको अपनत्व होस्, व्यवस्थापनको काममा अस्पताल प्रशासनलाई सहयोग पुगोस् र कर्मचारी तथा राजनैतिक नेतृत्वबिच पुलको काम गरोस् भनेर अस्पताल सुधार समिति बनेको छ । तर अहिले सेवा प्रवाहका दृष्टिले हेर्दा, नचाहँदा नचाहँदै पनि यस्ता सुधार समितिहरू कतै दलका कार्यकर्ता व्यवस्थापन गर्नका लागि मात्र त बनेका होइनन् भनेर घोत्लिनु पर्ने भएको छ ।         

आज जुन अवस्थाबाट हाम्रो प्रादेशिक अस्पताल गुज्रिराखेको छ, यो अवस्थालाई थोरै मर्यादित बनाउन वा सुधार गर्न अतिरिक्त बजेटको आवश्यकता त होला नै । तर त्यो भन्दा पनि धेरै एउटा असल नियतसँगै केही गरेर देखाउँछु भन्ने दरिलो अठोट बोकेको नेतृत्वको खाँचो देखिन्छ ।

कुनै परियोजना वा संस्थाले सही नेतृत्व पाएमा, त्यसले उत्कृष्ट परिणाम दिन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा हामी प्रथम भद्रपुर झापा गोल्डकपलाई पनि लिन सक्छौँ । निश्चित पनि, गोल्डकप भव्य रुपमा सम्पन्न हुनुमा एउटा व्यक्ति भन्दा पनि सम्बन्धित सिङ्गो टिमको निरन्तर प्रयास त्यसमा जोडिएको थियो । तर उक्त टिमको नेतृत्व कसले गरेको थियो भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन आउँछ ।   

यसै गरेर, आम जनतामाझ भिजेको, अस्पतालको निम्ति केही गर्ने ऊर्जा र भिजन बोकेको र सबै सम्बन्धित निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने एउटा कुशल नेतृत्व, हाम्रो प्रादेशिक अस्पतालले पनि पाउने हो भने, अस्पतालको रूप रेखा परिवर्तन हुन खासै धेरै समय पक्कै पनि लाग्ने थिएन होला । 

यसो भन्दै गर्दा मैले अहिलेको नेतृत्वलाई असक्षम भनेर भन्न खोजेको भने कतै होइन (जसलाई यो पङ्क्तिकारले चिन्दैन पनि) । तर जोसुकै भए पनि नेतृत्व परिणाममुखी, नतिजा निकाल्न सक्ने हुनुपर्छ । हो, अप्ठ्याराहरू होलान्, अनेकौँ बाधा अवरोधहरू पनि होलान् अन्य विभिन्न कमजोरीहरू पनि होलान्, यी सबै व्यवधानहरूलाई चिरेर, आम नागरिकले अपेक्षा गरे अनुसारको नतिजा निकाल्न सके मात्र कुशल नेतृत्व कहलाउन सकिन्छ ।  

हाम्रो प्रादेशिक अस्पतालको मुहार फेर्ने सवालमा, अब हाम्रो क्षेत्रका सङ्घीय सांसद, प्रदेश सांसद, नगर प्रमुख लगायतका जनप्रतिनिधिहरू एकै ठाउँ बसेर एउटा ठोस योजना बनाएर तत्काल एक्सनमा उत्रनु पर्छ । स्वास्थ्य नै धन हो । त्यसैले आफ्ना नागरिकलाई उचित र सुव्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउने विषय यहाँहरूको मुख्य प्राथमिकता बन्नुपर्छ ।  

तत्काल ठुलो परिवर्तन ल्याउन सम्भव नहोला, तर कम से कम अहिले  उपलब्ध सेवाहरूलाई सहज र सुव्यवस्थित बनाऔँ । कम्तीमा अस्पताललाई सफा र स्वच्छ राखौँ, ताकि अस्पताल भित्र प्रवेश गर्दै गरेको एउटा बिरामीले थोरै सहज महसुस गर्न सकोस्, थोरै भए पनि उसको मनोबल बढोस् । 

सांसद कोष तथा नगर कोष बाट विभिन्न क्षेत्रमा बजेट उपलब्ध गराएका समाचारहरू पढ्न सुन्न पाइन्छ । तर, सबैले मनन गर्नु पर्ने कुरा, देवालय तथा मठ मन्दिरहरू सुन्दर बनेको के अर्थ, जब त्यहाँ जाने मान्छेहरू नै बिरामी परेर बसेपछि । निःसन्देह पनि हाम्रा धर्म, संस्कृति, सभ्यताहरूको आफ्नै विशिष्ट महत्त्व छ । यिनको रक्षा तथा प्रवर्धन गर्नु हाम्रो दायित्व हो । तर कृपया पहिलो प्राथमिकता स्वास्थ्यलाई दिऊँ ।

अन्त्यमा, हाम्रो प्रादेशिक अस्पताल भद्रपुरको मुहार फेर्ने सवालमा, म जस्तो अत्यन्तै आम नागरिकका तर्फ बाट पनि कुनै योगदान गर्नु पर्ने अवस्था आएमा, यो पङ्क्तिकार सम्भव भएसम्मको योगदान गर्न सधैँ तयार रहनेछ ।

रमेश ढकाल  भद्रपुर–झापा (हाल दोहा–कतार)

सम्बन्धित समाचार