उक्सिएन मेचे र सन्थालको जीवनस्तर
झापा । मेचे जाति पूर्वी तराईको झापा जिल्लाका आदिवासीमध्ये एक हुन्। परापूर्वकालमा मेची नदी र कनकाई नदीका बीचमा बस्ने भएकाले उनीहरूलाई मेचे भनिएको हो। बोडो जातिको नामले परिचित उनीहरू झापाको भद्रपुर, कप्तानबारी, आयाबारी, जलथल, शनिश्चरे, धुलाबारी, अनारमनि, बेलडाँगी, धाइजन जस्ता क्षेत्रमा बसोबास गर्छन्।
२०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार नेपालमा ४ हजार ८ सय ६७ मध्ये झापामा मात्रै ४ हजार ७६ जना रहेको हल्दिबारी गाउँपालिका–४ निवासी मेचे समुदायका अग्रज सन्तलाल मेचेले जानकारी दिए। जिल्लाको १५ वटा स्थानीय तहमध्ये हल्दिबारी र मेचीनगरमा सबैभन्दा बढी मेचे जातिको बसोबास रहेको उनले बताए। सरकारले मेचेसहित १० वटा जातिलाई लोपोन्मुख जाति भनेर घोषणा गरेको छ। ‘सरकारले ती जातिलाई लोपोन्मुख सामाजिक सुरक्षा भत्ताबापत प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ,’ उनले भने, ‘हाम्रो समुदायमा जन्मिनेबित्तिकै राज्यले दिने सेवा सुविधा पाउँछन्।’ ‘सङ्घीयता जारी हुनुअघि सिटीभिटी मार्फतको प्राविधिक शिक्षातर्फ हाम्रो समुदायका छोराछोरीले छात्रवृत्तिमा धेरै कोटा पाउँथ्यो, सङ्घीयता जारी भएपछि छात्रवृत्तिको कोटा घटेको छ,’ उनले भने ।
मेचे भाषा तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हल्दिबारी गाउँपालिकाले मेचे भाषामा छुट्टै पठनपाठन सुरु गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए। हल्दिबारी ४ स्थित दीपेन्द्र प्राविमा कक्षा १ मा मेचे भाषामा पठनपाठन भइरहेको उनले बताए ।
सन्थाल जाति नेपालसहित भारत, बंगलादेश र भुटानमा बसोबास गर्ने आदिवासी जनजातिमा पर्छन्। उनीहरू निकै सरल, मिलनसार र मेहनति हुन्छन्। आफ्नो परिश्रमबाट नै जीवन गुजारा गर्नुपर्छ भन्ने सन्थालहरू चोरी र बेइमानीलाई पाप सम्झन्छन्। खास गरी पूर्वी तराईका झापा र मोरङका आदिवासी सन्थालहरूको घरको बनोटबाट नै सन्थाल गाउँ भन्ने छुटिन्छ।
भूमिपतिबाट भूमिहीन बनेका सन्थाल समुदायमा शिक्षित निकै कम छन्। मुलुकमा आमूल परिवर्तन भए पनि सन्थाल समुदायको जीवनशैलीमा खासै परिवर्तन आएको छैन। अधिकांश मजदुरी गरेर गुजारा गर्न बाध्य छन्। २०६८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क यो समुदायको जनसङ्ख्या ५१ हजार ७३५ रहेको थियो । मोरङ भन्दा झापा बढी जनसङ्ख्या छ । २०६८ को जनगणनामा झापामा मात्रै ३० हजार बढी जनसङ्ख्या रहेको अन्तर्राष्ट्रिय सन्थाल परिषद्का उपाध्यक्ष मोहन टुडुले जानकारी दिए । २०७८ को जनगणनामा जनसङ्ख्या झन् बढ्ने अनुमान रहेको उनले बताए ।
जिल्लाको गौरीगञ्ज, झापा, हल्दिबारी, बाह्रदशी, भद्रपुर र मेचीनगरमा सन्थाल समुदायको बाक्लो बसोबास छ । ‘२० वर्षअघि सन्थाल समुदाय धेरै पछि थिए,’ परिषद्का उपाध्यक्ष टुडुले भने, ‘अहिले हाम्रो समुदायका मान्छेहरू आर्थिक, शैक्षिक, राजनीतिक क्षेत्रले अगाडि बढिरहेको अवस्था छ ।’
‘अति सिमात्कृत समुदायमा पर्ने सन्थाल समुदायको जीवनस्तर उकास्न राज्यले उच्च शिक्षासम्ममा छात्रवृत्ति प्रदान गर्नुपर्छ,’ उनले भने, ‘अनि मात्र हाम्रो समुदायको जीवनस्तर सुध्रिन्छ ।’ सन्थाल समुदायको मुख्य चाडहरू सोहराय, एरअं, बाहा, जान्थाड पूजामा सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग हामीले उठाइरहेको बताउँदै उनले भने, ‘हामी सतार होइनौँ, सन्थाल हौँ, राज्यको शब्दकोशबाट सतार शब्द हटाउन बारम्बार आवाज उठाइरहेका छौँ ।’ राज्यले फुसको छानो फेर्न बजेटसहितको कार्यक्रम ल्याए पनि अहिले पनि जिल्लामा सन्थाल समुदायको छानो फेर्न काम नभएको उनले गुनासो समेत पोखे ।