कनकाई नगरपालिकाको बजेट ७३ करोड, ८५ लाख ६१ हजार
झापाको कनकाई नगरपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि ७३ करोड, ८५ लाख ६१ हजार ४२० रुपैयाँको अनुमानित बजेट ल्याएको छ । नगरपालिकाकी उपप्रमुख आशा शर्मा सिवाकोटीले नगरपालिकाको ११ औ नगर सभामा उक्त बजेट पेस गरेकी थिइन् । । उक्त बजेटमा ६८ वर्षमाथिका उमेर पुगेका र तोकिएका समूहका व्याक्तिहरुको करिब २५ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम भने समावेश नगरिएको सिवाकोटीले बताइन् ।
बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने १५ करोड ९ लाख रुपैयाँ अनुदान रकम, प्रदेश एक सरकारबाट प्राप्त अनुदान रकम ८२ लाख ९९ हजार, प्रदेश सरकारबाट प्राप्त मालपोतको राजस्व बाँडफाँडबाट प्राप्त हुने १० करोड ३ लाख रकम, प्रदेश सरकारको सवारी कर र घरजग्गा रजिष्ट्रेशन बापत प्राप्त हुने २ करोड, नगरपालिकाबाट प्राप्त आन्तरिक आयबाट प्राप्त हुने ८ करोड १५ लाख ३० हजार रकमलाई विभिन्न शीर्षकमा विनियोजन गरिएको नगर उपप्रमुख सिवाकोटीले बताइन् ।
जसमा कृषि तथा पशुपक्षी कार्यक्रममा २ करोड २५ लाख रकम विनियोजन गरिएको छ । यसैगरि शिक्षामा २ करोड ५ लाख, स्वास्थ्यमा १ करोड ५० लाख, खानेपानी र सरसफाइमा ५० लाख, वन वातावरण, संस्कृति तथा पर्यटनमा ३० लाख, खेलकुदमा ३५ लाख, महिला बालबालिका तथा लक्षित वर्ग र संस्थागत सहयोगमा २ करोड २२ लाख, विद्युत् विस्तारमा ३५ लाख लगायत रहेको छ ।
यसैगरि कनकाई नगरपालिकाका ९ वटै वार्डलाई ९ करोड ६ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस वर्षको बजेटमा कृषि र पशुपालनको रूपान्तरण र प्रविधिको प्रयोग बढाइ आधुनिकीकरण र व्यवसायीकरण गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाइने, गरिब र भूमिहीनलाई व्यवस्थापन गरिने, पर्यटकीय क्षेत्रको उजागर गरी आर्थिक विकास गरिने लगायतका बजेटका प्राथमिकता रहेको नगर उपप्रमुख आशा शर्मा सिवाकोटीले बताइन् । कार्यक्रम नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्व एवम् नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो ।