भद्रपुरको नीति तथा कार्यक्रम : शिक्षकको तलब, भत्ता वृद्धि, युवा महोत्सवदेखि भद्रपुर गोल्डकप सञ्चालन गर्नेसम्म

भद्रपुर । भद्रपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा बिशेष योजना ल्याएको छ । नगरपालिकाले बाल शिक्षकको तलब वृद्धि, प्रधानाध्यापकहरुलाई भत्ता दिने, भद्रपुर युवा महोत्सव र भद्रपुर गोल्डकप जस्ता कार्यक्रम ल्याएका छन् । नगरपालिकाको ११ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गर्दै नगर प्रमुख गणेश पोखरेलले कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीहरूलाई निःशुल्क विद्यालय पोसाक वितरण गर्ने, माध्यमिक तह छात्राहरूलाई विशेष छात्रवृत्ति प्रदान गर्ने, विज्ञान सङ्काय पढ्ने विपन्न समुदायका छात्राहरूलाई मासिक शुल्क नगरपालिकाले उपलब्ध गराउन, नगर नमुना विद्यालय घोषणा गरी नगरको एक आधारभूत विद्यालयलाई वार्षिक १० लाख उपलब्ध गराउने, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई मासिक एक हजारको दरले प्रअ भत्ता उपलब्ध गराउने, प्राथमिक तहमा बालमैत्री फर्निचर व्यवस्थापन गर्ने, दरबन्दी प्राप्त नगरेका ११–१२ सञ्चालित सामुदायिक विद्यालय (चन्द्र भानु र सगरमाथा मावि) लाई अनुदान उपलब्ध गराउने, नगरमा एक बहु प्राविधिक विद्यालयको स्थापना गर्ने, बाल शिक्षकहरूको तलबमा १५ प्रतिशत वृद्धि गर्ने, विद्यालय लेखा कर्मचारीहरूको तलब समायोजन गरी मासिक २० हजार कायम गर्ने र अन्य विद्यालय कर्मचारीहरूको लागि अवकाश कोषको स्थापना गर्ने, विद्यालयलाई तलब र लेखासम्बन्धी कार्य गर्नलाई सफ्टवेयर उपलब्ध गराउने, विद्यार्थी सङ्ख्या कम भएका सामुदायिक विद्यालय एकीकरणका लागि सरोकारवालाहरूसँग छलफल अघि बढाउने बताए ।
त्यस्तै कृषि पाठशाला सञ्चालन गर्ने, १० वटा सामुदायिक विद्यालयमा खानेपानीको व्यवस्था गर्ने, जीर्ण रहेका छानाहरूलाई विस्थापित गरी नयाँ टिनको छाना लाउने, बाल विकास शिक्षकहरूलाई मन्टेश्वरी तालिम प्रदान गर्ने, नगर भित्रका ५ वटा बाल विकास केन्द्रलाई नमुना बाल विकास केन्द्रको रुपमा विकास गर्ने, प्रथम भद्रपुर युवा महोत्सव सञ्चालन गर्ने, मेची रङ्गशालामा प्रत्येक वर्ष भद्रपुर गोल्डकप सञ्चालन गर्ने, एसइईमा उत्कृष्ट एक छात्रा र एक छात्रलाई प्रोत्साहन स्वरूप ल्यापटप उपलब्ध गराउने, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको मासिक बैठकमा यातायात खर्च उपलब्ध गराउने, प्रत्येक विद्यालयका एक/एक जना शिक्षकलाई लामो अवधिको तालिम दिई कम्प्युटर प्रशिक्षकको रुपमा विकास गर्ने, नगरमा बहु प्राविधिक विद्यालयको स्थापना गर्ने, नगरले सञ्चालन गर्ने शिक्षा केन्द्रित तालिम तथा कार्यक्रमहरूमा संस्थागत विद्यालयलाई सहभागी गराउने, नगरका सामुदायिक तथा संस्थागत विद्यालयका सबै विद्यार्थी एउटै पोसाक कायम गर्न छलफल प्रारम्भ गर्ने, शिक्षकहरूलाई कार्यसम्पादनमा आधार रही वार्षिक तथा तहगत रुपमा उत्कृष्ट शिक्षक सम्मान गर्ने कार्यक्रम ल्याएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।