कनकाई उद्योग वाणिज्यमा चर्कियो विवाद, निर्वाचन समितिले दियो राजीनामा

झापाको कनकाई उद्योग वाणिज्य संघको २०७८ फागुन २० गतेको वार्षिक साधारण सभाबाट बनाइएको निर्वाचन समितिले निर्वाचनको कार्यक्रम सम्पन्न नगरी राजीनामा दिएको छ ।
निर्वाचन समितिले संघको कार्यालयमा पत्रकार भेटघाट मार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संघको विधानमा रहेको परिच्छेद ८ को दफा ४३ को (ज) बमोजिम निर्णयमा पुगी आजैका मितिबाट लागु हुने गरी निर्वाचन समितिबाट संयुक्त रुपमा राजीनामा दिएको जनाएको छ । निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुँडाल, सदस्यद्वय लीलाप्रसाद भेटवाल र त्रिलोचन उप्रेतीले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्ति मार्फत राजीनामा दिएको जनाइएको छ ।
निर्वाचन समितिले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएसँगै कनकाई उद्योग वाणिज्य संघको नेतृत्व अब अन्योलमा परेको छ । निर्वाचनको कार्य सम्पन्न गर्न कार्यसमितिसँग सहयोग माग गर्दा परिच्छेद ८ को दफा ४३ को (छ) अनुसार निर्वाचन समितिलाई सहयोग प्राप्त नभएका कारण निर्वाचनको प्रक्रिया पूरा हुन नसकेको निर्वाचन समितिले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । संघको सर्वोच्च अंगका रुपमा रहेको आम उद्योगी व्यवसायीहरूको विशेष साधारण सभाले यसको छिनोफानो गर्नुपर्ने भएको छ ।
विवाद समाधानका लागि यसअघि संघको निर्वाचन समितिले संस्थाका पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष, सल्लाहकारसहित स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग भएको छलफलबाट सुझाव संकलन गरेको थियो ।प्रारम्भिक चरणबाटै निर्वाचन समितिको गठन प्रक्रियादेखि हालसम्म पनि समितिको वैधतामाथि प्रश्न चिन्ह खडा हुँदै आएको बताइएको छ । त्यस्तै नवनिर्वाचित अध्यक्षबाट समेत निर्वाचन समितिको मानहानि हुने गरी शपथ ग्रहण, प्रमाणपत्र तथा पदभार समेत नलिई आफू खुसी अध्यक्षको हैसियतबाट विभिन्न संघसंस्थामा उपस्थित जनाई शुभकामना दिने जस्ता कार्यहरू भएको साथै संघका सदस्यहरूले निवेदन पेस गरेको प्रमाणका आधारमा निर्वाचन समितिले आइतबार सरोकारवालाहरूको सुझाव संकलन गरेको हो ।
प्राप्त सुझावका आधारमा निर्वाचन समितिले आइतबार संघको कार्यालयमा पत्रकार भेटघाट मार्फत निर्वाचन समितिको निर्णयलाई प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदै राजीनामा दिएको हो । आफूहरूले निर्वाचन सम्पन्न भए लगत्तै पटक–पटक नयाँ कार्यसमितिलाई शपथ र पदस्थापनका लागि अनुरोध गर्दा गर्दै पनि तोकिएको समय सीमा नाघिसकेका कारण विधानतः राजीनामा दिनु परेको निर्वाचन समितिका संयोजक चुडालले जानकारी दिए ।
राजनीतिक दलहरू बिचको सहमतीय प्रणालीका आधारमा सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिलाई निर्वाचन समितिले आफ्नो समय सीमा भित्र शपथ ग्रहण नगराए पछि समस्या जटिल बन्दै गएको थियो । संघको विधान अनुसार ४५ दिन भित्रमा निर्वाचनका सबै कार्यक्रम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले करिब तीन महिना बितिसक्दा पनि आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै स्थानीय व्यवसायीहरूले वैधानिक रुपमा संस्था सञ्चालन गर्ने वातावरण सिर्जना गर्न माग गर्दै निर्वाचन समितिलाई निवेदन दिएका थिए ।
उद्योगी व्यवसायीका समस्या समाधान नहुँदा दैनिक हुने काम कारबाहीमा समेत यसको प्रभाव परेको भन्दै निर्वाचन समितिलाई मार्ग प्रशस्त गर्न भनी निवेदन दिइएको जनाइएको छ । जसबाट उत्पन्न विषम परिस्थितिका कारण निर्वाचन समितिले वातावरण सहज बनाउन सार्वजनिक रुपमा राजीनामा दिएको जनाइएको छ ।