२०८१ फाल्गुन ४ गते , आईतबार

विश्व वातावरण दिवस : मेची क्याम्पसमा मिनी म्याराथन र वृक्षारोपण

sajilo news
झापा
२०७९ जेष्ठ २२ गते , आईतबार
विश्व वातावरण दिवस : मेची क्याम्पसमा मिनी म्याराथन र वृक्षारोपण

झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले मिनी म्याराथन (सडक दौड) तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवसको अवसरमा समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको हो । क्याम्पस परिसरबाट शुरु भएको पाँच किलोमिटर लामो मिनी म्याराथन क्याम्पस मोड–सगरमाथा चोक–संगमचोक–जनता चोक–गणेश मन्दिर–मेची अस्पताल हुँदै पुनः मेची क्याम्पस पुगेर सम्पन्न भएको थियो । म्याराथनमा करिब एक सय जनाले सहभागिता जनाएका थिए ।

मिनी म्याराथनमा पुरुषतर्फ माने हास्दा प्रथम, विवेक रिजाल द्वितीय, लक्ष्मीप्रसाद रिजाल तृतीय भए भने महिलातर्फ सुस्मिता राई प्रथम, समीक्षा यादव द्वितीय र नमुना आङ्बो लिम्बू तृतीय भइन् । त्यस्तै, क्याम्पस परिसरमा विभिन्न प्रजातिका २५० थान बिरुवा रोपिएको छ ।कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले म्याराथनको उद्घाटन गरेका थिए । उनले विश्वव्यापी रुपमा बिग्रँदै गएको वातावरणलाई सन्तुलनमा ल्याउन यस प्रकारका रचनात्मक कार्यक्रम फलदायी हुने बताए । उनले भने, ‘विद्यार्थीले गरेको यो काम प्रशंसनीय छ, यस्ता काममा नगरपालिकाले सदैव साथ र सहयोग गर्ने छ ।’

त्यस्तै, विशिष्ट अतिथि क्याम्पस प्रमुख जीवन पोखरेल, अतिथि स्ववियु सभापति भुवन बुढाथोकी लगायतका वक्ताले शुभकामना मन्तव्य दिँदै वातावरण संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । वातावरण विज्ञान विद्यार्थी समाजका अध्यक्ष दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख देवीप्रसाद आचार्य, डा. कृष्णप्रसाद भट्टराई, वातावरण विभाग प्रमुख दिवस दाहाल, कर्मचारी संघका अध्यक्ष कमलसिंह राजवंशी लगायतको आतिथ्य रहेको थियो ।

वातावरण विज्ञान विद्यार्थीले समाजका सचिव वेनुपराज खतिवडाले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण वातावरण विज्ञान विभागका शिक्षक कैलाशकुमार खरेलले गरेका थिए ।  कार्यक्रमका लागि भद्रपुर नगरपालिका, मेची क्याम्पस, कङ्गारु एजुकेशन फाउन्डेसन, स्टडी सिस कन्सल्ट काठमाडौँ, यूथ रेडक्रस सोसाइटी मेची क्याम्पस, हल्दिबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष डम्बर गिरी, विद्यार्थी नेता गौरव गुप्ता लगायतले आर्थिक लगायतका सहयोग गरेको शिक्षक कैलाश खरेलले जानकारी दिए । 

सम्बन्धित समाचार