अर्जुनधाराको टाङटिङ खोलामा एक महिलाको शव फेला

अर्जुनधारा नगरपालिका- ४ स्थित टाङटिङ खोलामा एक जना महिलाको शव फेला परेको छ । शनिश्चरे(खुदुनाबारी जाने बाटोमा रहेको टाङटिङ पुलदेखि तलतिर महिलाको शव फेला परेको हो ।
स्थानीयका अनुसार अर्जुनधारा-४ मदनपुरकी ३३ वर्षीया सीता गिरीको शव फेला परेको हो । स्थानीयले आज बिहान ९ बजेतिर खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनापछि घरबाट आजै बिहान ५ बजेपछि उनी बेपत्ता भएको जानकारी परिवारले प्रहरीलाई दिएका छन् । मृतकका श्रीमान् सन्तोष गिरी अहिले घटनास्थलमै रहेका छन् । घटनास्थल टाटी पुलदेखि करिब १ किलोमिटर दक्षिण रहेको छ ।
गिरीको शव पानीमाथि घोप्टो परेको अवस्थामा तैरिरहेको छ । प्रकृति हेर्दा खोलाले बगाएको जस्तो नदेखिएको, कपडा दुरुस्तै भएकाले स्थानीय बासिन्दा र परिवारले अनुसन्धानका लागि आग्रह गरेको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय र शनिश्चरे चौकीको टोली तैनाथ रहेको छ ।