२०७९ जेष्ठ ८ गते , आईतबार

झापामा पानी पर्दै, मतदान केन्द्रहरूको तयारी प्रभावित

sajilo news
पार्थ मण्डल
२०७९ बैशाख ३० गते , शुक्रबार
झापामा पानी पर्दै, मतदान केन्द्रहरूको तयारी प्रभावित

झापा । आज स्थानीय तह सदस्य निर्वाचनको मतदान गर्ने दिन हो । झापाका मतदान केन्द्रहरूमा तयारी पूरा भइसकेको थियो । तर, बिहीबार रातीदेखि परेको भारी वर्षाका कारण मतदान केन्द्रहरूको तयारी नराम्ररी प्रभावित बनेको छ । निर्वाचन आयोगले मतदान गर्ने दिन पानी पर्ने सम्भावना रहेको हुनाले त्यही अनुसारको तयारी गर्नुभनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूलाई सूचना जारी गरिसकेका थिए । 
आयोगको सोही सूचना अनुसार निर्वाचन कार्यालय झापा र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका २८६ मतदान स्थलका ७५५ मतदान केन्द्रहरूमा पानीबाट मतपेटिका र मतपत्र जोगाउन भनी सम्बन्धित मतदान अधिकृतहरूलाई जानकारी गराइसकेका थिए । 
सोही अनुसार मतदान केन्द्रहरूमा खटिएका मतदान अधिकृत र सुरक्षाकर्मीहरूले खुला मैदानलाई प्रयोगमा ल्याउनु भन्दा पनि पानीबाट कसरी बच्न सकिन्छ त्यही अनुसारको तयारी गरेका छन् । मतदान केन्द्रहरूमा रहेको खुला भवन, ट्रस्ट, बरन्डा लगायतका स्थल प्रयोगमा ल्याएको छ । त्यसलाई झन् व्यवस्थित बनाउने हरेक केन्द्रहरूमा त्रिपाल लगाइएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । तर, भारी वर्षाका कारण कुनै कुनै मतदान केन्द्रहरूमा त्रिपालले पनि पानी थेग्न नसक्ने गरी प्रभावित बनाइएको जानकारी प्राप्त भएको छ । 
यता प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलका अनुसार मौसम पूर्वानुमान बमोजिम नै जिल्लाका मतदान केन्द्रहरू व्यवस्थित बनाइएको छ । ‘पानी त परिरहेको छ, अहिलेसम्मको जानकारी अनुसार कुनै मतदान केन्द्रमा समस्या आएको छैन,’ एसपी पोखरेलले भने, ‘लगातार पानी परिरहेको खण्डमा मतदान केन्द्र पुग्ने मतदातालाई चाहिँ केही समस्या हुन सक्छ ।’ 
झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । १० प्रतिशत जगेडासहित करिब ७ लाख मतपत्र झापा ल्याइएको छ । 
निर्वाचनका लागि झापामा ७ सय ५५ जना मतदान अधिकृत, ७ सय ५५ जना नै सहायक मतदान अधिकृत, १५ सय ६ जना सहायक कर्मचारी ७ सय ५६ जना कार्यालय सहयोगी र दुई हजार चार सय स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।
यता निर्वाचनको सुरक्षार्थको लागि नेपाल प्रहरीका एक हजार ९ सय, सशस्त्र प्रहरीका ७ सय ५५, म्यादी प्रहरी दुई हजार ९ सय १६ र राष्ट्रसेवक कर्मचारी तीन हजार ८ सय खटिएका छन् । साथै जिल्लाका १५ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल निर्माण गरिएको छ । मतगणना स्थलहरूमा तार जालीसँगै सिसी क्यामेरा लगाएर व्यवस्थित बनाइएको छ । ६५८ विभिन्न पदका लागि जिल्लामा २७८५ जनाले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार