कचनकवनमा उम्मेदवारको चुनावी अंकगणित र दलहरूको जीतको आधार

(रत्नकुमार बुढाथोकी) । दक्षिणी झापाको कचनकवलमा स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम कस्तो आउने विषयमा जनचासो बढेको छ ।
पाँच दलीय गठबन्धनको केन्द्रीय सर्कुलरको मर्म विपरीत कचनकवलमा नेपाली काँग्रेस र नेकपा (एमाले)बीच चुनावी तालमेल भएको छ । काँग्रेसले अध्यक्षमा कालेन्द्रप्रसाद सिंह राजवंशी र एमालेले उपाध्यक्षमा नवराज भट्टराई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजधानीको रुपमा चिनिने कचनकवलमा निवर्तमान गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम राप्रपाबाट पुनः अध्यक्ष पदका उम्मेदवार बनेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले गाउँपालिकामा बहुमत ल्याएर निर्वाचित भएका थिए ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको निर्वाचन क्षेत्र पनि यही हो । उनले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले र माओवादी)सँग तालमेल गरी काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै विजयी भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट विजयी भएका राप्रपाका अध्यक्ष लिङदेनले राष्ट्रिय राजनीतिमा त्यतिकै चर्चा बटुल्न सफल भए । उनको एउटै नारा छ, ‘भ्रष्टाचार गर्नु आमाको रगत पिउनु हो’ । उनले कहिले ‘नेतालाई गाउँ आउँदा चोर आयो’ भनेर जनताका बीच अझ लोकप्रिय नेताका रुपमा चिनाए । काँग्रेस र एमाले गठबन्धन भएर मैदानमा उत्रिएकाले लिङदेन कचनकवलमा राप्रपालाई पुनः बहुमतले जिताउन कम्मर कसेर लागिपरेका छन् । गठबन्धन
स्थानीय तह २०७४ निर्वाचनमा काँग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले ५३५३ मत र राप्रपाका अन्जरा आलमले ५८१६ मत ल्याएका थिए । आलमले ४६३ मतान्तरले जीत हासिल गरे । एमालेका शेरबहादुर खत्रीले ३९७२ मत र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हंस नारायण राजवंशीले १२५० मत ल्याएका थिए । गणतन्त्र र सङ्घीयताको जननी र पक्षधर मानिने पक्षका उम्मेदवारलाई पाखा लगाउँदै राप्रपाले त्यस बेला सानदार विजयी हासिल गर्न सफल भएका थिए ।
राज्य पुनः संरचनासँगै घरघरमा सिंहदरबारको पहिलो नेतृत्व सङ्घीयता विपरीतको राजनीतिक एजेन्डा बोक्ने दललाई कचनकवलका जनताले सत्ताको चाबी हस्तान्तरण गर्नुको मुख्य कारण यहाँको परिवर्तन र विकासको लहर फुटाउनु नै राप्रपालाई पाँच वर्षका लागि नेतृत्वदायी ठाउँमा पुर्याए । त्यस अवधिमा कसले कति स्वाद लिन पाए चर्चाको विषय अवश्य होला ? तथापि यहाँका जनताको एउटै चाहना वर्तमानको रोग, भोक र शोकको तत्कालीन अवस्थाबाट माथि उठ्नु रहेको थियो भन्नेमा दुई मत नरहला । राजनीतिक समीकरणलाई हेर्ने हो भने २०७९ को स्थानीय निर्वाचनमा मतदाता बढ्नुका साथै राजनीतिक दलहरूले आफूलाई केही अब्बल साबित गर्न सत्ता बाहिर रहे पनि पहलकदमी गरेको देखिन्छ । चाआराली– केचना कालोपत्रे सडक, बालुवाडी–पाठामारी कालोपत्रे सडक, सुकुनाडिगी–पथरिया हुँदै घेरावारीसम्मको कालोपत्रे सडक, वन्यजन्तुबाट जनधनको क्षति रोक्ने सोलार फेन्सिङ जडान र बीचमा पर्ने पुल तथा कल्भर्ट, मेची खोलाको झोलुङ्गे पुल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपर जोन लगायतका महत्त्वपूर्ण केन्द्रीय तथा प्रदेश स्तरमा योजना आएको पाइन्छ । सम्पन्न भएका योजनाको श्रेय सत्तापक्षका उम्मेदवारले लिने र अलपत्र अवस्थामा पुर्याएका योजनाहरूको दोष सत्ता बाहिरका उम्मेदवारलाई लगाउने जुहारीबाट कचनकवल पनि अछुतो रहेको पाइएन । यसको उचित मूल्याङ्कन जनताले प्रमाणका आधारमा पक्कै गर्लान् ।
झापाको कर्णालीका रुपमा चिनिने भद्रपुरको तल्लो भाग र समग्र कचनकवलले सङ्घीयतासहित संविधान र संविधान सहितको अधिकारको अवसर स्थानीय तहको निर्वाचन २०७४ ले यहाँका मुख्य राजनीतिक दल नेकपा एमाले, राप्रपा, काँग्रेस र माओवादी मध्येका दलहरूका बीचबाट जनप्रतिनिधि जनताले चुनी पठाइरहँदा कसले कति इमान्दारीता पूरा गरे त्यो पक्कै यहाँका असल मतदाताले २०७९ को स्थानीय तह निर्वाचनमा हिसाबकिताब गर्नेछन् ।
दोस्रो स्थानीय तह निर्वाचन यही बैशाख ३० गते सम्पन्न गर्न व्यग्र प्रतीक्षामा रहेका आम कचनकवलका मतदाताहरूले अध्यक्ष पदका ८ जना उम्मेदवार, उपाध्यक्ष पदका ५ जना उम्मेदवार, वडा अध्यक्ष पदका ३९ जना उम्मेदवार ,दलित महिला सदस्य पदका २२ जना उम्मेदवार, महिला सदस्य पदका ३० जना उम्मेदवार र खुल्ला सदस्य पदका ६५ जना उम्मेदवार उठेका छन् । त्यस मध्ये कोही दोहोरिएर त कोही विशुद्ध नयाँ अनुहार र युवा जोसका साथ सातै वटा वडाहरूबाट आआफ्नो दल र चुनाव चिन्हसहित घरदैलोमा उम्मेदवारी लिएर पुगिसकेका छन् । कृषिमा आधुनिकीकरण र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, नेपालकै होचो भू–भाग केचनाकवललाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बिन्दु बनाउनुका साथै शिक्षा र स्वास्थ्यको निःशुल्क विज्ञापनका साथै भ्रष्टाचार र बेथिति विरुद्धको राष्ट्रिय नारालाई के कति पूरा गरेको पाए राष्ट्रिय तथ्याङ्क अनुसार कचनकवलका आम नागरिकले त्यसलाई देखाउन र सुधार्ने महत्त्वपूर्ण समयका लागि ७ वटै वडाका १८ वर्ष उमेर पूरा गरेका जम्मा ३० हजार २२१ मतदाताले साँच्चिकै व्यवहारमा लागू गराई संवृद्ध कचनकवलको निर्माणमा कहीँ कतै दायाँबायाँ कुराबाट प्रभावित नभई गोप्य मताधिकारको प्रयोग गरी सक्षम, ऊर्जाशील, थोरै बोल्ने धेरै कार्य गरी ट्रान्सपरेन्सी ईन्टरनेशनलको तथ्याङ्कमा भ्रष्टाचार शून्य प्रतिशतमा झार्ने नेतृत्वको छनौटमा गम्भीर अहिले नबने कहिले बन्ने ?
जबसम्म नागरिकको चेतना स्तर उठाउन सकिन्न तबसम्म समुन्नत समाजको परिकल्पना असम्भव छ । त्यसैले विगतको समीक्षा र वर्तमान आवश्यकतालाई मध्यनजर गरी चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवारको घरदैलोमा गरिएका दाबी र मुख्य राजनीतिक दलको जीतको दाबी र आधार समग्रमा यस्तो पाइन्छ ।
नेपाली काँग्रेस : स्थानीय निर्वाचन २०७४ अनुसार हाल चुनावी तालमेल गर्दाको काँग्रेसको ५३५३ मत र एमालेको ३९७२ मतलाई हिसाब गर्दा अध्यक्षका उम्मेदवारले ९३२५ मत कायम रहनु पर्ने हो । काँग्रेस र एमालेभित्रै अन्तर्घात नभएको खण्डमा । धान सुपरजोनलाई यहाँबाट विस्थापन र इँटा जोनमा परिणत गराउनेहरूलाई कृषकले गतिलो झापड दिने जानकारहरू बताउँछन् । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारका क्षेत्रमा सरकारले कार्यविधि बनाएर संस्थागत भ्रष्टाचार र व्यभिचार प्रस्तुत गरेको गम्भीर प्रश्न उठेको पाइन्छ । रोजगारीका अवसरहरूमा राम्रालाई होइन हाम्रालाई खुल्ला रुपमा लागू गरेको उदाहरण जनमास छ ।
माओवादी केन्द्र : सङ्घीयताको जन्मदाता भएकाले कृषिमा आधुनिकीकरण गरी उत्पादनमा स्वदेशमै आत्मनिर्भर अर्थतन्त्रको विकास, शिक्षालाई स्नातकोत्तर सम्मको स्तर वृद्धि र निःशुल्क माध्यमिक तह सम्मको शिक्षामा सबै विद्यालयमा समानता कायम गर्ने प्रतिबद्धता गरेको पाइन्छ । सक्षम युवालाई कचनकवलका समग्र वडाहरूको सेवकको जिम्मेवारी प्रदान गरी जनताको घरदैलोमा मुख्य विषयका सम्पूर्ण सेवाका लागि उम्मेदवार बनाइएको बताइन्छ ।
एमाले : संवृद्ध कचनकवल बनाउन कृषिमा आधुनिकीकरणका कार्यक्रममा सबैभन्दा इमानदार, अनुभवी र जनताको सेवक उम्मेदवारलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।
राप्रपा : स्थानीय सरकार सञ्चालनका अनुभवका साथै जनताको प्रयोगशालाबाट परीक्षण भइसकेकाले, इमानदार नेता र कार्यकर्ताको भ्रष्टाचारमा शून्य सहनशीलताको सकारात्मक परीक्षणको परिणामलाई तालमेलले कुनै फरक नपर्नेमा विश्वस्त छ ।
नेपाली काँग्रेस, एमाले र माओवादीका उम्मेदवारहरूमा सत्ताको राप तापको राम्रा नराम्रा असरहरू मतदाताले वडा स्तरमा नदेखाए पनि मतदाताले आगामी भविष्यको आशा भरोसाको केन्द्रका रुपमा अध्यक्ष, उपाध्यक्ष , वडाध्यक्षमा स्वीकार गर्नु नगर्नुमा उम्मेदवारको व्यक्तिगत पक्षले निकै महत्त्वपूर्ण स्थान लिने निश्चित देखिन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारीका अवसरहरूमा तत्कालीन सरकारले देखाएको सौतेनी व्यवहारका कारण सत्ता साझेदार पक्षले गम्भीरतापूर्वक विगतलाई समीक्षा गर्नुको विकल्प छैन । भने धार्मिक नारा र रुद्राक्ष मालाको पहिरन र धारणले स्वयमलाई नैतिकताको प्रश्न उब्जने गरेको पाइन्छ । आदिवासी÷जनजाति ,खस–आर्य, मुस्लिम, सीमान्तकृत अवस्थाका गरिब विपन्न वर्गका नागरिकको वास्तविक सेवकहरू नै वास्तविक रुपमा साक्षात् भगवान् हुन त्यसर्थ अन्दाजी जम्मा मतदाताको ७०५ उपस्थिति बनाउने अवस्था सृजनाका साथै १५५ भन्दा कम मत बदरको अवस्था ल्याउनु सबै दल र उम्मेदवारका साथै नागरिक समाजको वर्तमान नैतिक दायित्व पनि रहेकाले सबै सचेत बनाई शतप्रतिशत मतदानमा सहभागी गराऊँ विजयको शुभकामना ।
लेखक : शिक्षक, समाजसेवी र विश्लेषक हुन ।