२०८१ पौष २९ गते , सोमबार
बाल्यकालमा हारेको एउटा बाजी
रमेश ढकाल । एउटा राजनीतिक दलका नेताले आफू असल देखिनका लागि अर्को दलका नेतालाई आरोप प्रत्यारोप तथा गालीगलौज गरेको सुन्दा मलाई मेरा बाल सखा जीवन पोख्रेलले ३–४ कक्षा तिर पढ्दा हुनुपर्छ आफ्नो कपीमा पेन्सिलले एउटा धर्को तानेर देखाउँदै, रमेश यो धर्कोलाई नछोईकन याने कुनै प्रकारले केरमेट नगरीकन छोटो बनाएर देखाउन सक्छौ ? भनेर प्रश्न गरेको याद आउँछ । मलाई सम्झना छ, प्रश्न सुनेर मैले तुरुन्तै उनलाई भनेको थिए, यो लाइनलाई नछोईकन त कसरी छोटो पार्न सक्नु’र ? यस्तो काम मैले मात्र हैन, राजाले पनि गरेर देखाउन सक्दैनन् ।
केटाकेटीमा साथीहरूले अलिक असम्भव लाग्ने खाले कुराहरू गर्न वा गरेर देखाउन भन्दा त्यतिखेर एउटा हाम्रो प्रचलित भनाई हुने गर्थ्यो “यस्तो त राजाले पनि गरेर देखाउन सक्दैन ।“ यस्तो कुरा सम्झँदा अहिले पनि हाँसो लाग्छ, शायद यहाँहरूलाई पनि लाग्दो हो । तर यसले एउटा कुरा चाहिँ स्पष्ट बनाउँछ त्यो के भने त्यतिखेर हाम्रा देशका राजालाई त्यो रुपमा हेरिन्थ्यो जसका लागि असम्भव केही पनि हुँदैन भन्ने बुझाई थियो । राजाले जे पनि गर्न सक्छन् । राजाका लागि असम्भव केही पनि हुँदैन । हर कोहीले गर्न नसकेको काम राजाले चाहिँ गरेर देखाउन सक्छन् भन्ने एउटा आम बुझाई थियो । हुन पनि त्यतिखेरका राजा देशको नियम कानुन भन्दा पनि माथि हुने गर्थे । उनीहरूलाई देशको कुनै कानुनले छुँदैन थियो । उनीहरू आफ्नो इच्छा अनुसार जे पनि गर्न सक्थे ।
अब अहिले राजा रहेनन् । देश गणतन्त्रमा प्रवेश गरेको छ । अहिलेको संविधानले देशको कानुन भन्दा माथि रहने छुट कसैलाई पनि दिएको छैन भलै यो कुरा राजनीतिक दलका नेताहरूमा भने खासै लागू हुँदैन । हुन त संविधानमा देशका हरेक व्यक्तिलाई सम्मान पूर्वक बाँच्न पाउने अधिकार छ भनेर पनि उल्लेख गरिएको छ, तर यो अधिकार तल्लो वर्गका अधिकांश निमुखा नागरिकहरूले अझै सम्म महसुस गर्न पाएका छैनन्, जुन कुरा एउटा अलग्गै बहसको विषय बन्न सक्छ ।
खैर, अब हामी सुरुकै प्रसङ्ग तिर फर्कियौ । अतः साथीले मेरो कुरा सुने पछि भने – तिमी साँच्चै यो धर्को लाई नछोईकन छोटो पार्न सक्दैनौँ त ? लु त्यसो हो भने बाजि ठोक, म यो धर्कोलाई तिम्रो आँखा अगाडि नै नछोईकन छोटो पारेर देखाइ दिन सक्छु । अब त्यतिखेरको बेलामा बाजि लगाउनका लागि हामी सँग के नै पो हुन्थ्यो’र ? उनले कापीको दुइटा चोखो पन्ना, मागे । मैले लु यो धर्कोलाई नछोईकन छोटो पारेर देखायौ भने म तिमीलाई दुइटा होइन कापीको एउटा चोखो पन्ना चाहिँ पक्का दिन्छु, तर पहिला यो धर्कोलाई छोटो पारेर देखाऊ । त्यो बेला यसरी हामी दुई बिचमा एउटा डिल तय भयो ।
कापीको एउटा चोखो पना दिने सर्तमा डिल तय भए सँगै, उनले तुरुन्तै त्यही लाइनको सामुन्ने अर्को अलिक लामो लाइन तानेर, लु हेर त, अब यो पहिलाको लाइन छोटो भयो, भनेर मलाई देखाई दिए । नभन्दै उनले, साँच्चै नै पहिला कोरेको लाइनलाई नछोईकन नै उक्त लाइनलाई छोटो पारेर देखाइ दिए । म हेरेको हेरै भए र आफ्नो हार स्वीकार गर्दै उनलाई आफ्नो कापी बाट एउटा चोखो पन्ना छुट्टाएर दिए ।
मेरो बाल चेतनाले पेन्सिलले कोरेको एउटा धर्कोको सामुन्ने अर्को अलिक लामो धर्को तानेर पहिला कोरिएको धर्को लाई नछोईकन छोटो बनाउन सकिने त्यो प्रक्रियालाई त्यतिखेर एक छिनको एउटा रोचक खेल जस्तो मात्र मानेर बिर्सी दिएको थियो । त्यतिखेरको बाल चेतनाले यस्तो विषयको गहनतालाई बुझेर विश्लेषण गर्ने सम्भावना हुने कुरा पनि भएन ।
तर अहिले आएर ज्ञात भयो, पेन्सिलले कोरेको एउटा धर्कोको सामुन्ने अर्को उस्तै लामो धर्को कोरेर पहिला कोरिएको धर्कोलाई कुनै छेडिछाड् नगरी कन नै त्यसलाई छोटो बनाउन सकिने कुरा बाल्यकालमा मैले बुझे जस्तो एउटा रोचक खेल मात्र नभएर हामी मनुष्यको सिङ्गो जीवनलाई मार्गदर्शन गर्ने एउटा सूत्र रहेछ । जुन सूत्रले तपाईँ हामीलाई आफूलाई लायक साबित गर्न अर्कोलाई नालायक सिद्ध गर्नु पर्दैन, बस आफू लायक बनिदिए पुग्छ भन्ने कुराको शिक्षा दिने रहेछ ।
तर दुःख लाग्दो कुरा, यति सामान्य कुरालाई हाम्रा राजनीतिक दलका ठुला ठुला नेता तथा तिनका कार्यकर्ताहरूले बुझ्न नसकेर आफूलाई उत्कृष्ट साबित गर्न कै लागि अत्यन्तै निकृष्ट गालीगलौजमा उत्रिएको देख्दा भने अचम्म लागेर आउँछ। आफूलाई उत्कृष्ट साबित गर्न, आफूले उत्कृष्ट काम गरेर देखाउन सक्नु पर्छ, अरूलाई निकृष्ट देखाउन आवश्यक छैन भन्ने कुराको चेत हाम्रो देशका नेता तथा तिनका कार्यकर्ताहरूमा चाँडै पलाउन सकोस्।
रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)