२०८० मंसीर २० गते , बुधबार
गणतन्त्र मुलुकमा राजसंस्था फर्काउन लिङ्देनको उदय

निश्चल दाहाल । आधुनिक नेपाललाई नियाल्दा २५ सेप्टेम्बर १९६८ देखि राजसंस्थाको उदय देखिन्छ भने शाब्दिक रुपमा यसको अन्त्य २००८ मे २८ मा भयो ।जब लोकतन्त्र र गणतन्त्र भनी देसलाई नामाङ्कित गरियो। परिवर्तन आवश्यक हुन्छ नै तर, त्यो सकारात्मक नतिजाको अपेक्षा सहित गरिन्छ । दुई दशकको वयस्क गणतन्त्रको फाइदा र बेफाइदा केलाएर हेर्ने एक जमात बहुमत बोकेर बसेको छ।
गणतन्त्र, जनताको तन्त्र हो, यसमा जनताद्वारा चुनिएर जनताको नेतृत्व गर्न पाइने व्यवस्था हुन्छ, स्मरणरहोस् नेतृत्व भन्ने शब्दको । नेतृत्व गर्नु र राज गर्नुमा भिन्नता छ। नेपाली सन्दर्भमा जनताको बिचबाट भन्ने झुटको साथ, जनतामाथि राज गर्ने तन्त्र भएको स्पष्ट देखिएको छ।
गणतन्त्र र राजसंस्थामा अभिमत फरक तवरले आउनु स्वाभाविक नै हो, तर नेपाली माटो सुहाउँदो सिस्टम कुन होला त ? विगत भन्दा विकसित देश अवश्य छ नै तर त्यो विकासको औसत हेरेर मूल्याङ्कन कहिले गरिएन। के गणतन्त्रको प्राप्तिपछि विकासको मूल फुटे त ? यसो गरौँ, विकास के हो ? पहिले त्यो हेरौँ ? बाटो , बिजुली, पानी , सरकारी भवनहरू, ठुला-घर मात्र विकास हुन त ? सामाजिक सुरक्षा विकास हो जसले स्वास्थ्य, शिक्षा र मानसिकतालाई समेटेको हुन्छ माथि उल्लेख गरेकाहरूसँगै।
नेपालको विकासको क्रम हेर्दा अझ पनि वीर अस्पताल, बिपी मेमोरियल अस्पताल, गङ्गालाल अस्पताल नेपालका प्रमुख अस्पताल हुन, त्रिभुवन विश्वविद्यालय र यसका हाँगा नै शिक्षा क्षेत्रका धरोहर छन्, नयाँ उद्योग धन्दा देखिएका छैनन्, एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल नै छ । राजमार्ग राजाको प्रत्यक्ष शासनकालमा बनेका नै प्रचलित र अत्यावश्यक छन्। बरु विकास भएको छ त राजनीतिक अस्थिरता र विचलनको।
इतिहास हामी नकार्न सक्दैनौ, स्वतन्त्रताको नाममा सबैले अधिकार पाउने कुरामा र पहिचानको सवालमा नेपाल कहिल्यै राज्य व्यवस्थाको कारण हेपाइमा परेको हैन, यो त व्यवस्था बदल्न वैदेशिक सहजताको लागि उठाइएका परिवर्तनका नाराहरू मात्र थिए। एकीकरणपछि सिङ्गो नेपाल बने पश्चात् स्वाभाविक रूपले आफ्नो सृजनाको माया हुन्छ त्यो निरन्तरताको पुस्तालाई भनेर हामी बुझ्न सक्छौ। एकीकरण त शाह वंशले नै गरेका हुन नि!
राष्ट्रियता र स्वाभिमानको विषयमा हामी अहिले पनि हेर्न सक्छौ, राजसंस्था हुँदा हामीले पाएको इज्जत र हालको सामान्य तर्क गरौँ न, म मेरो घर सबल बनाउन सक्दा मात्र आफू समृद्ध हुन सक्छु। एक राजाको घर समग्र देश हो, देश समृद्ध हुँदा मात्र राजा समृद्ध हुने हुन। राजा समृद्ध हुन नचाहाइन त !
जर्मनीका मार्क्स , चीनका मावो, रसियाका लेनिनले प्रतिपादन गरेको सिद्धान्त नेपाली माटो सुहाउँदो अवश्य हुन्न, नेपालमा प्रतिपादित सिद्धान्त (भलै वैदेशिक सिद्धान्तको आधारमा बनेको होस), बिपीको समाजवाद, भण्डारीको जब, यिनीहरूले केही नेपाली आवश्यकता समेटेको छ तर स्मरणरहोस् यी दुई दिग्गजहरूले पनि राजसंस्था विहीनको परिवर्तन परिकल्पना गरेका थिएनन्।
अखण्ड नेपाल १४७१८१ वर्ग किमीको, भारतका कैयन प्रान्त भन्दा सानो छ, यसलाई विभाजित गरेर आउने प्रशासकीय खर्च हामीले धान्न सकेका छौ त ? जिम्मेवारी र संस्थागत विकेन्द्रीकरण त पाँच विकासक्षेत्र , १४ अञ्चल ७५ जिल्ला हुँदै गरिएको थियो नि। विकास भएको छ भने अन्तर्राष्ट्रिय मुद्रासँग नेपाली मुद्रा दाजौ त, डलरले हामीलाई कहाँ छोड्यो, जापानी येन भन्दा हामी महँगा थियौ अहिले कहाँ छौ ? समृद्धिको अर्को मापन के हुन सक्छ ?
राजालाई सामन्ती भनेर मञ्चमा उफ्रिरहँदा यो भुल्न हुन्न, हामीले सामन्तवादको विकास यो तन्त्र परिवर्तन पछि गरेका छौ, हजारौँ नव राजा जन्माएर। राजा वीरेन्द्रको वंश नास पश्चात् राजसंस्थामा कालो मडारिन सुरु भएको हो तर त्यो ट्रान्जिसन हामीले अभिभावक विहीनतालाई स्विकारेर गर्यौ।
अब, कुरा गरौँ राजेन्द्र लिङ्देनको, उनको उदय नेपालको लागि के हुन सक्ला ? नेपालले परिवर्तनको लागि कहिल्यै हिचकिचाएको छैन, कुनै सिस्टम जनता सुहाउदिलो छैन त जनता नयाँ पद्धति हेर्न हिच्किचाउदैनन पनि। सीमित राजनैतिकदलका नेतृत्वको स्कुलिङलाई आधार मानेर गुम्राहमा राखेर यो व्यवस्था ठिक छ भनी रहँदा रिजल्ट न आएपछि जनताले विवेक प्रयोग गर्छन् नै। वयस्क गणतान्त्रिक नेपालको वर्तमानमा, राजसंस्था र हिन्दु राज्यको सैद्धान्तिक आधार बोकेको राप्रपाले देशको राजनीतिक माहौलमा हलचल ल्यायो, त्यो हलचल थियो राजेन्द्रप्रसाद लिङ्देनको उदय।
भ्रष्टाचारका खुँखार विरोधी, उदारवादी, मध्यम वर्गीय परिवारका लिङ्देन, संवैधानिक राजसंस्था, हिन्दुराज्य नेपालको परिकल्पना गरेर अगाडि बढेका छन्। अघिल्लो सेन्ससले ८१ प्रतिशत हिन्दु भएका नेपाल, बुद्धको जन्मभूमि, किरात आदि धर्मका इतिहास भएको नेपाललाई धार्मिक रुपमा मात्र नभएर, समग्र देश नै बिस्तारवादी कृष्चियन मिसिनरी पद्धतिबाट खतरामा रहेको ठम्याउँछन्। ती हिन्दु आस्थावादीको बहुमत रहेको नेपालका धर्मगुरुहरू, पण्डितहरू आज लिम्बुको छोरासँग हातेमालो गरी बढ्दैछन्। यो लिङ्देनको इमानदारिताको नतिजा हो भन्न सकिन्छ।
संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समानुपातिक संसद् हुनु पर्ने मान्यता बोक्ने लिङ्देनले सामन्तवादी धार न देखाएका छन् न बोलेका नै। उनको उदय राजसंस्था पुनः स्थापनाको लागि कोषेढुङ्गा साबित हुन सक्छ। राजा देशको अभिभावक हुन, संरक्षक हुन, हिन्दुत्व पहिचान र गौरव हो भन्ने लिङ्देनले जनता नै कार्यकारी रहने पद्धतिको खाका कोरेका छन्। देशमा सङ्कट हुँदा शिर फर्काउने नेतृत्व हैन, निर्णायक भूमिका खेल्ने अभिभावक राजा नै हुन सक्छन् र त्यो राजा पृथ्वीनारायण शाहका वंश नै हुन पर्छ भन्ने आधार वास्तवमा सर्हानिय देखिन्छ। आखिर सिर्जेको त त्यही वंशले हो नि यो अखण्ड नेपाल।
सत्तासमीकरण, गठबन्धन, विघटन, नाङ्गो बेइज्जती राजनीति अभिभावक विहीनताको नतिजा हो। राजेन्द्र लिङ्देन एकताको प्रतीक भएर बढ्दैछ । उनी बाल्यावस्थामा नै छन् नेतृत्वको, समयले देखाउँछ उपलब्धि निरन्तरता पश्चात् , त्यसमा कति अब्बल उत्रने होलान् त्यो हेर्नै छ तर उनको उदय गणतन्त्रको लागि भने खतराको घण्टी बजाउँदै आएको सत्य नकार्न भने सकिन्न।
राजेन्द्र लिङ्देनलाइ अहिले देवत्वकरण गरेर हैन, सुझाव सल्लाह सहित परिवर्तन चाहने मूल्याङ्कन बहुमतीय जमातको साथ हुने सम्भावना प्रचुर भने देखिँदै छ।