२०८१ बैशाख ७ गते , शुक्रबार

मोमेन्टो गार्मेन्टलाई विदेशी लगानीको सहारा, बन्द उद्योग एक दशकपछि खोल्ने तयारी

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २६ गते , आईतबार
मोमेन्टो गार्मेन्टलाई विदेशी लगानीको सहारा, बन्द उद्योग एक दशकपछि खोल्ने तयारी

भद्रपुर । चरम आर्थिक संकटको कारण देखाउँदै बन्द गरिएको झापा भद्रपुरको तयारी पोसाक (गार्मेन्ट) उत्पादक उद्योग मोमेन्टो एपेरियल्स प्रालि एक दशकपछि पुन: सञ्चालन गर्ने तयारी भइरहेको छ । देशकै ठूलो तयारी पोसाक उत्पादन उद्योगका रुपमा पहिचान बनाएको उद्योग एक विदेशी उद्योगी संस्थासँगको साझेदारीमा पुन: सञ्चालनमा आउन लागेको हो ।

उद्योगमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालको एकल स्वामित्व थियो । १७ वर्षअघि ढकालले उक्त उद्योगको सम्पत्ति धितो राखेर बैंकबाट २९ करोड रुपैयाँ ऋण लिएका थिए । उक्त ऋणको साँवाब्याज र हर्जानासहित करिब २ अर्ब रुपैयाँ तिर्न बाँकी छ । ऋण नतिरेपछि ढकाललाई बैंकले कालोसूचीमा राखिसकेको छ ।

अब भने उद्योग पर्फेक्ट इन्ड्रस्टिज ग्रुप होल्डिङ लिमिटेडसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको ढकालले जानकारी दिए । आगामी वैशाखदेखि उद्योग सुरु गरिने जनाइएको छ । पर्फेक्ट इन्ड्रस्टिजले यूएई, साउदी र भारतका विभिन्न उद्योगमा लगानी गरेको छ । मोमेन्टो गार्मेन्टलाई सञ्चालनका लागि उसले दुई वर्षदेखि सम्भाव्यता अध्ययन गरिरहेको थियो ।

मोमेन्टोमा लगानीका लागि विदेशी लगानीकर्तासँग दुई चरणमा भर्चुअल छलफल भइसकेको छ । कुन मोडालिटीमा जाने भन्नेबारे छलफल भएको हो । गत साउनमा पर्फेक्टका कार्यकारी अध्यक्ष थोमस नेपाल आएका थिए । उनले ढकाल र राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठलाई भेटेका थिए । मोमेन्टोमा लगानी गर्ने उद्देश्यकै साथ थोमस तीन पटक नेपाल आइसकेका छन् । ‘सम्भवतस् ६०-४० या आधा–आधा यीमध्ये एक विकल्प रोजिनेछ,’ ढकालले भने, ‘युरोपतिर पनि पर्फेक्ट इन्ड्रस्टिजको लगानी छ, त्यतैबाट लगानी भित्र्याउने हाम्रो योजना हो । लगानीका लागि बैंकिङ प्रक्रिया सुरु भइसकेको छ । यो सकिनेबित्तिकै उद्योग सुरु गर्नेछौं ।’

लगानी प्रक्रियालगत्तै नयाँ शिराबाट उद्योग पुनस् सञ्चालन हुने उनले जनाए । बढ्दो व्यापार घाटा र बारम्बारको मजदुर आन्दोलन थेग्न गाह्रो भएको भन्दै २०६९ साउनदेखि व्यवस्थापन पक्षले उद्योग बन्द गराएको थियो । २०५२ सालमा स्थापित एपेरियल्सले स्थापनाकालदेखि नै अमेरिका र युरोपका विभिन्न मुलुकमा तयारी पोसाक निर्यात गर्दै आएको थियो । पछिल्लो समय भने निर्यात खुम्चिएर भारतमा मात्रै सीमित थियो ।

उद्योगी ढकालका अनुसार उद्योग पुनस् सञ्चालनका लागि करिब एक अर्ब रुपैयाँ खर्च हुन सक्ने अनुमान छ । त्यसमध्ये करिब ५० करोड जति विदेशी लगानी भित्र्याउने उनको योजना छ । ‘करिब एक अर्ब जति जुट्यो भने उद्योगले नयाँ जीवन पाउनेछ,’ ढकालले भने, ‘यही रकमबाट बैंकको ऋणसमेत चुक्ता गर्ने योजना छ ।’

लामो समयदेखि बन्द रहेका कारण उद्योगका धेरैजसो मेसिनरी सामान बिग्रिएर काम नलाग्ने अवस्थामा छन् । ‘केही नयाँ मेसिन थप्नुपर्ने र केही सामान्य मर्मत गर्दा हुन्छ,’ ढकालले भने । मोमेन्टो एपेरियल्स प्रालि भएको चण्डीराजको सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकको नाममा छ । १७ वर्षअघि चण्डीराजले उक्त सम्पत्ति धितो राखेर बैंकबाट २९ करोड रुपैयाँ ऋण लिएका थिए । उक्त ऋणको साँवा र ब्याज अहिलेसम्म तिरिएको छैन । साँवा ब्याज र हर्जानासहित करिब २ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिन्छ । ऋण नतिरेपछि ढकाललाई बैंकले कालोसूचीमा राखेको हो । बैंकले पटक–पटक ऋण तिर्न ताकेता गर्दा पनि उनले ऋण नतिरेपछि कानुनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको थियो ।

उक्त सम्पत्ति फुकुवा हुन बैंकको ऋण तिर्नुपर्छ । धेरै वर्ष पुरानो ऋण भएकाले एउटा मोडालिटी बनाएर यसको सेटलमेन्ट प्रक्रिया अघि बढाउनुपर्ने वाणिज्य बैंकले जनाएको छ । उद्योगमा सुरुका दिनमा ३ हजारभन्दा बढी श्रमिक थिए । करिब ३ सय विदेशी श्रमिक नै थिए । विभिन्न आन्दोलनका कारण उद्योगले श्रमिक कटौती गरेको थियो । बन्द हुनुअघि दुई सय हाराहारीमा श्रमिक कार्यरत थिए । आजको कान्तिपुरमा खबर छ । 

सम्बन्धित समाचार