मर्यादाहीन नेता : राजनीतिमा सधैँ ग्रहण
–राजबाबु शंकर
व्यक्ति वा समाज लज्जाहीन र मर्यादारहित हुन सक्दैन । त्यो स्थिति भनेको प्रकृतिविपरीत पनि हो । प्रश्न होला – ‘लज्जा’ प्रकृति हो कि सभ्यताको विकासको क्रममा मानिसले अपनाएको प्रवृत्ति ? तर, यो प्राकृतिक गुणविशेष सभ्यता हो । लाजको मात्रा वा भनौं सीमा चारित्रिक मर्यादा पनि हो ।
सबै व्यक्ति, पेशा, सेवा र व्यवसायको मर्यादा हुन्छ भने राजनीतिको पनि स्वाभाविक रूपमा मर्यादा हुने हुन्छ । राजनीति पनि हाम्रै समाजको जनसेवाजन्य एउटा शीर्ष नीति भएकोले त्यो नीतिमा लाज नहुने भन्ने झन हुँदै हुँदैन । यसै पनि ‘राजनीति’लाई सबै नीतिको मुख्य नीति भनिन्छ । यस परिप्रेक्ष्यमा अहिलेको नेपाली राजनीति कति लज्जायुक्त वा मर्यादित छ त ? अहिलेको सवाल यही हो ।
बडो अफशोचका साथ भन्नै पर्दछ– हाम्रो देशमा भने लज्जारहित वा मर्यादाहीन राजनीतिको सिलसिला अविराम चल्दै आएको छ । र, नेपालको राजनीतिमा हुर्कदै गरेको यस्तो दुष्प्रवृत्ति शीघ्र रोकिने छाँट पनि हैन । हाम्रो देशमा राजनीतिलाई कमाइखाने भाँडो र अर्थिक हैसियत उकास्ने सिँढी सोचियो । परिणाम हामी सबैको सामुन्ने छ– कुनै औपचारिक एवम् वैधानिक पेशा नगरिकनै ठूलो आर्थिक हैसियत बनाएका नेता पघिता भइसकेका छन् । के राजनीति कमाइखाने पेशा हो ? राजनीति व्यापार–व्यवसाय हो ?
अर्कातर्फ, कार्यकारी पदअनुसारको कार्यक्षमता अभावकै कारण य्रो देशमा लोकतन्त्र केवल राजनीतिक स्वतन्त्रता मात्रैमा स्थिर छ । यस मानेमा हामीकहाँ राजनीति केही सय व्यक्ति वा अनेकन् समूहको लोभ, स्वार्थ, प्रभुत्व र मनोमानीपनको बन्धक भएको छ । राजनीतिक संगठनमा लागेपछि जे पनि गर्ने अधिकार हुन्छ तथा हैसियत हुन्छ भन्ने ढंगले कार्यशैलीहरू विकास गरिंदा राजनीतिक संस्कृति, संस्कार, मूल्य र मान्यता पूरै मर्यादाहीन भएका हुन् । राजनीतिमा लाग्नेहरूको छवि धुमिल छ । राजनीतिमा अत्यावश्यक मर्यादा वा लाज बचाउन नसक्दाको परिणति हो त्यो ।
राजनीतिमा गरिमाको कमीको कारण यो पनि हो कि बौद्धिक उन्नयन र कुनै राजनीतिक दलमा नेताहरूको सैद्धान्तिक चरित्र प्रशिक्षणका लागि कुनै प्रणाली छैन । षडयन्त्र, कपट, द्वेष, भ्रष्टाचार र अराजकता– जुन नेपाली राजनीतिको व्यसन बनेको छ, त्यही नै सर्वथा पतनको भयावह वास्तविकता हो । राजनीतिक नेतृत्वको व्यवहार र कार्यसंस्कृति नै सबैथोक हो भन्ने खालको परम्परा नेपालको राजनीतिमा जुन बसालियो, त्यो नै आत्मघाती सिद्ध हुँदैछ । जबकि आर्थिक सुविधा, सामाजिक अवसर, पारदर्शिता र सुरक्षा बिनाको राजनीतिक स्वतन्त्रताले जनतालाई लाभ दिंदैन, दिएको छैन । नेतालाई मात्रै राज्यका स्रोत साधनको अतिशय दोहनको अवसर दिइरहेको छ ।
नोबेल पुरस्कृत अमत्र्य सेनको पुस्तक ‘डेभलपमेन्ट एज फ्रीडम’मा स्वतन्त्रताका प्रमुख ५ औजारबारे उल्लेख गरिएको छ– राजनीतिक स्वतन्त्रता, आर्थिक सुविधा, सामाजिक अवसर, पारदर्शिताको सुनिश्चितता र सुरक्षाको ग्यारेन्टी । सेनले वास्तविक राजनीतिक स्वतन्त्रता प्राप्त हुन यी ५ तत्वलाई प्राथमिकतापूर्ण शर्त मानेका छन् । तर, के तीमध्ये मुश्किलले कुनै एक सुविधा नेपालीजनको भागमा परेको छ त ?
हाल अरू दलको टेकोमा सरकारमा बहाल शेरबहादुर देउवाको नेतृत्व पनि मर्यादाको सवालमा फेरि एकपटक चुक्न बेशरम भएर उद्यत छ । गठबन्धनका अन्य दललाई कम आँक्ने र देश एवम् जनघाती अमेरिकी कथित परियोजना एमसीसी पारित गर्न उनले गरिरहेको चलखेल घोर निन्दनीय र भत्र्सना गर्नै पर्ने प्रकरण बनिरहेको छ । अर्थात्, यो कृत्य पनि लज्जाहीन राजनीतिकै एउटा अर्को अध्याय बन्ने चरणमा छ ! र, अझै पनि यस्तो लज्जाहीन राजनीति अबउसो कहिलेसम्मन् जारी नै रहने हो, भन्न सकिने अवस्था छँदै छैन ।
समग्रमा नेपालका राजनीतिक दलहरूले आफ्नै सिद्धान्तको मर्यादा राखेका हैनन् । राजनीति गर्नेहरूको लाज भनेकै सिद्धान्तको मर्यादा कायम राख्नुमा निहीत हुन्छ । तर, नेपाली राजनीतिले त्यो यात्राको गोरेटोसम्म कोर्न नसकेको आभाष आम जनमनमा भइरहँदा राजमार्गको निर्माण होला भन्ठान्नु त कल्पनातीत नै हुन जान्छ । नेपाली राजनीतिको लाज जोगाउन र मर्यादा बहाल गराउन इमानी शासन, पारदर्शी प्रशासन प्रणाली, सरकारको आवधिक स्थिरता, सुशासनको स्थायित्व र विकासको जनअपेक्षा काकाकुल बनिरहेको छ । मर्यादाले नै लज्जाहीन राजनीतिमा विराम दिने हो । तर, नेपालको दलीय संस्कृतिमा लागेको यस्तो कालोधब्बा हटाएर सुसंस्कार बसाउन चाहने मति के नेपालका दलाधिपतिहरूमा छ ?— सवाल यही हो, प्रतीक्षा यसैको छ ।