२०७८ आश्विन ७ गते , विहीवार

कोरोना भाइरसको उत्पत्ति र त्यसको अनुसन्धानमा फितलो

कोरोना भाइरसको उत्पत्ति र त्यसको अनुसन्धानमा फितलो :: Times of Pradesh
(लीला आचार्य) । विश्वमा करिब ४३ लाख मानिसको ज्यान लिइसकेको कोभिड १९ले करोडौँ मानिसलाई संक्रमण बनायो । विश्वलाई नै आक्रान्त बनाएको भाइरसले आर्थिक अवस्थामा सयौँ मुलुकहरूलाई दसकौँ पछि धकेलिदिएको छ । कोरोना भाइरसको उत्पत्तिदेखि हालसम्म यसले विभिन्न चरणमा आफ्नो रूपलाई विकास गर्दै लगिरहेको छ । पहिलो, दोस्रो, तेस्रो र चौथो हुँदै कतिपय मुलुकमा पाँचै लहरसम्म देखिएको छ । यसको उत्पत्ति र यसले बारम्बार परिवर्तन गरेको चरणहरूलाई यही कारण हो भनेर विश्वका कोरोना भाइरस सम्बन्धी अनुसन्धानमा लागेका वैज्ञानिकहरूले पनि बताउन सकिरहेका छैनन् । 
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले पनि कोरोना भाइरसको उत्पत्ति र यसको सही समाधान के हो भनेर किटान गरेर हालसम्म कुनै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । यसको दीर्घकालीन समस्या समाधानको लागि विश्वका वैज्ञानिकहरू दिनरात खटिरहेको बेला यसको उत्पत्तिको मुख्य स्रोत रहेको चीनको बुहान प्रान्त भने अब पुरानै दैनिकीमा फर्किएको छ । सन् २०१९को डिसेम्बरमा चीनकै बुहान प्रान्तको एउटा सी फुड बजारबाट उत्पत्ति भएको यो भाइरसको बारेमा चिन सरकारले आजसम्म यथार्थ वास्तविक के हो ? भनेर प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । चीनले कोभिड १९को उत्पत्ति बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनलाई अनुमति नदिने बताइसकेको छ । कुनै पनि राजनीतिक रूपबाट गरिने अनुसन्धानलाई हामी मान्यता दिँदैनौँ चीनका उपविदेशमन्त्री झाओक्सुले भनेका छन् । कोरोना भाइरसको अर्को चरणको अनुसन्धान गर्न फेरि विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रस्तावलाई चीनले फेरि अस्वीकार गरिदियो । 
चीनले कोरोना भाइरसले उत्पत्तिबारे अनुसन्धान गर्न नदिएको विषयमा कतिपय मुलुकले यसको कडा विरोध गरेका छन् । तर चिन सरकार भने विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूसँग परामर्श गरेर मात्र कोभिड को अर्को चरणको अनुसन्धान वैज्ञानिकहरूद्वारा मात्र गर्नुपर्ने अडानमा छ । कोरोना भाइरस बुहानको एक प्रयोगशालाबाट लिक भएको अनुमान पश्चिमा राष्ट्रहरूले लगाइरहेका छन् भने चीनले सो कुराको विरोध जनाउँछ ।
विश्व स्वास्थ्य सङ्गठनको एक विशेषज्ञ टोलीले जनवरी २०२१ मा बुहान आयो र कोरोना भाइरसको उत्पत्ति बुहानबाट नै भएको पत्ता लगायो तर भाइरस कहाँबाट सुरु भयो र फैलियो भन्ने कुरामा विशेषज्ञ टोलीले कुनै कुरा पत्ता लगाउन सकेन । भाइरसको उत्पत्ति र फैलिएको विषयमा अहिलेसम्म चीनले कुनै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । लाखौँ मानिसको मृत्यु भइसक्दा र भाइरस नियन्त्रणमा नआइरहेको बेला पनि चीनले यस विषयमा अनुसन्धान गर्न अनुमति नदिनुले पनि कोरोना भाइरसको उत्पत्तिमा शङ्का गर्ने ठाउँ पर्याप्त रहेको छ । भाइरसको एकपछिको अर्को लहरले विश्वका धेरै विकसित मुलुकहरू पनि आर्थिक सङ्कटको चपेटामा परिसकेका छन् भन्ने अविकसित र विकासोन्मुख देशहरूको अवस्था झन् दयनीय बनेको छ ।
महामारी नियन्त्रणमा आउने कुनै निश्चित समय अहिलेसम्म पत्ता लाग्न सकिरहेको छैन यस्तो विशेष सङ्कटपूर्ण अवस्थामा भाइरसको उत्पत्ति र फैलावटका बारेमा विश्व स्वास्थ्य सङ्गठनले गर्ने गरेका अनुसन्धानमा चीनले अनुमति दिनुपर्नेमा झन् असहयोग गरे जस्तो देखिन्छ । कोरोना भाइरसलाई व्यापारसँग जोडेर हेरिनु हुँदैन । भाइरसविरुद्ध विकास भएका खोपहरू पनि ट्रायल अवस्थामै रहेको र यसको प्रभावकारितामा अझै ठोस् कुनै स्पष्ट धारणा सार्वजनिक भएका छैनन् । भाइरसको उत्पत्ति चीनबाट भएको हुँदा यसको नियन्त्रणमा पनि चीनको महत्त्वपूर्ण भूमिका हुन्छ । तथ्यमा आधारित अनुसन्धान गरिएको भाइरस सम्बन्धीका सम्पूर्ण विषयहरू चिन सरकारले आम नागरिकले बुझ्ने गरी सार्वजनिक गर्नुपर्छ । डब्लूएचओले गर्ने कुनै पनि अनुसन्धानमा अवरोध सिर्जना नगरी स्वतन्त्र हिसाबले अनुसन्धानलाई थप प्रभावकारी तरिकाले अगाडि बढाउन चिन सरकारले अनुमति दिनुपर्छ ।
खोप विकासमा र खोप निर्यातमा मात्र बढी ध्यान दिएर आर्थिक लाभ लिने कुराले मात्र अब कोरोना भाइरस नियन्त्रणमा नआउन सक्छ । कोरोना भाइरसभन्दा अझ बढी खतरनाक अरू कुनै भाइरस फेरि चीनबाट नै उत्पत्ति हुन सक्ने खतरा बढ्दै गइरहेको छ । हालैका दिनमा कोरोना भाइरसले गरिरहेको रूप परिवर्तनले फेरि चीनबाटै अर्को कुनै भाइरसको उत्पत्ति हुने हो कि भन्ने शङ्का पैदा हुन थालेको छ । चीनले अनुसन्धानको विषयमा कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार नहुने चेतावनी दिइसकेको छ । 
यसले कोरोना भाइरस सम्बन्धी गरिने अनुसनधानहरुलाई प्रभाव पार्ने देखिन्छ । कोरोना भाइरसको पाँचौँ लहर सुरु भइसक्दा पनि यसको उत्पत्ति र कसरी फैलियो भन्ने कुरामा अनुसन्धानको अन्तिम तथ्य सार्वजनिक हुन नसक्दा विश्व मानव जगतलाई नै थप चिन्ताको विषय बनेको छ ।
भाइरस मानव निर्मित हो या कुनै जङ्गली जनावरबाट मानिसमा सरेको हो भन्ने तथ्य समेत गर्भमै रहेको छ । यसैको अनुसन्धान गर्न भनी विशेष डाक्टरसहितको टोलीले चिन सरकारसँग अनुमति मागिरहेको छ तर चिन सरकारले यस्तो अनुसन्धानलाई अनुमति नदिने सार्वजनिक गरिरहेको छ । यसले थप शङ्का र कोरोना भाइरस नियन्त्रणमा ठुलो चुनौती पैदा गरिरहेको छ । अनुसन्धानलाई थप प्रभावकारी बनाएर यसको तथ्य पत्ता नलागुन्जेल खोप र भाइरससँग लड्ने औषधिहरू उत्पादनमा पनि थप चुनौतीहरू देखिन सक्नेछ । विश्व स्वास्थ्य सङ्गठनले गर्ने कुनै पनि अनुसन्धानमा बिना अवरोध पारदर्शी ढङ्गले अनुसन्धान कर्ताहरूलाई काम गर्न दिइनुपर्ने देखिन्छ । यदि अवरोध गर्ने हो भने बाँकी दिनहरूमा यस भाइरसका अरू विकास भएका रूपहरूले फेरि विश्वलाई घरायसी बनाउन सक्छ । विश्व स्वास्थ्य सङ्गठन लगायत अमेरिका, बेलायत, जर्मनी जस्ता पश्चिमा राष्ट्रहरूले चीनले अनुसन्धानमा गरेको अवरोधकै कारण कोरोना भाइरसको उत्पत्तिको बारेमा र भाइरस फैलिएको बारेमा ठोस् कुरा पत्ता लगाउन नसकिएको बताएका छन् ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment