२०८३ बैशाख ५ गते , शनिबार

विशेषज्ञ चिकित्सक अभावले मेची अस्पताल ‘रेफरल सेन्टर’ मा सीमित

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २७ गते , बुधबार
विशेषज्ञ चिकित्सक अभावले मेची अस्पताल ‘रेफरल सेन्टर’ मा सीमित

(सुब्रत न्यौपाने) झापा । सरकारले दरबन्दी अनुसारका चिकित्सक व्यवस्थापनमा देखाएको उदासीनताका कारण झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा वर्षौंदेखि जनशक्ति अभाव छ। पर्याप्त जनशक्ति नहुँदा अस्पतालले उपचारका लागि भर्ना भएका बिरामीलाई अपेक्षाकृत सेवा दिन सकिरहेको छैन्। जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा देखिएको अभावका कारण प्रादेशिक अस्पताल ‘रेफरल सेन्टर’ का रुपमा मात्रै सीमित बन्न पुगेको छ।स्थापनाको ४५ वर्ष बितिसक्दा पनि तोकिएको दरवन्दी अनुसारका विशेषज्ञ अस्पतालमा छैनन्।

जनसहभागिताका आधारमा २०३३ सालमा निर्माण भएको मेची अस्पताल पूर्वी नेपालको पुरानो सरकारी स्वास्थ्य प्रतिष्ठान हो।‘इतिहास लामो भए पनि अस्पतालमा सधैँ प्राविधिक जनशक्तिको अभाव हुँदै आएको छ’, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा टंक बाराकोटी भन्छन्, ‘जनशक्ति नहुँदा उपचार सेवामा सकस छ।’मेची अस्पतालमा झापासहित पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलामका बिरामी आउँछन्।

चारवटा जिल्लाको झण्डै ३० लाख जनसंख्यासँग प्रत्यक्ष सरोकार राख्ने अस्पतालमा दैनिक आउने बिरामीको संख्या तीन सय हाराहारीमा छ।वर्सेनि जनसङ्ख्या थपिँदो छ। उपचारका लागि आउने बिरामीको चाप पनि पहिलेको तुलनामा बाक्लो भइसक्यो। तर, सरकारले पहिले तोकेको दरबन्दी अनुसारका चिकित्सक नै व्यवस्थापन गर्न सकेको छैन।‘जनशक्ति व्यवस्थापन र परिचालनमा देखिएको नीतिगत कमजोरीले मेची अस्पताल विशेषज्ञविहीन जस्तै छ’, डाक्टर बाराकोटीले भने। अस्पतालमा छ जना मेडिकल अफिसरको दरबन्दी छ। तर, एकजना मात्रै कार्यरत छन्।

१८ जना विशेषज्ञ डाक्टरको दरबन्दीमा ६ जना मात्रै उपलब्ध छन्। आन्तरिक स्रोतबाट राखिएका केही चिकित्सक र छात्रवृत्ति कोटा अध्ययनमा आएका विद्यार्थीबाट अस्पतालले काम चलाइरहेको छ।अस्पतालमा तीन बेडको आइसीयु छ। १७ वटा भेन्टिलेटर छन्। अस्पतालमा अहिलेसम्म नाक, कान, घाँटी, छाला तथा यौन रोगका विशेषज्ञको प्रवेश भएकै छैन। प्याथोलोजिष्टको काम पनि ल्याब टेक्निसियनले गर्दै आइरहेका छन्।

अस्पतालमा स्त्री तथा प्रसुति रोग, बालरोग, फिजिसियन, नाक कान घाँटी, प्याथोलोजिस्ट, एनेस्थोलोजिस्ट, मानसिक रोग लगायतका विशेषज्ञको अभाव छ। ५० बेडको स्वीकृत क्षमता अनुसार १८ जना नर्सिङ स्टाफ हुनुपर्ने हो। तीमध्ये कतिपय अध्ययन बिदामा छन्। यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

सम्बन्धित समाचार