२०८२ बैशाख ५ गते , शुक्रबार

मेची कोभिड उपचार केन्द्र दुर्गन्धित, फोहोर नउठ्दा बिरामी सुत्ने बेडसम्मै फोहोरको डंगुर

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ६ गते , विहीबार
मेची कोभिड उपचार केन्द्र दुर्गन्धित, फोहोर नउठ्दा बिरामी सुत्ने बेडसम्मै फोहोरको डंगुर

झापा । कोरोना संक्रमितको उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालन गरेको कोभिड अस्पतालमा फोहोर नउठ्दा बिरामीलाई बस्नै समस्या भएको छ । संक्रमितको उपचारस्थलबाट निस्किएका फोहोर अस्पताल प्रशासनले व्यवस्थापन नगर्दा दुर्गन्धित भएको हो । मेची अस्पतालले एक सय बेडको कोभिड अस्पताल सञ्चालन गर्दै आएको छ । 

अस्पतालबाट निस्किएको फोहोर जताततै छरिएको छ । कोभिड अस्पताल सञ्चालन भएको भवनको बाहिरपट्टि सिँढीबाट ढोकासम्मै फोहोरको डंगुर छ । प्रशासनले फोहोर नउठाइदिँदा संक्रमित सुत्ने बेडसम्मै फोहोर पुग्न लागेको छ । जसका कारण बस्नै मुस्किल भएको ताप्लेजुङबाट उपचार गर्न आएकी गीतादेवी पौडेल बताउँछिन् । ‘ताप्लेजुङमा अक्सिजन नभएर उपचारका लागि मेरो श्रीमान् र म यहाँ ९मेची अस्पताल० आएको १० दिन भयो । अहिलेसम्म एकपटक फोहोर उठेको छैन,’ उनले भनिन्, ‘दुर्गन्धले बस्न नसक्ने अवस्था छ । फोहोरका कारण रातभर लामखुट्टे आएर सुत्न पाइँदैन ।’ 

कोभिड अस्पतालको उपचारकक्षको बाहिर ढोकादेखि शौचालयसम्म नै फोहोरै–फोहोर छ । फोहोर गन्हाएर अस्पतालबाट कहिले निस्कनुजस्तो भएको उपचार गराइरहेका भद्रपुर–८ का धर्मेन्द्र राजवंशी बताउँछन् । ‘अस्पतालको फोहोरले त कोरोना होइन, अरू हैजा लागेर मरिन्छ जस्तो छ,’ उनी भन्छन्, ‘अझै यो सफा नगर्ने हो भने हामीलाई झाडापखाला सुरु हुन्छ जस्तो छ । यस्तो पनि अस्पताल हुन्छ ।’ आफ्नो बेड छेउछाउको फोहोर बिरामीले आफैँ सफा गर्ने गरेका छन् । तर, बाहिर लगेर राखिएका फोहोर भने व्यवस्थापन हुन सकेको छैन । ‘हामी पनि बिरामी नै छौँ । तर, आफूले गरेको फोहोर आफैँ सफा गरेर एक ठाउँमा थुपार्छौँ । त्यो ठाउँबाट चाहिँ फोहोर उठ्दै उठेन,’ धर्मेन्द्र भन्छन्, ‘यहाँ एउटा कुचोसम्म छैन । झिँगा भन्किरहेको हुन्छ । अस्पतालले फिनेलसम्म ल्याइदिँदैन ।’

कन्काई नगरपालिकाबाट संक्रमित आमा लिएर आएका केदार लम्साल फोहोर व्यवस्थापन नगरे आफैँ बिरामी पर्ने अवस्थामा पुगेको बताउँछन् । ‘फोहोर जताततै छ । कुरुवा बस्ने ठाउँ छैन । फोहोर भएकै ठाउँबाट हिँडडुल गर्नुपर्छ,’ उनी भन्छन्, ‘मचाहिँ संक्रमित थिइनँ । तर, यहाँबाट निस्कँदा संक्रमित हुने हो कि भन्ने डर लागेको छ ।’ अस्पतालका डाक्टर तथा नर्सहरू बिरामी भएको ठाउँसम्म आइनपुग्ने गरेको उनको गुनासो छ ।

सफा गर्न लगाइसकेँ : मेसु ठाकुर
मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्बर ठाकुरले अस्पतालमा फोहोर देखिएको भए पनि सफा गर्न लगाएको दाबी गरे । उनले दुई दिनदेखि सफाइ कर्मचारी आन्दोलित भएका कारण फोहोर नउठेको बताए । ‘दुई दिनदेखिको मात्र हो । मैले सफा गर्न लगाइसकेँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘दुई दिनदेखि सफाइ कर्मचारी आन्दोलित हुँदा समस्या भएको हो ।’ उनले कोभिड अस्पताल सञ्चालन भएको भवनको शौचालयको ढोका अस्थायी भएको बताए । गत वर्ष तत्काल उपचार सुरु गर्नुपर्ने भएकाले बनाइएका कारण ढोका भत्किएको उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ । 

सम्बन्धित समाचार