२०७८ जेष्ठ २९ गते , शनिवार

कोरोना संक्रमित पत्रकारको घर–घरमा पोषिलो खानेकुराको प्याकेज

कोरोना संक्रमित पत्रकारको घर–घरमा पोषिलो खानेकुराको प्याकेज :: Times of Pradesh

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले कोभिड–१९ संक्रमणको दोस्रो लहर र यसले बढाएको जोखिमको सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कार्यका बारेमा विभिन्न निर्णय गरेको छ ।

महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा शुक्रबार महासंघको बिर्तामोडस्थित कार्यालयमा सम्पन्न वैठकले संक्रमित पत्रकारलाई सहयोगसहितका विभिन्न निर्णय गरेको हो ।
महासंघले कोभिड–१९को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान, समन्वय लगायतका कार्यका लागि उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सचिव डिकेश लामा, सहसचिव राजु पाठक, कार्य समिति सदस्यहरु सन्तोष शर्मा, मनिषा चम्लागाईं, रञ्जित परियार, राजन साम्पाङ, सुनीरा मैनाली, सुष्मा राजवंशी र द्रोण अधिकारी सदस्य रहेको समिति गठन गरेको छ । महासंघले कोरोना भाइरसबाट संक्रमित पत्रकारलाई घरमै चिकित्सकको परामर्शमा आवश्यक पोषिलो खानेकुराको प्याकेज, मास्क, सेनिटाइजर, आवश्यकता अनुसार अक्सिजन सिलिण्डर निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारको पीसीआर परीक्षण, आवश्यक परे अस्पताल भर्ना, औषधि व्यवस्थापन, चिकित्सकको मनोपरामर्श, कोरोनाबिरुद्धको खोप लगाउन छुटेका पत्रकारहरुका लागि खोप व्यवस्थापन लगायतका कार्यमा सहजीकरण गर्नुका साथै बिमा भएकाहरुको हकमा बिमा रकमको भुक्तानी दावी प्रक्रिया अघि बढाउने र महासंघको क्षमता अनुसार प्रदेश र केन्द्रीय समितिसँग समेत समन्वय गरी आवश्यक सबै सहयोग गर्ने निर्णय गरिएको छ । महासंघका सदस्यहरु राजु अधिकारी, पुष्प बराल , नरेन्द्र ढकाल र बीरु दर्नाल सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना भाइरसबाट संक्रमित भई हाल होम आइसोलेसनमा रहेकाले उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले गरेको छ । बैठकले केन्द्रीय समितिले गठन गरेको समितिसँग समन्वय गरी कोभिड–१९को दोस्रो लहरबाट जिल्लामा उत्पन्न हुनसक्ने समस्या र चुनौतिहरु सामना गर्ने गरी सक्रिय रुपमा काम गर्न यस समितिलाई निर्देश गरेको छ ।

त्यसैगरी महासंघले कोभिड–१९को दोस्रो लहरको प्रारम्भिक स्वरुप विश्लेषण गर्दा सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आँकलन गर्दै महासंघले समग्र विषयको अनुगमन तथा समन्वय गर्न उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा सहसचिव अर्जुन राजवंशी, कोषाध्यक्ष रञ्जीत प्रसाई, कार्यसमिति सदस्यहरु स्वस्तिका आचार्य, बिनोद पाण्डे, चिरञ्जीवी घिमिरे, होमप्रकाश अधिकारी, अच्युत सुवेदी र अनिल वाग्ले सदस्यहरु रहेको समिति गठन गरेको छ ।
सम्भावित जोखिमबाट सञ्चार क्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि महासंघले सरकारसँग विशेष आग्रह गरेको छ ।

सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन, पत्रकारहरुका लागि सहज तरिकाले निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन साथै कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउन महासंघले सरकारसँग माग गरेको छ । अहिलेको विषम् परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियतको व्यवस्थाका लागि महासंघले सरकारसँग माग गरेको छ । त्यस्तै कोभिड–१९ को दोस्रो लहरको प्रभाव न्यूनीकरणका लागि सचेतना जगाउने लगायत महामारी नियन्त्रणका सबै अभियानमा सशक्त भूमिका निर्वाह गर्न सबै सञ्चारकर्मी तथा सञ्चारगृहको तर्फबाट महासंघले प्रतिवद्धता व्यक्त गरेको छ । महामारी नियन्त्रणका लागि सचेतना जगाउने सन्देशमूलक सूचना सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन महासंघ स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग माग गरिएको छ ।

पेशागत कर्म निर्वाहका क्रममा संवेदनशील भई स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर पूर्णसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्दै पेशागत कर्तव्य पूरा गर्न महासंघले आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । त्यस्तै महासंघले आमसञ्चारकर्मीमा महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गरी सत्य–तथ्य समाचार सामग्री संप्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि कर्तव्य पालना गर्न अपिल गरेको छ । त्यसैगरी सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन महासंघले सञ्चारगृहलाई आग्रह गरेको छ ।

समाचारकक्षमा भौतिक दूरी कायम गर्न, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न महासंघले सबै सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन सबै सञ्चार गृहलाई आग्रह गरिएको छ । साथै, कारोना संक्रमणले उत्पन्न गराएको अवस्थाको बहाना बनाई श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता कार्य नगर्न तथा पत्रकारको बाँकी बक्यौता रकम तत्काल भुक्तानी दिन महासंघले सबै सञ्चारगृहलाई आग्रह गरेको छ ।

त्यसैगरी महासंघबारे जानकारी दिन, आवद्ध सबैको विस्तृत विवरण तथा नियमित गतिविधि सहज रुपमा सबै सामु पुर्याउन महासंघ झापा शाखाको वेबसाइट तत्काल सञ्चालनमा ल्याउने र त्यस सम्वन्धी आवश्यक सामग्री संकलन, अपलोड लगायतका सम्पूर्ण कार्य गर्नका लागि महासंघका सचिव डिकेश लामाको संयोजकत्वमा कार्य समिति सदस्यहरु बिनोद पाण्डे, सुनिरा मैनाली, सन्तोष शर्मा र चिरञ्जीवी घिमिरे सदस्य रहेको समिति गठन गरिएको जनाइएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment