झापामा कोरोनाका बिरामी : अस्पतालमा लिएन भर्ना, स्थानीय सरकारले दिएन चासो
भारतबाट आएर सीधै घर पुग्छन् संक्रमित
झापा । १३ दिनअघि दमक–१ का धर्मप्रसाद कोइराला र उनकी श्रीमती मेनुकालाई कोरोना संक्रमण देखियो । उनीहरूमा लक्षणसहित संक्रमण देखियो । बिरामले सताएपछि कोइराला दम्पतीले दमकस्थित एक अस्पतालमा जाँच गराए । ठीक हुने छाँटकाँट नपाएपछि उनीहरू विराटनगरस्थित नोबेल अस्पताल पुगे । ‘नोबेलमा कोरोना जाँच्नु अनि उपचार गरौँला भने । कोरोना पोजेटिभ देखियो,’ धर्मप्रसाद भन्छन्, ‘नोबेलमा राख्न मानेन । धरानको घोपा (वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) गयौँ । त्यहाँ ठाउँ छैन भने । हामी घर आयौँ ।’
नोबेलमा कोरोना पोजेटिभ देखिएपछि नोबेलले स्वास्थ्य कार्यालय झापालाई जानकारी गरायो । उनलाई झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सम्पर्क गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए । तर, केही सहयोग गरेनन् । अस्पतालले भर्ना नलिएपछि धर्मप्रसाद घर फर्किए । दम्पत्तिमै लक्षण थियो । उनीहरूलाई सबैभन्दा धेरै श्वासप्रश्वासमा समस्या थियो । ‘सुरुमा त मर्छु कि जस्तै भएको थियो । अहिले त धेरै ठीक भएँ,’ उनी भन्छन्, ‘अक्सिजनचाहिँ कसरी व्यवस्था गर्ने भन्नेमा थिएँ । बल्ल आफैँ किनेर घरमै ल्याएँ ।’ संक्रमण देखिएपछि राज्य र स्थानीय तहबाट कुनै सहयोग नभएको उनी बताउँछन् । ‘राज्यको तर्फबाट केही सहयोग भएन । स्थानीय सरकारले त फोन घरेर कस्तो छ पनि भनेन,’ उनी भन्छन्, ‘राज्यको तयारी त केही रहेनछ । यत्रो पर्दा पनि चेत आएन छ । केही छैन शून्य ।’
सरकारी तथ्यांकमा दमक अस्पतालले ३० बेडको कोभिड अस्पताल चलाएको छ । जहाँ अक्सिजनसहितको व्यवस्था छ । तर, लक्षणसहित गाह्रो अवस्था भएका दमकका बिरामी होम आइसोलेसनमा बस्नुपरेको छ । ‘दमकमा अस्पताल छ रे ! तर, हाम्रा लागि रहेनछ । हामी तयारीमा छौँ भन्न किन अस्पताल देखाउनू ?,’ धर्मप्रसाद भन्छन् ।
झापामा कोरोना रोकथामका लागि खासै पूर्वतयारी देखिँदैन । केही स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइन बनाएका छन् । तर, त्यहाँ संक्रमित राखिएको छैन । संक्रमित होमआइसोलेसनमा पीडादायी समय बिताइरहेका छन् । कतिपय स्थानीय तहले त क्वारेन्टाइनसमेत बनाएका छैनन् ।
दुई सय १५ बेड क्वारेन्टाइ, एक सय ९३ आइसोलेसन
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जिल्लामा २१५ बेडको क्वारेन्टाइन र १९३ आइसोलसन सेन्टर स्थानीय तहले बनाएका छन् । तर, एक जना बिरामी पनि क्वारेन्टाइन र आइसोलेसनमा बस्न पाएका छैनन् । जिल्लाको मेची अस्पतालमा ७५ बेडको आइसोलेसन सेन्टर छ । जहाँ २५ बेड अक्सिजनसहितको छ । यस्तै दमक नगरपालिकामा ६० बेडको क्वारेन्टाइन र ३० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर छ । जसलाई दमक कोभिड अस्पताल नाम दिइएको छ । तर, यो अस्पताल बन्द छ । अस्पतालको बेड नपाएर कोरोनासँग लडाईं गरिरहेका बिरामीसमेत राख्ने क्षमता छैन, दमक अस्पतालसँग । ‘यो स्थानीय तहले चलाएको कोभिड अस्पताल हो । अरू ठाउँमा भरिएपछि मात्र यहाँ सुरु गर्छौँ,’ दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग सुब्बा भन्छन्, ‘एक÷दुई जना बिरामी हुँदा खर्च धेरै हुन्छ । धान्न सक्ने अवस्था छैन । त्यही भएर अहिले बिरामी राख्दैनौँ ।’
यस्तै, भारतसँगको नाका रहेको मेचीनगर नगरपालिकामा अहिलेसम्म क्वारेन्टाइन छैन । यो नगरपालिकामा आइसोलेसन ३० बेडको रहेको प्रजिअ तिम्सिनाले जानकारी दिए । तर, स्थानीय तहले मात्र अब क्वारेन्टाइन धान्न नसक्ने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य बताउँछन् । ‘पहिला धेरै खर्च भएको छ । अब त क्वारेन्टाइन स्थानीय तहले मात्र धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यहीँमाथि हामी त नाकाको स्थानीय तह प¥यौँ ।’
यस्तै, बिर्तामोड नगरपालिकामा ५० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेसन छ । शिवसताक्षी नगरपालिकामा २५ बेडको क्वारेन्टाइन र पाँच बेडको आइसोलेसन छ । गौरादहमा ३० बेडको क्वारेन्टाइन र २० बेडको आइसोलेसन तथा गौरीगञ्जमा ५० बेडको क्वारेन्टाइन र ७ बेडको आइसोलेसन छ । कचनकवलमा १६ बेडको आइसोलेसन छ ।
भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधार नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी, बुद्धशान्ति र हल्दिबारीले अहिलेसम्म क्वारेन्टाइन र आइसोलेसन बनाएका छैनन् । भएका क्वारेन्टाइन र आइसोलेसनमा पनि एक जना संक्रमित नभएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार साँझसम्म झापामा पछिल्लो समय कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यस्तै, १०१ जना संक्रमित छन् । संक्रमितमध्ये ६ जना धरान र बिराटनगरमा उपचाररत छन् । बाँकी सबै होमआइसोलेसनमा छन् ।
भारतबाट आएर सीधै घर पुग्छन् संक्रमित, क्वारेन्टाइन नहुँदा जोखिम
पूर्वीनाका काँकडभिट्टा भएर दैनिक करिब एक हजार नेपाल भित्रन्छन् । भित्रिएका मध्ये ज्वरो आएकाको एन्टिजेन्ट परीक्षण गरिन्छ । पोजेटिभ आएकालाई छुट्टै गाडीमा अस्पताल वा घर पठाइन्छ । बाँकी काँकडभिट्टा बसपार्क पुग्छन् र गन्तव्यमा जान्छन् । जसका कारण जोखिम बढेको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य बताउँछन् । ‘विगतमा नाका अलिक व्यवस्थित थियो । पारिबाट आउनेलाई लिन नाकामै गाडी पुग्थ्यो,’ उनी भन्छन्, ‘अहिले त्यति छैन । सिडिओ साब, समन्वय प्रमुखसहित समन्वय भइरहेको छ ।’
विगतमा भारतबाट आएका सीधै घर जान पाउँदैन थिए । तर, अहिले सीधै घर जान्छन् । उनीहरूले क्वारेन्टाइन पनि बस्नुपर्दैन । ‘यसले जोखिम बढाएको छ । हामीसँग स्रोत साधन छैन । केन्द्र सरकारसँग समन्वय भइरहेकोछ,’ प्रजिअ तिमिल्सिनाले भने, ‘नाकामा एक हजार अँट्न सक्ने क्षमताको होल्डिङ सेन्टर बनाउन माग गरिरहेका छौँ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।