२०८१ पौष २९ गते , सोमबार

कोरोनाको नयाँ स्वरूपबाट बालबालिका उच्च जोखिममा

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २९ गते , आईतबार
कोरोनाको नयाँ स्वरूपबाट बालबालिका उच्च जोखिममा

झापा । नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप (युके भेरियेन्ट)को संक्रमण बालबालिकामा उच्च देखिएको छ । एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म संक्रमण दर पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

शनिबार अर्थात् २८ चैतमा तीन सय ३७ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका छन् । यो कुल संक्रमणको १५ दशमलव चार प्रतिशत हो । २७ चैतमा दुई सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये ३४ जना १८ वर्षभन्दा मुनिका बालबालिका छन् । यो कुल संक्रमणको ११ दशमलव ८ प्रतिशत हो । 

२६ चैतमा ३ सय ३२ जनामा कोरोना पजिटिभ हुँदा १५ दशमलव ३६ प्रतिशत अर्थात् ५१ जना बालबालिका छन् । यसबाहेक २५ चैतमा दुई सय ९८ जना संक्रमित भेटिएका थिए । त्यस दिन आठ दशमलव ३९ प्रतिशत अर्थात् २५ जना बालबालिका छन् । 

त्यसको अघिल्लो दिन २४ चैतमा दुई सय ६० जनामा कोरोना पुष्टि हुँदा २६ जना बालबालिका थिए । यो कुल संक्रमणको १० प्रतिशत हो । त्यसअगाडि २३ चैतमा दुई सय ६६ जनामा कोरोना पजिटिभ देखिँदा ६ दशमलव ०१ प्रतिशत अर्थात् १६ जना बालबालिका थिए । यसबाहेक २२ चैतमा एक सय ७६ जना कोरोना संक्रमित भएकोमा सात दशमलव ९५ अर्थात् १४ जना बालबालिका छन् । यता २१ चैतमा एक सय २८ जनामा कोरोना पुष्टि हुँदा आठ दशमलव ८९ प्रतिशत अर्थात् ११ जना बालबालिका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीका अनुसार कोरोनाको दोस्रो वेभमा धेरै बालबालिका संक्रमित भएका छन् । उनले भने ‘१८ वर्षमुनिका बालबालिकाको संक्रमण दर बढ्दै गएको छ । विगतमा बालबालिका बढी संक्रमित हुँदा पाँच प्रतिशत थियो । तर, गएको एक हप्ताको तथ्यांक हेर्दा १५ प्रतिशतसम्म बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।’ नयाँ स्वरूपको भाइरस विद्यालय अध्ययन गर्ने बालबालिकाको उमेर समूहमा बढी फैलिएको अनुमान स्वास्थ्य मन्त्रालयको छ । 

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका कोभिड चिकित्सक डा। अनुप बास्तोला कोरोना भाइरसको पहिलो वेभमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए । तर, दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन् । कोभिड चिकित्सक डा। बास्तोलाका अनुसार दोस्रो वेभ सम्भावित जोखिमसहित फैलियो भने अर्को भुमरीको खतरा छ ।

‘कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो वेभको संघारमा आइपुगेका छौँ । जनघनत्व बढी भएका स्थानमा दोस्रो वेभ टार्नै नसक्ने गरी फैलिन सक्ने खतराको घन्टी बजिसकेको छ । त्यसैले सुरक्षा मापदण्डको पालनामा हेलचेक्र्याइँ फिटिक्कै गर्नुहुँदैन,’ उनले भने । 

हालसम्म दुई लाख ७९ हजार तीन सय ८८ जना कोरोना संक्रमित हुँदा २१ हजार एक सय ९९ जना १८ वर्षमुनिका बालबालिका छन् । एक हप्तामा मात्रै एक सय २० जना सिकिस्त संक्रमित आइसोलेसनमा भर्ना भएका छन् । त्यस्तै ४४ जना आइसियू र १४ जना भेन्टिलेटरमा छन् । सामान्य लक्षण देखिएका कोरोना संक्रमित घरमै सुरक्षित रूपमा बसेका छन् । 

डा। बास्तोलाका अनुसार एक हप्तायता सिकिस्त संक्रमितको संख्या बढ्दै गएको छ । ‘सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्षमुनिका बिरामी ५० प्रतिशतकै हाराहारीमा छन्,’ उनले भने, ‘जुन अघिल्लो तीन महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर हो ।’ 

विगतभन्दा अहिले पत्ता लागेका संक्रमितमध्ये सिकिस्तको संख्या धेरै छ । ‘यसको अर्थ, समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने हुन्छ,’ कोभिड चिकित्सक डा। बास्तोलाले भने । उनका अनुसार सिकिस्त बिरामीको संख्या बढ्नुले समुदायमा कोरोना भाइरसको दोस्रो वेभ व्यवस्थित भइसकेको पुष्टि गर्छ । आजको नयाँ पत्रिकामा खबर छ । 

सम्बन्धित समाचार