२०८१ मंसीर २१ गते , शुक्रबार

जङ्गली हात्तीले सक्यो मकै खेती, झापाका किसान चिन्तित

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १० गते , मंगलबार
जङ्गली हात्तीले सक्यो मकै खेती, झापाका किसान चिन्तित

(केशव चापागाईँ) पन्थापाडा । झापा गाउँपालिका ५ मा पर्ने पन्थापाडा क्षेत्रमा जङ्गली हात्तीको आतङ्कले यहाँका किसानले लगाएको २० औं बिगाहा मकै खेती नष्ट गरिदिएको छ । गत ५ गते ७ वटाको समूहमा आएका जङ्गली हात्तीले किसानका मकै नष्ट गरेको स्थानीयले बताएका छन्।

पन्थापाडा देखि पूर्व बिरिङ नदी र खयरवारि मेचे टोलमा सयौँ बिगाहामा किसानले मकै लगाएका छन्। लहलह परेका मकै बालीमा जङ्गली हात्तीको उपद्रो कसरी भगाउने स्थानिय वेचन यादवले बताए । दुई लाख रुपैयाँ साहुबाट ऋण काढेर ३ बिगाहा मकै खेती लगाइयो,घोगा लाग्दै गरेको १ बिगाहा मकै हात्तीले स्वाहा बनायो हात्ती अझै गएका छैनन्, बाँकी मकै नी सखाप पार्ने चिन्ता छ।

मकै र धान वाली बाटै जीविकोपार्जन गर्ने किसानको मकै वाली हात्तीले नष्ट गरेपछी चिन्तित छन्। अर्का स्थानीय किसान अस्तर आलमको पीडा पनि उस्तै छ। साहुसँग ऋण काढेर डेढ बिगाहा मकै खेती लगाए अहिले हात्तीले १ विगाह मकै नष्ट गरिसकेको छ।हात्ती नियन्त्रण गर्न यहाँ देखि धपाउन शरणामती प्रहरी चौकीमा गुहार माग्न आएका अन्तु केवरत र सनाउल हुसेनको समस्या पनि उस्तै छ।

१२ बिगाहा मकै खेती लगाएका नजुरुल हकले हात्तीले माडेको १ बिगाहा जमिन देखाउँदै भने हात्ती यहीँ एक सय मिटरको दुरीमा छन्।अरू मकै पनि नष्ट गरिदिन्छन् कि भन्ने चित्ता छ। हामीलाई अब यस नोक्सानको क्षतिपूर्ति कसले देला उनले प्रश्न गरे।

किसानले जीविकोपार्जनको वालीनै हात्तीले नष्ट गरेपछि क्षतिपूर्ति कसले दिने या नदिने भन्ने अन्यौलता झन् चिन्तित भएको बताए।मकैमा खर्च धेरै छ।अलिकति मुनाफाका लागि यत्रो दुक्ख गरियो। सरकारले क्षतिपूर्ति दिए हाम्रो सास आउने थियो एक किसानले बताए।आफ्नो मकै खेती देखाउँदै स्थानीय गणेश मण्डलले भने यहाँ देखि एक सय मिटरको दुरीमा हात्ती छन् मकै माडेर आराम गरेर बसिरहेका छन्।

मकैमा पानी लगाउन पनि त्रास छ।पानी लगाउने बेला भइसक्यो। ७ वटा हात्ती छावा सहित आएका छन्। अस्ति मेचे गाउँका मोतिवुर रहमानको भान्सा घर समेत भत्कायो।हात्ती अहिले सम्म यहीँ इलाकामा छन्। मानवीय क्षति नहोस् भनी हामीले गस्तीलाई बाक्लो बनाएका छौ शरणामती प्रहरी चौकी प्रमुख प्रसनी मोहन कुमार तामाङले बताए।

यता किसानलाई क्षतिपूर्ति दिलाउने विषयमा आफूले पहल गरेको वडाध्यक्ष दिनेश राजवंशीले बताएका छन्। 'पीडित किसान वडा कार्यालय आउनु भएको थियो, मैले गाउँपालिकालाई उचित क्षतिपूर्ति दिलाइदिन सिफारिस गरेको छु, उनले भने।'

अधिकांश कृषिमा आश्रित झापा गाउँपालिका बासीलाई कहिले यहाँका बिरिङ र कनकाई नदीले सताउछ त कहिले जङ्गली हात्तीले ।किसानको यो पिडामा कसले मलम नगाइदेला साँचै यो विषय सोचनीय छ अगुवा किसान चन्द्र प्रसाद बस्नेतले बताए।

सम्बन्धित समाचार