२०८१ मंसीर ३० गते , आईतबार

‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि घातक

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १० गते , मंगलबार
‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि घातक

काठमाडौँ । युट्युबमा हेरेर शरीरको तौल घटाउन युवापुस्ताले प्रयोग गर्ने गरेको ‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि ठीक नभएको विज्ञहरूले औँल्याएका छन् । पोषणविद् डा। अरुणा उप्रेतीले धार्मिक महत्त्वका दृष्टिकोणले परम्परागत रूपमा हप्ता वा महिनाको एक दिन व्रत बस्ने चलन रहेको बताउँदै भनिन्, “पहिले तौल घटाउन व्रत बस्दैनथे । आध्यात्मिक रूपमा बस्ने प्रचलन थियो तर खानपिनमा आएको परिवर्तनले मोटोपनको समस्या सिर्जना गरेपछिव्रत बस्ने चलन सुरु भएको पाइन्छ । ”

मध्यम र धनी वर्गले ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्ने गरेको पाइन्छ । उनले गरिब वर्गले यसै पनि खाना कम खाने र शारीरिक अभ्यास धेरै गर्ने भएकाले यो व्रत अपनाउन आवश्यक नै नभएको बताइन् । उनका अनुसार यस्तो व्रत बस्नुअघि वा पछि कुनै पनि पोषणयुक्त खानेकुरा खानुपर्दछ भन्ने योजना बनाउनुपर्दैन । उनले भनिन्, “हामीले खाने सामान्य दाल, भात र तरकारी खाएर पनि यो व्रत बस्न सकिन्छ । विशेषज्ञको सल्लाहबेगर इन्टरमिटेन्ट फास्टिङ गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । ”

उनका अनुसार सबैलाई १६ घण्टाको उपवास अनिवार्य हुँदैन । शरीरको आवश्यकताअनुसार विशेषज्ञको सल्लाहमा व्रत बस्न सकिन्छ । ‘इन्टरमिटेन्ट फास्टिङ’ सबैका लागि वरदान नहुन सक्नेतर्फ सचेत गराउँदै डा। उप्रेतीले थपिन्, “तरिका मिलाएर यसको अभ्यास गरे फाइदा हुनसक्छ । यस्तो अभ्यास गर्दा यो सँगसँगै अन्य नियमित शारीरिक अभ्यास गर्ने, चिनीको सेवनलाई रोक्ने वा घटाउने, प्रशस्त ताजा फलफूल, सागसब्जी, गेडागुडी, दाल, रेसादार खाना, प्राकृतिक प्रोटिन, प्राकृतिक तेल आदि खाने गर्नुपर्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् । 

सम्बन्धित समाचार