सङ्कटमा एसियामै जैविक विविधताको धनी 'जलथल जङ्गल'
संरक्षण र संवर्द्धनको आवश्यकता
.jpg)
झापा । एसियामै जैविक विविधतामा धनी रहेको जलथल जङ्गल सङ्कटमा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । विश्वमै नपाइने वनस्पति पाइने जलथल जङ्गललाई जोगाउनु पर्ने उनीहरूको जोड छ ।
विश्व सिमसार दिवसको अवसरमा जिल्ला समन्वय समिति झापाको आयोजना तथा फरेष्ट एक्सन नेपालको सह–आयोजनामा भएको जलथल वन अवलोकन तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले त्यस्तो जोड दिएका हुन् । कार्यक्रममा बोल्दै हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले रुख मात्र जोगाउने नभएर वनमा रहेका सम्पूर्ण जैविक विविधता जोगाउनु वन समूहहरूको दायित्व भएको बताए । उनले जलथल जङ्गल वास्तविक सिमसार भएको भन्दै के कारणले पानी सोसिरहेको छ भन्ने कारण पत्ता लगाउन जरुरी भएको धारणा राखे ।
‘जङ्गललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न गाउँपालिकाले ५० फुटको बाटो रेखाङ्कन गरेको छ’ उनले भने , ‘त्यसका लागि यस वर्ष १ करोड बजेट छुट्याएका छौँ ।’ जैविक विविधता जोगाउन कसैलाई पनि जङ्गलमा प्रवेश गर्न नदिनु पर्ने उनको भनाइ थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज श्रेष्ठले जलथल जङ्गलको सिमसारको विशेषतालाई उजागर गरी रामसारमा सूचीकृत गर्न सके विश्वमा पर्यापर्यटनका लागि एकीकृत विकास गर्न सकिने बताए । उनले त्यसका लागि ठुलो लगानी र प्रयास चाहिने आवश्यकता औँल्याए ।
कार्यक्रममा फरेष्ट एक्सन नेपालका डा. लीलानाथ शर्माले नेपालकै होचो ठाउँमा अवस्थित जलथल जङ्गलमा संसारमै नपाइने ६ वटा रुख प्रजाति र ३ वटा वनस्पति भेटिएको जानकारी दिए । करिब १२ वर्षदेखि अध्ययन गरिरहेका विज्ञ शर्माले जलथल जङ्गल जैविक विविधताले नेपालकै धनी भएको बताए । जलथल जङ्गलमा रहेको सिमसारमा पानीको मुहान सुक्दै गएको , वन्यजन्तुहरू नासिँदै गएको , चराचुरुङ्गीहरू हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । मानवको आर्थिक विकास सँगसँगै सिमसारलाई पनि विकसित गर्दै लैजानु पर्नेमा उनले जोड दिए । जलथलमा १७० किसिमका चरा , १५० किसिमका पुतलीहरू रहेका छन् ।
त्यस्तै कटुस , लटहर , बेत , सतिसालजस्ता दुर्लभ वनस्पति ,बँदेल , हरिणजस्ता वन्यजन्तु त्यहाँ पाइन्छ । केही वर्षयता सालक , बाँदर जस्ता वन्यजन्तु लोप हुँदै गएको डा. शर्माले बताए । कार्यक्रमको अध्यक्षता गरेका जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जलथलको जङ्गललाई हात्तीको करिडोरको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । उनले जैविक विविधतामा एसियाकै धनी जलथल जङ्गललाई संरक्षण र संवर्द्धन गर्न सबै लाग्नुपर्ने खाँचो औँल्याए । पाथीभरा कालिका सामुदायिक वन समूहको कार्यालयमा भएको कार्यक्रममा स्वागत सोही वन समूहका अध्यक्ष चिरञ्जीवी पौडेलले गरेका थिए भने सञ्चालन समन्वय अधिकारी रुद्रप्रसाद न्यौपानेले गरेका थिए । कार्यक्रममा जलथल जङ्गलभित्र पर्ने विभिन्न वन समूहका पदाधिकारी , वन उपभोक्ता महासङ्घका पदाधिकारी , सिमसार क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
अन्तरक्रियाअघि सहभागीहरूलाई जलथल जङ्गलमा माइकेनिया प्रजातिको मिचाहा झारले पारेको प्रभावबारे देखाउन जङ्गलको अवलोकन गराइएको थियो । जिल्लाको भद्रपुर नगरपालिका , कचनकवल , बाह्रदशी र हल्दीबारी गाउँपालिकामा फैलिएको चारकोशे झाडीको जलथल जङ्गलको क्षेत्रफल ६३ सय हेक्टर रहेको थियो । जुन घट्दै गएको छ । जिल्लाको करिब १८ हजार वन क्षेत्रमध्ये एक तिहाइ भाग जलथल जङ्गलले ओगटेको छ । जलथलमा २२ वटा वन समूहहरू रहेका छन् । प्रतिदिन दैनिकबाट