२०८० चैत्र १६ गते , शुक्रबार

सुकुम्वासीमाथि दमन गरे प्रतिकार गर्ने विप्लव समूहका नेता पुनको चेतावनी

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १२ गते , आईतबार
सुकुम्वासीमाथि दमन गरे प्रतिकार गर्ने विप्लव समूहका नेता पुनको चेतावनी

(प्रवीण विद्रोही) झापा ।  नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्वासी सङ्गठन अखिल नेपाल भूमिहीन सुकुम्वासी सङ्घ झापाको आयोजनामा वृहत् सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

झापाको दमक ७ स्थित पञ्चमुखी टोलको सडकमा भएको  “सुकुम्वासी समस्या र समाधान ” विषयक सडक अन्तरक्रिया कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनको प्रमुख आतिथ्य रहेको थियो भने अतिथिहरूमा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बू , केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, झापा जिल्ला सचिव प्रशान्त, कार्यालय सचिव सञ्जय राई, नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की , ह्याप्पि नेपालका महासचिव सुरेन्द्र श्रेष्ठ , नेपाल महिला एकता समाजकी अध्यक्ष शान्ता लावर, लिम्बुवान राष्ट्रिय लोकतान्त्रिक मञ्चका नेता पदम बेगा, माओवादी कम्युनिस्ट पार्टीका जिल्ला नेता दिपेन तामाङ माओवादी केन्द्रका नेता लालसुन्दर राई, जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य एवम् झापा जिल्ला संयोजक प्रवीण विद्रोही लगायतको उपस्थिति रहेको थियो ।

सङ्गठनका जिल्ला अध्यक्ष झुलेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सुरेन्द्र केसीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य अरुण पौडेलले राखेका थिए ।  कार्यक्रममा समस्त सुकुम्वासीको प्रतिनिधित्व गर्दै मनाङले मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उनले ५७ सालदेखि बसोबास गर्दै आइरहेका सुकुम्वासीहरूमाथि राज्यले डोजर चलाएको र हिजो सुकुम्वासी बस्तीमा भोट माग्दै लालपुर्जा बनाइदिने आश्वासन दिएका नेताहरू नै आज बस्ती उठाउन लागिपरेको उल्लेख गरे ।

त्यस्तै मन्तव्यका क्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कबार कार्कीले देशभर ७० लाखभन्दा बढी सुकुम्वासी रहेको र अब सबै सुकुम्वासीहरू राज्यसत्ताका विरुद्ध एकजुट हुनुपर्ने उल्लेख गरे। मन्तव्यकै क्रममा लिम्बुवान राष्ट्रिय लोकतान्त्रिक मञ्चका नेता पदम बेगाले अब पनि सुकुम्वासी जनताको आँगनमा भोट माग्न कोही आए सबै मिलेर प्रतिकार गर्नुपर्ने भन्दै राज्यले अमानवीय व्यवहार गरेको उल्लेख गरे । कार्यक्रममा नेपाल महिला एकता समाजकी अध्यक्ष शान्ता लावर , माओवादी कम्युनिस्ट पार्टीका  नेता दिपेन तामाङ , माओवादी केन्द्रका नेता लालसुन्दर राई लगायतको मन्तव्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् सङ्गठन का केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनले दलाल पुँजीवाद र संसदीय व्यवस्था रहेसम्म सुकुम्वासी समस्याको समाधान नहुने भन्दै यो देशमा व्यवस्था परिवर्तनको आवश्यकता रहेको स्पष्ट पारे । यो देशमा सुकुम्वासी समस्या समाधानका लागि मेची महाकाली अभियान सञ्चालन गर्दै गर्दा राज्यले आफूहरूलाई प्रतिबन्ध देखि जेलसम्म पुर्‍याउने षड्यन्त्र गरेको र अन्त्यमा केपी ओलीहरूले बाध्य भएर आफैँ प्रतिबन्ध फुकुवा गरेको बताए । सुकुम्वासीका घर भत्काउन कोही आए त्यसको पार्टीले सशक्त प्रतिरोध गरेको उल्लेख गर्दै नेता पुनले नेपाल कम्युनिस्ट पार्टी सुकुम्वासी माथि दमन गर्न कोही आए टुलुटुलु हेरेर नबस्ने उद्घोष गरे।

निकै आक्रामक रूपमा भाषण गरेका पुनले सुकुम्वासी समस्या समाधान आयोगका नाममा संसदीय दलका नेताहरूले कार्यकर्ता भर्ती केन्द्र खोलेको आरोप लगाउँदै पटक पटक जनता झुक्क्याउँदै भोट माग्न आउनेलाई यस पटक प्रतिकार गर्न समेत आम सुकुम्वासीलाई अपिल गरे । दस वर्षे सशस्त्र जनयुद्धलाई प्रचण्ड बाबुरामले धोका दिएकै कारण विप्लवको नेतृत्वमा अर्को सङ्घर्ष गर्नुपरेको बताउँदै नेता पुनले बन्दुक बोक्ने रहर नभएको तर गरिब , सुकुम्वासीमाथि सेना प्रहरी लगाएर पुँजीवादीहरूले बन्दुकको बल देखाए त्यसको प्रतिरोध गर्न तयार रहेको बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न पार्टीका नेतृत्वहरूलाई निमन्त्रणा गरे पनि काङ्ग्रेस , एमाले, राप्रपा लगायतका केही दलका प्रतिनिधिहरू अनुपस्थित रहेका थिए।  सत्तामा रहेका प्रमुख पार्टीका प्रतिनिधिहरू नै जनताको मुद्दाको विषयमा बहस गर्न डराएको भन्दै नेता पुनले दलालहरूलाई जनताले प्रहरीको सुरक्षा घेराबाट थुतेर जनताले नाङ्गे झार पार्ने उल्लेख गरे । उपस्थित सुकुम्वासीहरूलाई सम्बोधन गर्दै नेता पुनले सबै समस्याको समाधानका निमित्त नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको जनमतसंग्रह र वैज्ञानिक समाजवादी व्यवस्था रहेको उल्लेख गरे। कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्ने प्रयत्न गरेका कारण निर्धारित समय भन्दा केही ढिलो कार्यक्रम सुरु भएको नेकपाका झापा जिल्ला सचिव प्रशान्तले जानकारी दिए ।

सम्बन्धित समाचार