२०८१ बैशाख ७ गते , शुक्रबार

चैत ९ देखि भद्रपुरमा मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिता 

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ७ गते , शनिबार
चैत ९ देखि भद्रपुरमा मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिता 

झापा । क्रिकेट, फुटबलपछि भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडा स्तरीय नकआउट कबड्डी प्रतियोगिता हुने भएको छ । नगरका १० वटा वडाबाटै पुरुष र महिलातर्फका छुट्टाछुट्टै कबड्डी प्रतियोगिता एकैसाथ सञ्चालन गर्न लागिएको हो ।  चैत ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले शनिवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन ।

प्रतियोगिता सञ्चालनका लागि २ लाख ६० हजार खर्च हुने कार्यक्रम संयोजक तथा कबड्डी प्रशिक्षक रतिया राजवंशीले बताए । नगरका १० वटा वडाबाट पुरुष र महिला गरी २० वटा टिमले भाग लिने छ । एउटा टिममा १० जना खेलाडी हुनेछ । त्यसमा ७ जना खेलाडी मैदानमा उत्रिने उनले बताए । महिलातर्फ ७५ केजी र पुरुषतर्फ ८० केजी तौल समूहका खेलाडीले भाग लिन पाउने जनाइएको छ । 
महिला तथा पुरुष दुवैतर्फ विजेता हुने टिमलाई नगद २०-२० हजार र उपविजेता टिमलाई १०-१० हजार नगदसहित शिल्ड तथा मेडलले पुरस्कृत गरिनेछ । तेस्रो हुने टिमलाई नगद ५-५ हजार प्रदान गरिने उनले बताए । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा भाग लिएका नगरका पूर्व खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान पनि गरिने उनको भनाई छ । 
नगर खेलकुद विकास समितिका अध्यक्ष श्याम रावतको अध्यक्षता तथा भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कबड्डी प्रशिक्षक रतिया राजवंशी, नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेमबहादुर भुजेल लगायतले आआफ्नो धारण राखेका थिए ।  
‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान, भन्ने उद्देश्यका साथ भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेका छन् । समितिले वैशाख १ गते नयाँ वर्षको अवसरमा भद्रपुर महिला तथा पुरुषतर्फ खुला दौड प्रतियोगिता समेत गर्न लागेका छन् । 

सम्बन्धित समाचार