२०७८ बैशाख ७ गते , मंगलवार

मेची नदी किनारमा फालिएको फोहोरमैलाले वायु प्रदूषण बढेको भन्दै स्थानीयको आपत्ति

मेची नदी किनारमा फालिएको फोहोरमैलाले वायु प्रदूषण बढेको भन्दै स्थानीयको आपत्ति :: Times of Pradesh

झापा । नगरमा सङ्कलित फोहोर मैलालाई जथाभाबी फाल्दा वातावरण तथा वायु प्रदूषण बढ्दै गएकोमा स्थानीयले आपत्ति जनाएका छन् ।  फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनप्रति भद्रपुर नगरपालिकाले चासो नदेखाउनु साथै भद्रपुर- ५ स्थित मेची नदी किनारको दशगजा क्षेत्रमा फोहोर मैला फालेर आगो लगाउँदा वातावरण तथा वायु प्रदूषण बढ्दै गएकोमा स्थानीयले आपत्ति जनाएका हुन् । हावाहुरी चल्ने मौसमको बेला मेची नदी किनारमा फाल्ने फोहोर मैलामा आगो लगाउँदा वातावरण प्रदूषणसँगै आसपासका क्षेत्रमा जोखिम बढेको स्थानीय तौफीक शेखले बताए ।  

फोहोरमैलाले वातावरण, वायु र स्वास्थ्यमा असर पुर्‍याउन थाल्दा पनि नगरपालिकाले यसतर्फ कुनै चासो नदेखाएको बताउँदै उनले भने, 'फोहोरबाट निस्किने धुवाले मानव शरीरलाई हानी पुर्‍याउँछ, त्यही पनि यहाँका स्थानीय वर्षौँदेखि पिडा सहेर बसिरहेका छन् ।' यसअघि पनि फोहोरमैलाको उचित व्यवस्थापनका लागि नगरपालिकालाई लिखित रूपमै पत्र बुझाउनुका साथै फोहोर बोकेर आउने ट्याक्टर रोकेरै विरोध जनाएको उनले बताए । तर आजका दिनसम्म आइपुग्दा नगरपालिकाले हाम्रो माग अझै पूरा गरेको छैन, उनले भने ।'

यता भद्रपुर नगरपालिकासहित मेचीनगर, बिर्तामोड र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर १ विराटनगरविरुद्ध उच्च अदालत विराटनगर इलाममा रिट निवेदन परेको छ । अदालतले १५ दिनभित्र जवाफसहित कारण देखाऊ आदेश जारी गरेको छ। रिट परेको आज १४ औं दिन हो । भोलि मङ्गलवार यसको विषयमा थप जानकारी प्राप्त हुनेछ । निवेदक मेचीनगर नगरपालिका ७ निवासी होमनाथ प्रसाईँले प्रदेश तथा स्थानीय सरकारलाई विपक्षी बनाएर अदालतमा रिट निवेदन दर्ता गरेका हुन्। निवेदकका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ र हेमकला कट्टेलले बहस गरेका थिए ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment