२०७८ बैशाख ७ गते , मंगलवार

शिशुपाल बध र ओलीका गाली

शिशुपाल बध र ओलीका गाली :: Times of Pradesh

चिन्तामणि दाहाल । महाभारत कथा पूर्वीय दर्शन,समाज,संस्कृति र सभ्यताको अनुपम कृति हो । महाकाव्यको रुपमा महर्षि वेदव्यासले लेखेको यो महाभारत कथाका पात्रमध्ये एक हुन् शिशुपाल । शिशुपाल छेदीका महाराज दमघोषका छोरा अर्थात युवराज थिए ।

उनी कृष्णका बाबु बासुदेवकी बहिनीका छोरा अर्थात भगवान कृष्णका फुपुका छोरा थिए । नाताले भाइ पर्ने शिशुपाल जन्मिँदा तिनवटा आँखा र चार हात लिएर जन्मिए । उनको यस्तो जन्मलाई अस्वभाविक र अद्भुत मानियो ।  उनका माता पिता चिन्तित भए । समाजमा यस्तो बालक देख्दा उनलाई राक्षस भन्लान र घृणा गर्लान् भनेर चिन्ता गर्दै बालकलाई त्याग गर्ने विचारमा पुगे । यस्तैमा आकाशवाणी भयो ।

आकाशवाणीमा भनियो एक दिन यस्तो समय आउँछ यस बालकका अतिक्ति अंग अर्थात दुई हात र एउटा आँखा गायब हुन्छन् । विधिको विधान अनुसार यो बालक आफन्त भित्रै जसको काखमा बसाउँदा उसका हात र आँखा गायब हुन्छन् उसकै हातबाट यसको मृत्यू पनि हुन्छ । 

उसको तेश्रो आँखा र दुई हात गायब गराउनका लागि शिशुपालका आमाबाबु र परिवारहरुले उपाय खोज्न थाले । तब त्यसवेलाको प्रचलन र परम्परा अनुसार ज्योतिषी पनि हेराइयो । ज्योतिषीहरुले पनि आकशवाणीले भनेकै कुरा बताए । 

तब शिशुपालकी आमाले पालै पालो यो बालकलाई आफन्तको काखमा राख्दै गइन् । भगवान कृष्णको काखमा राखेपछि शिशुपालको निधारवीचको तेश्रो आँखा र दुबै हात गायब भए ।   तब आफ्ना भदालाई फुपुले भनिन् हे कृष्ण तिमीले मेरो छोरा जो तिम्रो भाइ पनि हो नमार्नु है । फुपुको अनुनय विनयपछि कृष्णले भने हे फुपु तपाईको छोराका सय गाली म सहन्छु । मार्दिन । जब गाली १ सय १ पुग्छ तब उसलाई मैले मृत्यु दण्ड दिनै पर्छ । 
छोराको एकसय गाली सहने अभयदान पाएर आमा ढुक्क भएर घर फर्किन् । बालक शिशुपाल हुर्कंदै गए । सानो छँदा उनले कृष्णलाई गाली गर्नु पनि थिएन र गाली गर्नु पर्ने कारण पनि थिएन । जब शिशुपाल ठूलो हुँदै गए तब उनलाई कृष्ण देख्यो कि रिस उठ्न थाल्यो ।

तब उनी जहाँ जहाँ कृष्णलाई भेट्थे गाली गरिहाल्थे । फुपु मामाका छोराहरु भएर नाताले दाजुभाईको सम्बन्ध भएकोले विभिन्न कार्यक्रम, उत्सब, पुजाआजा आदिमा दुबैको भेटघाट भइरहन्थ्यो । जहाँ भेट्यो शिशुपालले कृष्णलाई तथानाम गाली गरिहाल्थे । 

महाभारत कथामै बर्णित पाण्डवहरु जो कृष्णकी अर्की फुपु कुन्तीका छोराहरु थिए । उनीहरुको राज्याभिषेकमा राजसूय यज्ञको आयोजना गरिएको थियो । त्यसको मूख्य आराध्यदेव अर्थात प्रमुख अतिथि कसलाई बनाउने भन्ने कुराकानी भयो । अन्तिममा भगवान कृष्ण स्वयम हुँदा हुँदै यज्ञको आराध्यदेव कृष्णलाई बनाउने सहमति भयो ।

यज्ञको व्यापक तयारी भइरहेको थियो । त्यसैवेला निम्तो मान्न शिशुपाल पनि पुगे । कृष्णलाई यज्ञको आराध्यदेव बनाउने कुरामा उनले असहमति व्यक्त गरे । उनले कृष्णलाई मामुली ग्वालालाई किन यज्ञको प्रमुख अतिथि बनाएर किन सम्मान गर्ने भनेर तथानाम गाली गरे । कृष्णले शिशुपाललाई सम्झाए ।

तर, शिशुपालका गाली थपिँदै गए । जब गाली एक सय एक भयो तब कृष्णले आफ्नो सुदर्शन चक्रले शिशुपालको हत्या गरे । महाभारत कथाका शिशुपाल नामक पात्रको अन्त्य भयो ।  यस कथाका माध्यमबाट महाभारतले समाजमा अति भयो भने खति हुन्छ । त्यो गर्नु हुँदैन भन्ने शिक्षा दिन्छ भने सहनशील हुनुपर्छ किन कि कृष्णले आफू भन्दा ठुली फुपुको सम्मान गरेर उनको छोराका एक सय गाली सहने बचन दिएर ठुला बडाको सम्मान गर्ने शिक्षा पनि दिए । 

अहिले नेपालमा ओली नामक शासक सत्तासिन छन् । उनको शासन सत्ता तीन बर्षको भएको छ । उनको काम गराई शिशुपालकै जस्तो छ । उनी सत्तामा बसेसँगै आफ्ना सबै भाषणहरु अरुलाई गाली गर्नमै खर्च गर्छन् । पत्रकारहरुलाई गाली गर्नबाट सुरु भएको उनका कटु बचन तुक्कामा होस् या व्यंग्य, सबैमा तीखा गालीले भरीभराउ हुन्छ । 

केही महिनायता उनका गालीका पर्राहरु आफ्नै वर्गका नेताहरुमा लक्षित छ । उनका सय गाली सहने वचन गाली खानेहरुले देशलाई दिएका छन् । देशमा ओलीजीका सय गाली गर्दासम्म सहने । तर, त्यो भन्दा बढी भयो भने अति हुने भएकोले नसहने अवस्था छ ।   अझ पुस ५ गते जन निर्वाचित संस्था प्रतिनिधि सभा विघटन गरेर जनतालाई गाली गरेका ओलीजीले अहिले दैनिक जसो आफ्नै दाजुभाई अर्थात पार्टीका आफन्त नै रहेका प्रचण्ड नेपाल पक्षलाई गाली गर्नमै खर्च गरिरहेका  छन् ।

ती गाली पर्रा छुटेझैं दैनिक दुई देखि तीनवटा  देखिन्छन् । शिशुपालले पनि आफ्नै मामाका छोरालाई तथानाम गाली गर्थे । ओलीजीका गाली यसरी नै बढ्दै गएर एक सय एक पुगेका दिन कतै उनको अन्त्य त हुने होइन । 

पंक्तिकार हिंसामा विश्वास गर्दैन । कसैको अस्वभाविक अन्त्य हिंसाबाट मात्र हुने भएकोले त्यो पंक्तिकारको सिद्धान्त विपरित हो । त्यसैले ओलीजीले आफ्ना गालीलाई नियन्त्रणमा राखेर अब एकसय एक पुग्न दिनु हुँदैन । अझै सय गाली पुगिहालेका छैनन् । त्यसअघि नै सर्बोच्चले गाली गर्ने आधार सच्याओस भन्ने पंक्तिकारको उत्कट चाहना हो ।  सर्बे भवतु कल्याणम् ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment