२०७८ बैशाख ७ गते , मंगलवार

विकासमा पछि परेको जैविक महत्वको माईपोखरी

विकासमा पछि परेको जैविक महत्वको माईपोखरी :: Times of Pradesh

इलाम । प्रदेश १ को प्रमुख पर्यटकीय र धार्मिक क्षेत्र हो माईपोखरी। यहाँ घुमघाम र पूजापाठका लागि वार्षिक हजारौँ धर्मावलम्बी र पर्यटक पुग्छन्। आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण भने कैयौँ सम्भावना भए पनि यो क्षेत्र छायाँमा परेको महसुस भएको छ। सरकारले १०० वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरी  प्रवर्द्धन गर्ने निर्णय गरेको छ। यसरी छनोट गरिएका गन्तव्यमा इलामको माईपोखरी पनि परेको छ। तर, सरकारले जुन रुपमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने भनेको छ त्यस रुपमा यो क्षेत्रको विकास हुन भने सकेको छैन। 

नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरी यी गन्तव्य छनोट गरिएको हो। नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दाबढी स्थान प्रस्तावित थिए। त्यसमध्ये कुन गन्तव्यलाई १०० वटाभित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयवासीको पनि सहयोगमा पर्यटनको पूर्वाधार निर्माण गरी घुम्नयोग्य बनाइने छ। सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तव्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिने सरकारको नीति छ। ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन गर्ने योजना बनाइएको थियो।

यी पर्यटकीय गन्तव्यको विकासमा प्रदेश १ सरकारले निर्णय गरेकै वर्षबाट बजेट पनि निकासा गरिएको थियो। यसका लागि सरकारले नयाँ गन्तव्य प्रवर्द्धन गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। यस गन्तव्यभित्र सूचीकृत इलामको माइपोखरीमा जिल्लाभित्र मात्र नभई जिल्ला बाहिर र भारतबाट समेत पर्यटकहरु घुम्न आउँछन्। हालसम्म यहाँ पक्की सडक भने पुगेको छैन। यसैले धेरै यात्रुहरु पैदल वा कच्ची सडकमार्फत् सवारीमा यहाँ आउनुपर्छ। कच्ची सडकमा सीमित सवारी मात्र गुड्ने भएकाले धेरै पर्यटकको यहाँ आउने उद्देश्य सपना मात्र हुन्छ। माईपोखरी पुर्याउन पक्की सडक निर्माण शुरु नगरिएको पनि होइन। पाँच वर्षअघिबाटै सडक निर्माण शुरु गरिएको छ तर हालसम्म आधा पनि पक्की भएको छैन। वर्षमा दुई किलोमिटरभन्दा बढी पक्की नहुने कारणले पनि अझै सडक पक्की हुन लामो समय लाग्ने देखिन्छ।

माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका सन्दकपुर गाउँपालिकास्थित माइपोखरी र सुलुबुङको बीचमा पर्छ। एक दशमलब ८८ वर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको बिब्ल्याँटे बजारबाट करिब १२ दशमलव पाँच किलोमिटरको दूरीमा पर्छ। इलाम सदरमुकामबाट १५ किमी उत्तर समुद्र सतहदेखि दुई हजार १३० मिटरको उचाइमा रहेको छ। पैदल जाँदा इलाम–बिब्ल्याटे–जसबिरे हुँदै करीब तीन घण्टामा पुग्न सकिन्छ।

मनमोहक जङ्गलले घेरिएको यो स्थानमा वि।सं। १९५४ मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर रहेको छ। हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ। धार्मिक आस्थाको केन्द्र भएकाले पनि यी पर्वमा सयौँको सङ्ख्यामा पर्यटक आउने गर्छन्।

यो पोखरीका नौ कुना छन्। जसमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ। खासगरी ठूलो एकादशीमा यहाँ भक्तजनको घुइँचो लाग्छ। नौ कुने पोखरीका हरेक कुनामा माईभगवतीको पूजा हुन्छ। पूर्वको प्रशिद्ध यो सिमसार क्षेत्र वि।सं। २०६५ कात्तिक १२ मा रामसार क्षेत्रमा सूचीकृत भयो। रामसार क्षेत्रमा सूचीकृत भएपछि यस आसपासको ९० हेक्टरको सडक अन्यन्त्र सार्नुपर्ने भएको छ। सडकमा कुद्ने सवारीले यस क्षेत्रको वातावरण बिग्रने भन्दै सडक सार्नुपर्ने छ। यसैले गर्दा तत्काल इलाम–माईपोखरी सडकको भित्तेको माथिल्लो क्षेत्रबाट देउराली बजारसम्मको सडक सार्नुपर्ने भएको छ। 

सडक सार्न सकश देखिएको छ। जग्गाको किचलोका कारण सडक सार्न लामो समय लाग्ने देखिन्छ। स्थानीयवासीको असन्तुष्टिका कारण सडकको डिपिआर बन्न सकेको छैन। यसैले पनि माईपोखरीमा पक्की सडक पुग्न लामो समय लाग्ने देखिन्छ। यता सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले भने केही समयमै सडक निर्माण गरेर पक्की गरिने बताउँछन्।

जङ्गल क्षेत्रसहित यो क्षेत्र ९० हेक्टरमा फैलेको छ। त्यसमध्ये दुई हेक्टर सिमसार क्षेत्र छ। बाँकी ठाउँमा घना जङ्गल छ। माईपोखरी हुँदै पछिल्लो समय ट्रेकिङ रोडसमेत जाने भएको छ। बिब्ल्याँटे–माईपोखरी–छिन्टापु–सन्दकपुर–ढापपोखरी क्षेत्रलाई आधार बनाएर यहाँ ‘टे«किङ रोड’ निर्माण हुनेछ। 

जैविक महत्वको माईपोखरी

माईपोखरी जैविक हिसाबले पनि महत्वपूर्ण मानिन्छ। यहाँ लौठ सल्ला, सुनाखरी, गलैँचे झ्याउ जस्ता बहुमूल्य औषधिय गुण भएका वनस्पति पाइन्छन्। सलक्क बढेका रुख हेर्दा कलमी गरेर मिलाए जस्तो देखिन्छ।

वनस्पतिको सुगन्ध, वनको शीतल र चराचुरुङ्गीको चिरबिर सुन्दै जङ्गल सफारी गर्दा बेग्लै आनन्द हुन्छ। स्थानीय युवराज पीसीका अनुसार यस क्षेत्रमा २०० प्रजातिका फूल फुल्ने बिरुवा छन्। तीन प्रजातिका चाँप, चार थरी गुराँस र ६२ थरीका जडीबुटी पत्ता लागेको छ। 

रूखका हाँगामाथि फस्टाउने विभिन्न थरीका सुनाखरीले धार्मिक वनलाई आकर्षक बनाएका छन्। यहाँ धार्मिक वन समूहको तथ्याङ्क अनुसार तीन प्रजातिका माछा, छ प्रजातिका उभयचर, १२ प्रजातिका सरिसृप र १४ प्रजातिका स्तनधारी पाइन्छन्। ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यागट्याग पाहा, रुख भ्यागुतो जस्ता उभयचर प्रशस्तै पाइन्छन्। हरियो छेपारो, चंखे सर्प र विश्वमै लोपोन्मुख ओत जस्ता सरिसृपको बासस्थान पनि हो यो क्षेत्र। 

यस ठाउँमा ३०० प्रजातिका पंक्षीको अभिलेख गरिएको छ। त्यसमध्ये २०० प्रजातिका पंक्षीले यहीँ चल्ला कोरल्छन्। बाँकी बाहिरबाट बेलाबेलामा आउने गर्छन्। पीतमुहार, चिचिल्कोटे र सानो सिविया चरा यो सिमसार क्षेत्रमा मात्र अभिलेख धार्मिक वन समूहको अध्ययनले देखाउँछ। काकाकुल, कालोभुँडीफोर, भुँडीफोर, हिमाली गिद्धलगायतका चरा गर्मी याममा यहाँ आउने गर्छन्। साइबेरियादेखि श्रीलङ्कासम्म बसाईँ सर्ने चराहरूसमेत यही क्षेत्र हुँदै आउजाउ गर्ने गरेको पाइएको छ।

माईपोखरीका सम्भावना

धार्मिकस्थलका रूपमा परिचित यो माईपोखरी क्षेत्रको संस्थागत विकासको प्रयास २०५० सालबाट भएको हो। त्यही वर्ष माईपोखरी संरक्षण समिति गठन भयो भने २०५६ सालदेखि वनस्पति उद्यान बनाउन शुरू भयो।

वि।सं। २०५९ मा उत्तरी क्षेत्रको विकास र पर्यटन विकासको योजना बनाइएको थियो। यहाँ रक गार्डेन, चिमाल प्रजनन् अनुसन्धान, जडीबुटी प्रदर्शनी प्लट, लौठसल्ला प्लट, अर्किड उद्यान, जडीबुटीका बिरुवा उत्पादन, डोमेस्टिकेसन तथा जर्मप्लाजम, शोभनीय बगंैँचा जस्ता संरचना बनेका छन्। केही वर्षअघि माईपोखरी सुकेको बताइए पनि त्यसयता बढेर झनै मनमोहक भएको छ। कोरोना महामारीपछि भने माईपोखरीमा पानीको सतह अझै बढेको माईपोखरी मन्दिरका पुजारी तुलाराम पौडेलको भनाइ छ।

पछिल्लो समय माईपोखरी नजिकै अर्को रहेको मानवनिर्मित जोर पोखरीमा सौन्दर्यकरण गर्ने काम भइरहेको छ। सय पर्यटकीय क्षेत्रमा राखेपछि सङ्घीय सरकारमार्फत् रु एक करोड रकम गएको वर्ष निकासा भएको थियो। सोही रकमले ढुङ्गा निर्मित बाटो निर्माण गर्ने, प्यास्टिक लगाएर पानी  भर्ने काम गरिएको छ।

माईपोखरीलाई मात्र नभई अन्य पर्यटकीय क्षेत्रलाई समेत समेटेर काम गर्न लागेको पर्यटन व्यावसायीले बताएका छन्। माईपोखरीसँगै छिन्टापु र सन्दकपुरको एकीकृत विकासमा काम गर्दा पर्यटक बढ्ने अनुमान रहेको पर्यटनकर्मी देवी पौड्यालले बताउनुभयो। सबै क्षेत्रलाई विकास गर्न ‘प्याकेज’कार्यक्रम ल्याउँदा एक ठाउँमा पुगेका पर्यटक अन्यन्त्र पुग्ने अनुमान रहेको पौड्यालको भनाइ छ। माईपोखरीसँगै रहेको माईपातालमा समेत गाउँपालिकाकै लगानीमा ‘रेडपाण्डा बिल्डिङ क्षेत्र’ बनाइएको छ।

सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा यो काम थालिएको हो। क्षेत्र निर्माणका लागि गाउँपालिकाले रु ७८ लाखमा ठेक्का पनि दिइसकेको छ। 

कोरोनाको मारमा माईपोखरी

अन्य क्षेत्रजस्तै कोरोना भाइरसको महामारीबाट माईपाखरी पनि प्रभावित बन्यो। दैनिक २० देखि ३० जनाको हाराहारीमा पर्यटक पुग्ने यस क्षेत्रमा कोरोनापछि नगण्य मात्रामा मात्र पर्यटक पुग्न थालेका छन्। त्यसमा पनि लामो समय त यहाँका व्यावसायीले व्यापार बन्द गर्नुपर्यो। विस्तारै जुर्मराउँदै आएपनि अपेक्षाकृत पर्यटक नआउँदा घाटा व्यहोर्नु परेको व्यावसायी  निमादोर्जे शेर्पा बताउँछन्।

मुख्य याममा पनि पर्यटक नआउँदा आर्थिक कारोवार ठप्प भएको यहाँका व्यावसायी शेर्पाको दुःखेसो छ। उनले भने, ‘हामीले खोलेर मात्रै पनि भएन। पर्यटक आउनुपर्यो।’ आन्तरिक र बाह्य पर्यटकको चापाचाप हुने यो क्षेत्रमा यस पटक भने व्यावसायी नमज्जाले घाटा व्यहोर्नु परेको छ। यस्तै सरकारी क्षेत्रको आँखा नपुग्दा पनि माईपोखरी पछि परेको शेर्पाको बुझाई छ।

यता गाउँपालिकाले भने यस क्षेत्रका पुराना रुख हटाएर नयाँ किसिमका वनस्पति रोप्न शुरु गरेको बताएको छ। यहाँका सल्ला र कटुसले पानीको सतह घटाउँदै लगेको भन्दै गाउँपालिकाले यस ठाउँमा सदावहार हरियाली राख्ने वनस्पति रोप्ने तयारीमा लागेको गाउँपालिकाका प्रवक्ता खनालले बताए।

अभावमा माईपोखरी

सडकपछि खाने बस्ने ठाउँको अभाव छ माईपोखरीमा। सामान्य होटल छेउछाउ भए पनि राम्रो खान बस्नका लागि आधा घण्टा हिँडेर देउराली बजार पुग्नुपर्छ। एकै दिनमा फर्किने पर्यटकलाई माईपोखरी उपयुक्त भए पनि लामो समय बस्नेका लागि समस्या देखिन्छ।

होटल व्यावसायी शेर्पाले भने केही समयमा नै यी समस्या पनि हल हुने बताए। अझै पनि माईपोखरीलाई धार्मिक रूपमा मात्र हेरिने कारणले अन्य क्षेत्र गुमनाम भएका छन्। जैविक पक्षमा कसैको ध्यान गएको छैन। विश्वमै लोपोन्मुख वन्यजन्तु पाइने भएपनि यतातर्फ कसैको ध्यान गएको छैन। गाउँपालिकाका प्रवक्ता खनालले यसका लागि पछिल्लो समय पर्यटन वोर्डसँगको समन्वयमा काम भइरहेको बताए। रासस



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment