Ultimate magazine theme for WordPress.

झापामा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सक्रियता बढायो

Muna
झापा । सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । पूर्वपश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूको नियमन गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना मूलक कार्यक्रमअघि सारेको छ । केही दिन यता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधारण मानिस अङ्गभङ्ग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
सडकमा दुर्घटना न्यूनीकरण गर्न वैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । उनले भने, ‘अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने वैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो ।’
जिल्ला भित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरूलाई सचेतना, साईकल तथा ट्याक्टरमा परैबाट देखिने गरिएको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोषीलाई कारबाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक  प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी निरीक्षक जवेगुले बताए ।
बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई यातायातका साधनका चालक बिच बत्तीको समन्वयकारी भूमिका नहुँदा अत्यधिक दुर्घटना बढेको कार्यालयका ट्राफिक प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले बताए । पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने राता बसको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याई छ ।
तर, तीन पाङग्रे, मोटर साईकल र मालवाहक ट्रकका चालकका अनुसार राजमार्गमा अरूको जिन्दगीको सरोकार नराखी तीव्र गतिमा चल्ने राता बसको कारण दुर्घटना बढेको हो । ‘दश रुपैयाँका लागि यात्रु बोक्न राता बसले घ्याच्च ब्रेक गर्दा पछाडि आउने यातायातका साधन दुर्घटनाको सिकार बन्नु परेको हो,’ अटो रिक्सा चालक शिवलाल सिवाकोटीले भने, राता बसका चालकले अरूको जिन्दगीलाई रत्तीभर गन्दैनन् । मनिष दर्जी मे १ ख ३०६४ नम्बरको यात्रुवाहक बसका चालक हुन् । उनले टाटाको मार्क पोलो बसका चालकले लावार्बाही ढङ्गले सवारी चलाउने गरेको आरोप लगाए । आफू अशोक लिलेण्ड गाडीको चालक भएको बताउँदै उनले भने ‘मेरो गाडी त कुद्नै कुद्दैन मार्क पोलोको त राजमार्गमा जताततै दादागिरी नै छ ।’
मे १ ख ७४८१ का चालक टङ्क प्रसाद सुवेदीले बस स्टेण्ड बाहिरबाट यात्रु नउठाए रोजीरोटी नै नचल्ने बताए । उनले रहरले होइन कहरले अगाडी पछाडिको दुरी हेरेर राजमार्गका गैर बस स्टेटबाट यात्रु उठाउने गरेको स्वीकार गरे । टाई कार्ड अनिवार्य लागु गरे चालकलाई कुनै हतारो नहुने उनको भनाई छ । ‘साहु खुसी भए घरका बालबच्चा पनि खुसी हुन्छन्,’ उनले भने, ‘साहुलाई खुसी बनाउन गाडीको गति बढाएर यात्रु नउठाएर अर्को गाडिले उठाइदिन्छ । त्यसो नगरे भरे के खाने भन्ने पिर हुन्छ ।’
ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट पर्मिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडा दर भन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागु पदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिँदै आएको छ ।
झापामा पुसमा मात्र ९७ वटा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर १७ जनाको मृत्यु भयो । यो अन्य महिनाको भन्दा धेरै हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर ४५ जना गम्भीर प्रकृतिको अङ्गभङ्ग भए भने ७८ जना घाइते भए ।
एक महिनामा यतिको सङ्ख्यामा सवारी दुर्घटना हुँदा प्रहरीले एउटै कारण ठानेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाएको । ९७ वटा दुर्घटना झापामा हुँदा शिवसताक्षी नगरमा मात्रै १० वटा दुर्घटना भए । १० वटा दुर्घटना हुँदा ५ जनाको त ज्यान गयो । स्थानीय भन्छन्, ट्राफिक प्रहरीले सवारी दुर्घटना सम्बन्धी चेतना मूलक काम गरिरहँदा पनि दुर्घटनाको सङ्ख्या भने घटेको छैन ।
एक महिनाको अवधिमा ट्राफिक प्रहरीले ५ हजार ८५ जना सवारीका चालकलाई कार्वाहि गर्‍यो । नियम सङ्गत सवारी नचलाएको कारण उनीहरू प्रहरीको कार्वाहिमा परेका हुन् । यो अवधिमा झापा ट्राफिकले ३६लाख रुपैयाँ त राजश्व सङ्कलन गर्‍यो । सङ्कलित राजश्व मध्ये ट्राफिक प्रहरी पोस्ट झिलझिलेले मात्र ५ लाख ९७ हजार सङ्कलन गरेको हो । प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठको नेतृत्वको टिमले जिल्लामै सबैभन्दा धेरै राजश्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उक्त पोस्टले मात्र ९ सय ५० सवारीका चालकलाई कारबाही गरेको छ । चालकलाई कार्वाहि गरेपछि राजश्व सङ्कलन पनि बढेको हो । साउन यता झापा ट्राफिकले मात्र लकडाउनका बेला पनि १ करोड राजश्व सङ्कलन गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी पोस्ट झिलझिलेले संयुक्त रुपमा मङ्गलवार स्टिकर नभएका यातायातका साधनलाई रिफ्लेक्सन स्टिकर टाँसिदियो । झापामा पहिलो पटक झिलझिले ट्राफिक प्रहरी पोस्टले यो अभियान सुरु गरेको हो ।

Comments are closed, but trackbacks and pingbacks are open.